७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

सेवा सुविधा विस्तारसहित इटहरी सामुदायिक अस्पताल सञ्चालनमा

दुई दशक अघिदेखि सञ्चालनमा आएको इटहरी सामुदायिक अस्पतालले लगानी थप गरी सेवा सुविधा विस्तार गरेको छ। २२ वर्षदेखि सञ्चालमा आएको सामुदायिक अस्पतालले लगानी थपेर १५ बेडमा सञ्चालन हुने गरी सेवा सुविधा विस्तार गरेको हो।

सामुदायिक अस्पतालले पत्रकार सम्मेलन गरी चार करोड लगानी गरेर सेवा सुविधा विस्तार गरिएको जानकारी दिइयो। अस्पतालका अध्यक्ष टंक दुलालले अब २४ सै घण्टा विशेषज्ञ चिकित्सकद्वारा सेवा प्रदान गरिने बताए। विधागत विशेषज्ञ चिकित्सकबाहेक तीन जना मेडिकल अफिसर २४ सै घण्टा आलोपालो सिस्टम अनुसार बिरामीको उपचारमा खटिने छन्।

अस्पतालले विराटनगर र धरानको निजी अस्पतालभन्दा सहज शुल्कमा बिरामीलाई सेवा प्रदान गर्ने अस्पतालका इन्चार्ज डिल्ली रिजालले बताए। उनका अनुसार सामुदायिक अस्पतालले अब चाँडै नै सिटी स्याक्नको पनि व्यवस्था गर्नेछ।

बिरामी र सेवाग्राहीको आवश्यकता अनुसार लगानी थपेर सुविधा विस्तार गरिने उनले जानकारी दिए। इटहरीमा एकपछि अर्को अस्पताल खुलेपनि प्रभावकारी सेवा दिन नसकेको अवस्थामा अब सामुदायिक भने लगानी थप गरी सञ्चालनमा आएको हो।

इटहरीमा निर्वाचनताका यहाँँका राजनीतिक दलले स्वास्थ्य सुविधा विस्तार गर्ने सवालमा महत्वाकांक्षी आश्वासन दिएपनि अहिलेसम्म पूरा हुन सकेको छैन। २०७४ सालको निर्वाचनमा एमालेका तर्फबाट विजयी मेयर र उपमेयरका उम्मेदवारले इटहरीमा रहेको स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी शिक्षण अस्पतालको स्तर धान्ने गरी ३०० शैयाको ट्रमा सेन्टरसहितको आधुनिक अस्पताल निर्माण गर्ने र गरिब उपचार कोष स्थापना गर्ने घोषणापत्रमै उल्लेख गरेका थिए। तर, सो अनुसारको काम हुन सकेको छैन।

इटहरीमा विशेषज्ञ सेवा लिनेबाहेक अन्य बिरामी मात्र इटहरी अस्पताल आउने गर्छन्। विशेषज्ञ चिकित्सक तथा विशेष उपकरणहरूको अभाव हुँदा यहाँका बिरामी धरान र विराटनगर जाने गरेका छन्। सघन बसोबासका लागि देशैभरि रुचाइएको इटहरीमा जनघनत्व दिन प्रतिदिन बढ्दै छ।

२०२२ सालमा स्वास्थ्य चौकीका रुपमा स्थापना भई ५४ सालदेखि प्राथमिक स्वास्थ्य केन्द्र र २०७५ साउन १ गतेदेखि इटहरी अस्पतालमा रुपान्तरण गरिएसँगै सेवा सुविधामा सुधार हुन सकेको छैन। इटहरी अस्पतालमा एक जना मात्र विशेषज्ञ चिकित्सक छन्।

इटहरीवासीले यहाँ भेन्टिलेटर, आइसियु, एनआइसियुजस्ता सेवा दिने स्तरीय अस्पतालको अपेक्षा गरेका छन्। इटहरी अस्पतालबाट विशेषज्ञ सेवा र गुणस्तरीय सेवाको  आशामा छन्, इटहरीवासी।

प्रकाशित: ४ वैशाख २०७९ १०:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App