८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

भिगन भोजनकै भरमा सगरमाथा चढें: जोसेयर

चिकित्सा विज्ञानले दुध तथा दुधबाट बनेका खानाले स्वास्थ्यमा पर्याप्त मात्रामा प्रोटिन, क्याल्सियम, अन्य भिटामिन दिने र पर्याप्त मात्रामा रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने भनेर प्रमाणित गरिसकेका बेला भिगन अभियन्ता कुन्तन जोसेयरले भने भिगन खानाकै भरमा दुई पटक सगरमाथा आरोहण गरिसकेका छन्।

१० वर्षअघि भिगन बनेका उनले सन् २०र २०१९ मा सगरमाथा चढेका थिए। पहिलो पटक सगरमाथा चढ्दा उनले अन्य हिमाल आरोहीले प्रयोग गर्ने खालकै पोसाक लगाएका थिए। दोस्रो पटकमा भने उनले पशुपन्छीको छाला तथा रौंबाट बनेको कपडा पनि लगाएनन्। ‘डाउन ज्योकटमा चराको प्वाँख प्रयोग भएको हुन्छ, त्यसको सट्टा अन्य कपडा लगाएरै सगरमाथा चढें,’ उनले भने।

पछिल्लो समय विश्वभरि मान्छले पशुपन्छीको प्रचुर मात्रामा शोषण गरेको र यसको असर प्रकृतिको सन्तुलनमा, मानव स्वास्थ्यमा पर्दै गएकाले भिगन अभियानमार्फत सन्तुलन कायम राख्ने प्रयास भइरहेको जोसेयरले बताए। यो अभियानमा पशुपन्छीका रौं तथा छालाबाट बनेको कपडा, जुत्ता आदि नलगाउनेदेखि दुधसमेत खानुहुँदैन भन्ने मान्यता राख्छ।

यो अभियानबाट पशुपन्छी प्राकृतिक रूपमै जन्मिन, बाँच्न र मर्न पाउने र यो प्रक्रियाले पृथ्वीको सन्तुलन कायम राख्न मद्दत पुग्ने जोसेयरले बताए। एकाथरीले माछामासु नखाए मानिस कमजोर हुन्छ, शरिरमा विभिन्न तत्त्वको कमी हुन्छ भनिरहेका बेला आफूले पुरै जीवनशैली भिगन बनाएर त्यस्तो मान्यता गलत भनी प्रमाणित गरेको उनले बताए। उनले आफ्नो शरीर देखाउँदै भने, ‘भिगन खानाले शरीरको तन्दुरुस्ती हुँदैन भन्छन्, हेर्नुस् त मेरो शरीरका मांशपेशी।’

माछामासुबाट मात्र प्राप्त गर्न सकिन्छ भनिएका भिटामिन ‘डी’, भिटामिन ‘बी–१२’ पनि प्राकृतिक खानाबाट पनि प्राप्त गर्न सकिने उनले दाबी गरे। बरु मान्छेले जिन्दगीभरि कमाएको पैसा मांसाहारीजन्य खानाले थोरै समयमै सक्ने गरेको र त्यस किसिमको जीवनशैलीका कारण कतिपयले अकालमै जीवन गुमाउनुपरेको उनले बताए।

‘एउटा मानिसले जिन्दगीभर कमाएको पैसा  मासुजन्य खानाले लागेको रोगको उपचार गर्दा केही दिनमै सकिन्छ,’ उनले भने। जोसेयरले भेज खाना खाने कमजोर हुँदैनन् भन्ने कुराको प्रमाणित गर्न पनि पुनः सगरमाथा चढ्न चाहेको बताए। ‘यो खानामा कुनै पनि भिटामिनको कमी हुँदैन भन्ने प्रमाणित गर्न चाहन्छु। ज्याकेट पनि जनावरको छाला तथा रौंबाट बनेको लगाउँदिन,’ उनले भने। भिगन हुनु भनेको शरीरदेखि मनसम्म जनावरको शोषण नगर्ने उद्देश्य राख्नु रहेको उनले बताए। ‘स्याम्पु, ज्याकेट, क्रिमलगायत वस्तु जनावरको शोषण गरेर बनेका हुन्छन्, यी कुनै पनि पदार्थ प्रयोग  गर्दिनँ,’ उनले भने।

जोसेयरले ननभेज खानाले मानिस विभिन्न प्राणघातक रोगको सिकार भइरहेको बताए। स्वस्थ भन्दै खाइने रातो मासुमा बोसोजन्य तत्त्व धेरै हुने र जसका कारण एलडिएल कोलेस्ट्रोल बढी भई मुटुसम्बन्धी रोग लाग्ने जानकारी उनले दिए। मासुजन्य पदार्थको बढी प्रयोग गर्नेहरूलाई हृदयाघात, मस्तिष्कघाट र मुटुसम्बन्धी रोग लाग्ने गरेको जोसेयरले बताए। उनका अनुसार केही अध्ययनले रातो मासु बढी खानेमा आन्द्राको क्यान्सर समेत भएको पाइएको छ। मासुजन्य खानाले पाचन प्रणालीका लागि समस्या आइरहेको उनले जानकारी दिए।

भदौमा हिमालयन भिगन फेस्टिभल नेपालमा

नेपालमा आगामी भदौ ३० देखि असोज १ सम्म हिमालयन भिगन फेस्टिभल (महोत्सव) हुने आयोजक संस्था वल्ड भिगन अर्गनाइजेसन नेपालले जनाएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलबारे जानकारी दिइएको हो। भिगन समूहले कुनै पनि पशुको शोषण गरी उत्पादन गरिएका खाना खाने, मासु, माछा, दुध तथा दुधबाट बनेका परिकारलाई आहारका रूपमा प्रयोग नगर्ने, पशुपन्छीबाट बनेका लुगा तथा कुनै पनि चिजको प्रयोग नगर्ने संस्कृति अपनाउने अभियान चलाएको छ।

नेपालमा ओमिक्रोन फैलिएसँगै वैशाखमा हुने फेस्टिभल भदौमा सारिएको आयोजक संस्था वल्ड भिगन अर्गनाइजेसन नेपालका अध्यक्ष सुरेशप्रसाद शर्माले बताए। सोमबार नै भुटानका भिगन अभियन्ता तथा सगरमाथा आरोही कुन्तन जोसेयर आइपुगेको अवसर पारेर पनि कार्यक्रम सार्वजनिक गरिएको हो। फेस्टिभलमा २ सयभन्दा बढी विदेशी पाहुना सहभागी हुने र १ सयभन्दा बढी स्टल रहनेछन्। नेपाल अध्यात्म भूमि हो भन्ने सन्देश दिनु पनि महोत्सवको अर्को उद्देश्य रहेको आयोजकले बताएको छ।

‘बुद्ध जन्मेको देश हो, यो पर्यटकीय देशबाट अहिंसा र अध्यात्मिक केन्द्रका रूपमा पनि प्रवर्द्धन हुनेछ,’ अध्यक्ष शर्माले भने। भिगन खाना बनाउने स्टल, भिगन खानाका विभिन्न परिकार, योगा स्टल, आध्यात्मिक विषयका स्टल, फिटेनस, पोषणविज्ञ, चिकित्सकहरू महोत्सवका विशेष आकर्षण हुनेछन्। ‘भिगन खानाका दर्जनौं परिकारको स्वाद पनि महोत्सवमा लिन सकिनेछ,’ अध्यक्ष शर्माले भने।

प्रकाशित: १९ चैत्र २०७८ ००:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App