८० वर्षको उमेरमा पनि आमाको ममता कति अटुट हुन्छ भन्ने कुरा म्याग्दीकी गुमा भण्डारीले संसारलाई देखाइन्।
उनकी ५५ वर्षीया छोरी सीता पाण्डे गम्भीर स्वास्थ्य समस्याबाट जुधिरहेकी थिइन्। चिकित्सकहरूको निष्कर्ष थियो- 'अब जीवन सुरक्षित गर्न दाताबाट मिर्गौला प्रत्यारोपण आवश्यक छ।'
यस्तो अवस्थामा धेरै परिवारहरू विचलित हुन्थे होला तर गुमा आमाले कुनै हिच्किचाहट देखाइनन्। आफ्नै जीवनको जोखिम उठाउँदै छोरीलाई जीवन दान गर्ने उनको दृढ निश्चय अडिग रह्यो। अन्ततः किष्ट अस्पतालमा सम्पन्न सफल प्रत्यारोपणमार्फत उनले छोरीलाई दोस्रो जीवन दिइन्।
यो वृद्धावस्थामा जहाँ धेरैले आराम र विश्राम खोज्छन्, त्यही उमेरमा उनले मातृत्व, साहस र बलिदानको अद्वितीय उदाहरण प्रस्तुत गर्दै सम्पूर्ण समाजलाई प्रेरणा दिइन्।
सर्जरीको दिन किस्ट अस्पतालमा चिकित्सकदेखि नर्स, सम्पूर्ण स्वास्थ्यकर्मी र परिवारजन सबै भावनाले भरिएका थिए। सबैको आँखामा श्रद्धा, विस्मय र आशीर्वाद मिसिएको थियो। ८० वर्षे आमाले छोरीलाई जीवन दान गर्न लागेको क्षण सम्पूर्ण अस्पतालका लागि मात्र होइन, नेपाली समाजका लागि पनि इतिहास बन्यो।
जब प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भयो, सीता पाण्डेको पहिलो मुस्कानले अस्पताल उज्यालो बनायो। यो केवल चिकित्सा सफलताको कथा होइन। यो अटुट ममता, अमूल्य बलिदान, अडिग साहस र साँचो प्रेमको कथा हो। गुमा आमाले प्रमाणित गरिदिइन्- उमेर केवल संख्या हो, पीडा वा डरले आमाको प्रेमलाई कहिल्यै रोक्न सक्दैन।
गुमा भण्डारीको यो योगदान केवल एक छोरीलाई जीवन दान गर्ने कार्य नभइ सम्पूर्ण मानवतालाई प्रेम, साहस र प्रेरणाको उज्यालो दिने कार्य रहेको अस्पतालको भनाइ छ।
प्रकाशित: ९ आश्विन २०८२ १०:०९ बिहीबार





