१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा चैत २५ देखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने

प्रदेश १ मा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य निर्देशनालय प्रदेश १ ले विराटनगरमा सञ्चारकर्मीहरूलाई अभिमूखीकरण कार्यक्रमको आयोजना गरी टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो।  

कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले प्रदेश १ मा चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने जानकारी दिए। अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका प्रदेश १ का करिब १२ लाख बालबालिका र देशभरका ७५ लाख बालबालिकालाई खोप लगाउने योजना रहेको बस्नेतले बताए।  

कार्यक्रममा विश्वस्वास्थ्य संगठनकी प्रतिनिधि डा करिश्मा गुरूङले नेपालमा बालबालिकालाई लाग्ने रोग मध्ये टाइफाइड पनि एउटा भएकाले यसविरुद्ध खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिइन्। उनले टाइफाइड हुँदा पेट दुख्ने, ज्वरो आउने, वान्ता हुने र उपचारमा ढिलाई भए आन्द्रामा घाउ हुने समस्याहरू देखिने बताइन्।  

डा गुरूङका अनुसार टाइफाइडको खोप लगाएपछि  ५ वर्षसम्म यो रोगबाट बच्न सकिने अध्ययनहरूले देखाएको छ। टाइफाइड रोग विशेष गरी दूषित पानी र फोहोरी खानेकुराहरूबाट मानिसमा सर्ने गर्दछ। टाइफाइड रोगबाट बच्न सरसफाइमा विशेष ध्यान दिन जरुरी रहेको उनले बताइन्। कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेश श्रेष्ठले खोप नेपालमा टाइफाइडविरुद्धको खोप अभियानको आवश्यकताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रदेश १ मा खोप अभियान सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको निर्देशनालयले जनाएको छ। टाइफाइडविरुद्धको खोप अभियान प्रदेश १ मा मात्रै नभई नेपालमै पहिलोपटक सञ्चालनमा ल्याउन लागिएको हो।

प्रकाशित: २० चैत्र २०७८ १४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App