४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठानको इर्मजेन्सी वार्डलाई ह्विलचेयर हस्तान्तरण

वीपी प्रतिष्ठानको इर्मजेन्सी वार्डलाई प्रदान गरिएको १० थान ह्विलचेयर। तस्बिर: रोहित/नागरिक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी वार्डमा अबदेखि ह्विलचेयर अभावमा बिरामीहरुले सास्ती खेप्नु नपर्ने भएको छ।  

फेसबुक ग्रुप 'हाम्रो धरान सरोकार' समाजको पहलमा सहयोग जुटेपछि शुक्रबार १० वटा ह्विलचेयर प्रतिष्ठानको इर्मजेन्सी वार्डलाई हस्तान्तरण गरिएको छ। ह्विलचेयर नभएर उपचारमा आएका बिरामीहरुलाई परीक्षण गर्न लैजान समस्या हुदै आएको थियो। यही समस्या देखेपछि उक्त फेसबुक ग्रुपका एडमिन तथा पत्रकार महेश श्रेष्ठले ह्विलचेयर सहयोगको अभियान थालेका थिए। उनीसहित दाताहरुले शुक्रबार इर्मजेन्सी वार्ड इञ्चार्ज डा.मासुम पौडेललाई ह्विलचेयर हस्तान्तरण गरे।

डा.पौडेलले इर्मजेन्सीमा उपचार गर्न आएका बिरामीहरुलाई विभिन्न परीक्षणको लागि पठाउन अब सहज हुने बताइन्। पर्याप्त ह्विलचेयर नहुदा गम्भीर प्रकृतिका तथा वृद्धवृद्धाहरुलाई परीक्षणको लागि लैजान समस्या भइरहेको चिकित्सकहरुको भनाई छ। डा.पौडेलले भनिन्, ‘सहयोगी सबैलाई आभार प्रकट गछौं। अब विरामीलाई धेरै सुविधा हुनेछ, उहाँहरुलाई परीक्षणको लागि ह्विलचियरमा पठाउन सक्नेछौ।’

वीपी प्रतिष्ठानको व्यवस्थापन पछिल्लो वर्षहरुमा खस्कंदै गएको कारण अस्पताल सेवा पनि गुणस्तरीय हुन सकेको छैन। विभिन्न उपकरण तथा सामग्रीहरुको अभावले उपचारमा गएका विरामीहरुले सेवा भन्दा सास्ती पाइरहेका छन्। 

प्रतिष्ठानको इर्मजेन्सी वार्डमा पर्याप्त मात्रामा ह्विलचेयर, ट्रली, बेडको अभावले बिरामीहरुले दुःख पाइरहेका छन्। इर्मजेन्सी वार्डको यही अवस्था देखेपछि ह्विलचेयर सहयोग गर्न फेसबुकमार्फत अभियान सुरु गरिएको ग्रुपका एडमिन एवं धरानका अग्रज पत्रकार महेश श्रेष्ठले बताए। उनले भने,‘इर्मजेन्सीको उपचारमा आउँदा देखिएको अफ्ठेरो महशुस गरेर फेसबुक ग्रुपमार्फत आह्वान गर्यौ, र मनकारी दाताहरुबाट सहयोग भएको हो।’

श्रेष्ठका अनुसार तत्काललाई १० जनाबाट सहयोग प्राप्त भएर १० वटा ह्विलचियर प्रदान गरिएको हो। आफुहरुको लक्ष्य भने १ सय वटा ह्विलचेयर दिने रहेको र अभियान निरन्तर जारी रहने पनि उनले बताए। 

अभियानका अनुसार ह्विलचेयरको लागि धरानका स्वर्गीय मेयर तारा सुब्बाकी श्रीमति इन्दु सुब्बा, प्रतिष्ठानका प्रा.डा.विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा.सञ्जिव शर्मा, डा.रोशन कलवार, कान्तिपुर होटल मेनेजमेन्ट इन्स्टिच्युटका प्रबन्ध निर्देशक गगनमान श्रेष्ठ, गोर्खा भूपू सैनिक अभियन्ता रमेश राई, कुवेतबाट दिपेन्द्र राई, मकाउबाट केशवप्रकाश सम्यमखाम र मकाउबाट सुरेश चौधरीले सहयोग गरेका छन्।

प्रकाशित: २५ चैत्र २०७८ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App