१२ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठानले चैत १५ गतेदेखि स्वास्थ्य विमाको सेवा स्थगित गर्ने

वीपी प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले जारी गरेको सुचना। तस्बिर: नागरिक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य विमा कार्यक्रमको सेवा स्थगित गर्ने भएको छ।

स्वास्थ्य विमा बोर्डबाट शोधभर्ना वापतको करोडौं रकम भुक्तानी नपाएपछि प्रतिष्ठानले चैत १५ गतेदेखि अनिश्चितकालको लागि विमा कार्यक्रमको सेवाहरु स्थगित गर्न लागेको हो। यसले विमित सर्वसाधारण नागरिकहरुको उपचार सेवा प्रभावित हुने भएको छ। प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले बुधबार एक सुचना जारी गर्दै स्वास्थ्य विमा गराएका विमित एवं सर्वसाधारणहरुलाई दिदै आएको ओपिडी, आकस्मिक र अन्तरंग (वार्ड) सेवाहरु अर्को सुचना नभएसम्मको लागि चैत १५ गतेदेखि स्थगन गरिने जानकारी दिएका छन्।  

प्रतिष्ठानले २०७४ साउन महिनादेखि स्वास्थ्य विमा कार्यक्रमको सेवाहरु दिदै आएको थियो। त्यसवापत प्रतिष्ठानले विमा बोर्डमा शोधभर्नाको लागि दाबी गरे अनुसारको सम्पुर्ण रकम उपलब्ध गराउन पटक पटक पत्राचार गरेपनि प्राप्त हुन नसकेपछि विमाको सेवा स्थगित गर्नुपरेको उपकुलपति डा.गिरीले बताए। 

उनका अनुसार शोधभर्ना रकमसँगै स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्दा देखिएको प्राविधिक तथा अन्य समस्याहरुको सहजीकरण गर्न पनि बोर्ड र सरोकारवाला निकायलाई पटक पटक लिखित आग्रह गरिएको थियो। तर, अहिलेसम्म कसैले पनि चासो नदिएपछि यो निर्णंय गर्न बाध्य भएको उनले बताए। प्रतिष्ठानले फागुन १४ गते पनि विमा बोर्डलाई पत्राचार गर्दै चैत १४ गतेभित्र शोधभर्ना रकम उपलब्ध नगराए सेवा प्रभावित हुने चेतावनी दिएको थियो। 

उक्त पत्रको बोधार्थ प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, प्रदेश नं १ का मुख्यमन्त्रीको कार्यालयलगायत निकायहरुमा पनि प्रतिष्ठानले पठाएको थियो। प्रतिष्ठानको अस्पताल प्रशासनका अनुसार स्वास्थ्य विमा अन्तर्गत विमितहरुलाई सेवा दिएवापत दाबी गरिएको रकममा हालसम्म ७३ करोड भुक्तानी भएको छ भने अझै २६ करोडभन्दा बढी रकम विमा बोर्डले रुजु गरेर भुक्तानी गर्न बाँकी छ। दिएको छैन। 

यो रकम नपाउदा आफैले दैनिक सञ्चालन तथा तलबभत्ताको बजेट व्यवस्थापन गर्नुपर्ने प्रतिष्ठानलाई आर्थिक संकट भइरहेको छ।  अस्पताल प्रशासन प्रमुख अशोक साहका अनुसार प्रत्येक पटक विमा बोर्डमा दाबी गरे अनुसार शोधभर्ना नपाउदा बक्यौदा रहदै साँढे २६ करोड पुगेको हो। बोर्डले शोधभर्ना गर्दा हरेक पटक दाबी गरेको भन्दा थोरै थोरै रकम बक्यौदा किन राखेको भन्ने पनि प्रष्ट नभएको उनले बताए। 

प्रतिष्ठानका अनुसार पछिल्लो समय गत कार्तिक अन्तिम साता विमा बोर्डले भुक्तानी दिएको थियो। त्यसपछि भने हालसम्म एक रुपैया पनि भुक्तानी पाएको छैन। प्रतिष्ठानको प्रमुख आम्दानीमा उपचारमा आउने विरामीको शुल्क पनि हो। दैनिकरुपमा उपचारमा आउने विरामी संख्यामा ६० देखि ७० प्रतिशत विरामीहरु स्वास्थ्य विमा कार्यक्रमबाट आउने गरेका छन्। 

जसले गर्दा प्रतिष्ठानको आम्दानीमा ५० प्रतिशत प्रभावित हुन पुगेको अस्पताल प्रशासनको भनाई छ। विमितहरु आउदा जिरो विलिङ हुन्छ। त्यसवापत रकम पाउन प्रतिष्ठानले विमा बोर्डमा दाबी गर्नुपर्छ। तर, बोर्डले समयमा नै रुजु गरेर शोधभर्नाको रकम उपलब्ध नगराउदा प्रतिष्ठानलाई आर्थिक संकट परिरहेको हो।  

स्वास्थ्य विमा प्रति सचेतना बढ्दै गएकोले प्रतिष्ठानमा उपचारमा आउने विमितहरुको संख्या पनि बढ्दै गएको छ। दैनिक एक हजार भन्दा बढी विमितहरु प्रतिष्ठानमा आउने गरेका छन्। चालु आर्थिक बर्षको गत साउनदेखि माघ मसान्तसम्म मात्र प्रतिष्ठानमा ६ हजार ५३८ जना विमितहरुले सेवा लिएको तथ्यांक रहेको छ।

प्रकाशित: ९ चैत्र २०७८ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App