२२ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

वीरले किनेको टोमोथेरापी प्रयोगबिनै अमेरिका फिर्ता हुँदै

चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा चार वर्षअघि ल्याइएको टोमोथेरापी मेसिन सञ्चालनबिनै अमेरिका फिर्ता पठाइने भएको छ। अमेरिकाबाट खरिद गरी ल्याउने कम्पनीले नै टोमोथेरापी फिर्ता लैजान लागेको युनिफाइड कोभिड अस्पतालका रुपमा रहेको वीरका निमित्त प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले बताए।

क्यान्सरका बिरामीका लागि रेडियोथेरापी दिने उद्देश्यले चार वर्षअघि लाइफलाइन इन्टरनेसनल नामक बिक्रेता कम्पनीले यो उपकरण ल्याएको थियो। यो उपकरणका लागि नेपाल सरकारले ४० करोड रुपैयाँ भुक्तानी गरेको थियो। अस्पतालका तत्कालीन निर्देशक डा. भूपेन्द्र बस्नेत, प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री गगन थापाको कार्यकालमा यो उपकरण खरिद गरिएको थियो।

क्यान्सरका बिरामीलाई रेडियोथेरापी दिन यो उपकरण अत्याधुनिक मानिन्छ। यो उपकरण नेपाल आएपछि सञ्चारमाध्यमले क्यान्सरका बिरामीलाई देशबाहिर जानुपर्ने बाध्यता टरेको समाचार सम्प्रेषण गरेका थिए। उपकरण भित्रिएलगत्तै अस्पतालले पुरानो रेडियोथेरापी उपकरण हटाएर बंकर निर्माण प्रक्रिया अघि बढाएको थियो। वीर अस्पतालमा उपकरण राख्ने ठाउँ अभाव भएपछि सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरी अस्पताल बलम्बुमा राखिएको थियो। सोमबारसम्म यो उपकरण अस्पताल हातामै रहेको सशस्त्र प्रहरी बल अस्पताल बलम्बुले जनाएको छ।

क्यान्सर विशेषज्ञहरूले टोमोथेरापीले सिटिस्क्यान गर्दै थेरापी गर्न मिल्ने र रेडियोलोजीबाट निस्कने विकिरणले क्यान्सर फैलिएका मात्र कोष मार्ने तर अरू कोषिकालाई असर नपार्ने भएकाले यो उपकरण उपचारमा आधुनिक र लाभप्रद रहेको जनाएका थिए। यो उपकरण किनेर ल्याएको तीन वर्षपछि जडान गर्न सम्बन्धित कम्पनीबाट इन्जिनियरको टोली नेपाल आएको थियो। उक्त टोली उपकरणमा पानी पसेको भन्दै जडान नगरी फिर्ता गएको थियो। सोही टोलीले उपकरणमा पानी पसेकाले सट्टामा अर्को उपकरण दिने बताएको अस्पतालका प्रशासकीय अधिकारी डा. बस्नेतले बताए।

‘कमजोरी हाम्रातर्फबाट छैन, पहिलाकै मूल्यमा अर्को दिन्छौं भनेका छन्,’ डा. बस्नेतले भने। फिर्ता पठाएलगत्तै जुलाईभित्र सोही डिजाइनको उपकरण ल्याइदिने बिक्रेताले जनाएको उनले जानकारी दिए।

‘बंकर तयार छ, उपकरण ल्याउनेबित्तिकै सेवा सुरु गर्छौ,’ उनले भने। उपकरणमा पानी पसेको र जडान गर्न नसक्नुमा कम्पनीकै कमजोरी रहेको बस्नेतले जनाएका छन्। ‘यो उपकरण बिक्रेता कम्पनीले अस्पतालसम्म नल्याइकन बाहिरै राखेको थियो,’ उनले भने। कम्पनीको टेक्निकल टोली उपकरण जडान गर्न तीन वर्षपछि २०७७ सालमा नेपाल आएको थियो। यता अस्पतालले भने उपकरण आएपछि एक वर्षभित्रै जडान भई सेवा सुरु हुने जनाएको थियो।

बंकर निर्माणलगत्तै विश्वभर कोरोना महामारी फैलिएकाले जडान हुन नसकेको प्रमुख बस्नेतको जबाफ छ। अस्पतालका पूर्वनिर्देशक डा. केदार सेन्चुरीका अनुसार एक वर्षअघि कम्पनीको टोली यो उपकरण जडानका लागि आउँदा उपकरणमा पानी पसेको भन्दै फिर्ता गएको थियो। वीर अस्पताल अन्कोलोजी विभागका प्रमुख डा. विवेक आचार्यका अनुसार दुई वर्षअघि नै बंकर तयारी अवस्थामा रहे पनि कोभिड–१९ का कारण नयाँ टेमाथेरापी मेसिन जडानमा ढिलाइ भएको हो।

टोलीले मेसिनभित्र बिग्रेका पाटपुर्जा मात्र फिर्ता लगेको हुनुपर्ने डा. आचार्यले बताए। कम्पनीको टोली आएर गएको एक वर्ष भइसके पनि अहिलेसम्म नयाँ ल्याएर जडान हुन सकेको छैन। डा.आचार्य र प्रशासकीय प्रमुख डा.बस्नेतका अनुसार नेपालस्थित खरिद कम्पनीले आगामी साउनमा मेसिन जडान हुने जनाएको छ। मेसिन सञ्चालनमा आउन नसकेपछि वीरबाट सुलभ मूल्यमा हुनसक्ने सेवाका लागि बिरामी निजी अस्पताल र देशबाहिर जान बाध्य भएको अस्पतालका कर्मचारी बताउँछन्।

प्रकाशित: १८ जेष्ठ २०७९ ००:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App