२ पुस २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

उदयपुरका १ लाख १४ हजार बढीलाई टाइफाइडविरुद्ध खोप

टाइफाइड खोप दिएर अभियानको सुरुवात गर्दै जनस्वास्थ्य प्रमुख दास। तस्बिरः महेश्वर

उदयपुरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप जिल्लाव्यापी रुपमा दिन सुरु गरिएको छ। स्वास्थ्य कार्यालय उदयपुरले शुक्रबारदेखि औपचारिक रुपमा टाइफाइडविरुद्ध खोप अभियान सुरु गरेको हो।  

आगामी वैशाख १० गतेसम्म सञ्चालन हुने अभियानमा १ लाख १४ हजार ५ सय ६४ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालय प्रमुख बृजकुमार दासले ‘एकपटक टुक्क, सधैँलाई ढुक्क’ भन्ने नारा तय गरेर जिल्लाव्यापी अभियान चलाइएको जानकारी दिए।  

शुक्रबार त्रियुगा नगरपालिका ३ मोतिगडास्थित जनता माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमबीच जिल्ला खोप समन्वय समिति अध्यक्षसमेत रहेका जिल्ला  समन्वय समिति प्रमुख खड्ग परियारले खोप अभियानको उद्घाटन गर्दा स्वास्थ्य कार्यालय प्रमुख दासले ६ वर्षीया छात्रालाई खोप दिएर औपचारिक सुरुवात गरिएको हो।  

दिनदिनै टाइफाइडका बिरामीको संख्या बढ्न थालेको भन्दै सरकारले खोप अभियान चलाएको उनले बताए। दासका अनुसार शुक्रबारदेखि देशभरी एकैसाथ सुरु भएको खोप अभियानले टाइफाइड रोगको अन्त्य गर्न नसके पनि न्यूनीकरण हुने अपेक्षा गरिएको बताए। एकपटक खोप लगाएपछि जीवनभर ढुक्क हुने भएकाले अहिले खोप पाउने बालबालिकालाई टाइफाइडले नसताउने अपेक्षा गरिएको उनको भनाइ छ।  

स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरन्जिवी निरौलाका अनुसार उदयपुरमा खोप अभियान २ चरणमा सञ्चालन गरिने छ। त्यसका लागि ८ सय २७ जना स्वास्थ्यकर्मी परिचालन गरिएका छन् भने उनीहरुलाई सहयोग गर्न २ हजार ३ सय ४ जना स्वयंसेविका खटाइने निरौलाले बताए। खोप दिन जिल्लाका ८ वटै स्थानीयतहमा गरी ४ सय ४९ खोप केन्द्र तय गएिको छ।  

१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दिइने खोप अभियान अन्तर्गत सबैभन्दा बढी विद्यालयमा अध्यनरत बालबालिकालाई लक्षित समूह बनाइएको छ। त्यसका लागि अधिकांश खोप केन्द्र पनि विद्यालयमै राखिएको दासले बताए। उनका अनुसार लक्षित समूहका बालबालिकामध्ये ८७ हजार २ सय १८ जना विद्यालयका छन् भने २७ हजार ३ सय ४६ जना विद्यालय बाहिरका छन्।  

दासका अनुसार सबैभन्दा बढी खोप पाउने सेवाग्राहीमा नगरपालिकातर्फ त्रियुगाका छन्। त्रियुगाका मात्र ३४ हजार १ सय ६० जनाले खोप पाउने छन्। त्यस्तै गाउँपालिकातर्फ उदयपुरगढी गाउँपालिकामा सबैभन्दा बढी ११ हजार ५ सय २३ जनाले खोप लगाने तय भएको छ। अभियानपछि पनि सबै स्वास्थ्य संस्थाबाट नियमित रुपमा टाइफाइडविरुद्धको खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालयको भनाइ छ।  

यस वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका ७५ लाख बालबालिकालाई यो खोप लगाउने योजना बनाएको छ। नेपालमा पहिलोपटक टाइफाइडविरुद्धको खोप दिने व्यवस्था गरिएको हो। स्वास्थ्य कार्यालयका अनुसार यसअघि बालबालिकालाई बिभिन्न रोगविरुद्ध लड्न १२ प्रकारका खोप लगाउने गरिएको थियो। अब त्यो संख्या बढेर १५ प्रकारमा पुगेको छ।

स्वास्थ्य कार्यालयका अनुसार विगत ५ वर्षको अवधिमा नेपालमा ४ लाख ५० हजार बढीमा टाइफाइडको संक्रमण भएको तथ्याङ्क छ। देशभर १ लाख बालबालिकामा गरिएको सर्वेक्षणमा १० हजार ९ सय ६० बालबालिकामा टाइफाइड रोगको संक्रमण पाइएको स्वास्थ्यको तथ्याङ्कले देखाएको छ। अध्ययन अनुसार प्रति लाख जनामा एक हजार ६२ जनामा टाइफाइड रोग संक्रमण भएको पाइएको छ।  

नेपालका बालबालिकाका लागि विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको ‘टाइफाइड कन्ज्युगेट’ भ्याक्सिन हो। यो भ्याक्सिन विश्वका धेरै देशमा प्रयोग भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। सबै उमेर समूहमा देखिने गरेको टाइफाइड नेपालमा अन्यको दाँजोमा १५ वर्ष मुनिका बालबालिकामा १५ गुणा बढी संक्रमण हुने गरेको सर्भेक्षणले देखाएको छ।  

स्वास्थ्य विज्ञानको भाषामा ‘साल्मोनेला टाइफी’ भन्ने किटानुबाट हुने टाइफाइड संक्रमण निकै कडा खालको रोग हो। ढल वा संक्रमित व्यक्तिको दिशामा पाइने जिवाणुबाट संक्रमण हुने यो रोग स्वस्थ्य व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्ने गरेको चिकित्सकहरुको भनाई छ। यो रोग लागेपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र वान्ता हुनेजस्ता लक्षण देखिने चिकित्सकहरु बताउँछन्।

टाइफाइडविरुद्धको खोप वयस्क र बालबालिकालाई मासुभित्र दिइन्छ। यो खोपले मानिसमा दीर्घकालीन रोग प्रतिरोधात्मक क्षमता उत्पादन गर्ने हुनाले संक्रमण रोकथाम तथा रोगसँग लड्न सबैभन्दा प्रभावकारी माध्यम मानिएको स्वास्थ्य विज्ञहरुको दावी छ। उनीहरूका अनुसार सरसफाइ र खोपबाट टाइफाइडको रोकथाम गर्न सकिने छ।

स्वास्थ्य कार्यालय प्रमुख दासले यो खोप सुरक्षित र प्रभावकारी रहेको हुनाले ढुक्क भएर बालबालिकालाई लगाउन आग्रह गरेका छन्। खोप लगाएको ठाउँमा रातो हुने, हल्का सुन्निने, दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्नेजस्ता सामान्य असर भने देखिने तर, यसले कुनै दुरगामी प्रभाव नपार्ने भन्दै उनले नजिकको खोप केन्द्रमा गई आफ्ना बालबालिकालाई खोप लगाउन उनले आग्रह गरेका छन्।

प्रकाशित: २६ चैत्र २०७८ १४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App