१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

गेटा मेडिकल कलेज: संरचना बनिसक्दा पनि प्राथमिकतामा नपरेपछि आक्रोश

सुदूरपश्चिमका जनताले दुई दशकदेखि मेडिकल कलेज बन्नुपर्ने अवाज उठाउँदै आए। कैलालीको गेटामा मेडिकल सञ्चालनका लागी भव्य संरचना निर्माण भइसकेका छन्। 

एक वर्षअघिदेखि गेटाको मेडिकल कलेजलाई कुन प्रारूपमा सञ्चालन गर्ने भनेर नीति बनाउन माग गरिरहेका यस प्रदेशका वासिन्दा सरकारले निती तथा कार्यक्रममा गेटा मेडिकलको वारेमा उल्लेख नै नभएपछि निराश र ओक्रोशित भएका छन। मेडिकल माफियाको प्रभावमा भौतिक पूर्वाधार बनिसकेको गेटा मेडिकल सञ्चालन गर्न सरकारले आनाकानी गरेको भन्दै स्वःस्फूर्त रूपमा विरोध स्वरूप सर्वसाधारण सडकमा उत्रेका छन्। कैलालीको अत्तरियामा प्रदर्शन र चक्काजाम गरिएको छ। भने बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि विभिन्न ठाउँमा धर्ना, हस्ताक्षर संकलन र विरोधका कार्यक्रम गरिएका छन्। मेडिकल सञ्चालन गर्न दवाव समुह पनि गठन गरिएको छ।

‘सुदूरपश्चिमका वासिन्दाको वर्षौदेखिको मागअनुसार संरचना बनिसकेको गेटा मेडिकल कलेज सरकारको नीति तथा कार्यक्रममा नसमेटिनु गम्भीर कुरो हो,’ नगारिक समाजका अगुवा प्रमोद पाठकले भने, ‘मेडिकल माफियाको प्रभावमा परेर सरकारले गेटा मेडिकल सञ्चालनमा चासो नदिएको बुझिएको छ।’ ५ वर्षअघि प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला मेडिकल माफियाको चाहाना अनुसार गेटा मेडिकल कलेज निर्माणको काम अघि नबढाएपछि देउवालाई भेटेर अनसन बस्ने चेतावनी दिएपछि निर्माण काम पुनः सुरु भएको डा. गोविन्द केसीले बताएको उल्लेख गर्दै पाठकले भने, ‘अहिले पनि भौतिक संरचना बनिसकेको मेडिकल सञ्चालनबारेमा यसै प्रदेशका प्रधानमन्त्रीको नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नसमेटिनु बिडम्वना हो।’

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहनेगरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने योजना भने नीति तथा कार्यक्रममा समेटिएको छ। मेडिकल कलेज सञ्चालनबारे सरकारको नीतिीतथा कार्यक्रममा मौन देखिनुले यस प्रदेशका वासिन्दा निरास र आक्रोशित बनेको युवा नेता चुडामणि भट्ट बताउँछन्। ‘विभिन्न बहानामा प्रस्तावित मेडिकल कलेज सञ्चालन हुन नदिने चलखेल भइरहेको छ,’ उनले भने, ‘माफियाको स्वार्थमा सुदूरपश्चिमको मेडिकल सञ्चालन हुन नदिने कार्य दुःखद् हो।’ सुदूरपश्चिमका वासिन्दाले बिरामी हँुदा महँगो अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता छ भने कैयांैले उपचार नपाएर अहिले पनि अकालमा ज्यान गुमाउनु परेको छ।

विसं २०६६ सालमा गेटामा मेडिकल कलेज स्थापानको घोषणा गर्दै बजेट बिनियोजन गरिएको थियो। रुख कटान आदेश नदिदाँ त्यतिबेला पनि यहाँका वासिन्दाले बन्चरो बोकेर आफंै रुख काटरे विरोध प्रदर्शन गरेका थिए। अहिलेसम्म कुन प्रारूपमा मेडिकल कलेज सञ्चालन भन्ने नै टुंगो लगाउन सकिएको छैन। ५१.८ हेक्टर क्षेत्रफलमा मेडिकल कलेज र अस्पताल सञ्चालन गर्न सकिने संरचना बनिसकेका छन्। करिब साढे ४ अर्ब रूपैयाँको लागतमा संरचना निर्माण भएका छन्।

गेटा मेडिकल कलेज संचालन कुन प्रारूपमा गर्ने भनेर सरकारले ऐन नबनाउदाँ उपकरण, जनशक्ति र मेडिकल कलेजभित्र आवश्यक अन्य सेटअपको काम गर्न नसकिएको मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए। ‘ऐन छिटो ल्याउन सरकारसँग पटकपटक आग्रह गर्दै आइरहेका छौं,’ उनले भने। मेडिकल विश्वविद्यालय, मेडिकल प्रतिष्ठान वा कलेज के बनाउने भन्नेसमेत टुंगो लागेको छैन।

अस्पताल, कलेज, छात्रवास, आवासलगायत भवनहरू तयार भइसकेका छन्। अस्पताल, कलेज सञ्चालनका लागि आवश्यक भवनलगायत २९ वटा आधुनिक भवन निर्माण भइसकेको उनले बताए। अन्य ५ वटा भवन निर्माणको भइरहेका छन्। खानेपानी, विद्युत् र फोहरमैला व्यवस्थापनको काम मात्र हुन बाँकी छ। ऐन आएर जनशक्ति र उपकरणलगायतको व्यवस्थापनको काम गर्नेबेलासम्म खानेपानी, विद्युत् र फोहोरमैला व्यवस्थापन सबै काम सकिने उनले बताए। सबै काम पूरा हँुदा पनि ऐन नआउँदा उपकरण जडान, जनशक्ति व्यवस्थापन, अन्य तयारी गर्न नसकिएको उनी बताउँछन्।  मेडिकल कलेजको गुरुयोजनामा आर्थिक वर्ष २०७६/०७७ मा मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य लिइएको थियो। तर पूर्वाधार निर्माणमा ढिलाइ भएपछि सञ्चालनको लक्ष्य २०७८ मा सारिएको थियो।  

२०७१ मा प्रशासनिक भवनको शिलान्यास भएको थियो तर साइड विवादका कारण उक्त काम पनि अगाडि बढ्न सकेको थिए। रुख कटानको आदेश पाएसँगै २०७३ वैशाखदेखि नयाँ संरचना निर्माणको काम सुरु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका राज्यमन्त्रीस्तरीय निर्णय बाट मेडिकल कलेज पुर्वाधार विकास समितिका तत्कालीन अध्यक्ष डा. चेतराज पन्तको संयोजकत्वमा गठित विज्ञहरू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव र योजना आयोगको सहसचिव गरी १३ सदस्यीय उच्चस्तरीय अध्ययन समितिले गत असोजमा अध्ययन गरेर बुझाएको सुझाव प्रतिवेदनमा पनि गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न सकिने उल्लेख गरिएको थियो।

निर्माणाधीन भवनमा मेडिकल विश्वविद्यालयको प्रारूपमा सञ्चालन गर्न पहिलो प्राथमिकतामा राखेर प्रतिवेदनमा सुझाव दिएको पन्तले बताएका थिए। यहाँका वासिन्दाको माग रहेको र पिछडिएको यस प्रदेशमा मेडिकल विश्वविद्यालय आवश्यक रहेकाले सुझाव दिएको उनको भनाइ थियो। गेटा मेडिकल बिश्वबिद्यालय संचालन भएमा नेपाल देशभरि तथा विदेशवाट समेत पढ्न विद्यार्थी आउने छन्। मेडिकल विश्वविद्यालय सञ्चालन भएमा आफैं निर्णय गरेर अन्य स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिनेछ। अन्य प्रदेशमा प्रतिष्ठान भए पनि सुदूरपश्चिममा एक पनि छैन। याहाँ आफैंले निर्णय गरेर अन्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न पनि मेडिकल विश्वविद्यालय आवश्यक रहेको विज्ञहरूको राय छ।

प्रकाशित: १३ जेष्ठ २०७९ ००:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App