४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यकर्मी लिएर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न गाउँमा उपाध्यक्ष

जुम्लाको तिला गाउँपालिकाकी उपाध्यक्ष बिष्णु बुढा स्वास्थ्यकर्मी लिएर गाउँगाउँमा जेष्ट नागरिक भटघाटमा निस्किएकी छिन्। उनी जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै उनीहरुलाई सम्मान गर्न गाउँमा पुगेकी हुन्। उनले भनिन्,‘अत्यधिक चिसोको समयमा स्वास्थ्यप्रति संवेदनशिल बन्न जेष्ठनागरिकलाई आग्रह गरिएको छ। रोग अनुसारको औषधि स्वास्थ्यकर्मीले दिने गरेका छन। जेष्ठ नागरिक अस्ताउन लागेका जुनबेल जस्तै भएकोले प्रोत्साहनको कार्यक्रम ल्याइएको हो।’

तिला गाउँपालिका ८ जुम्लाकोटका ९६ वर्षीय भक्त बुढाले पहिलोपटक स्वास्थ्यकर्मी सहित गाउँपालिका उपाध्यक्ष गाउँमा पुगेपछि खुसी पोखे। उनले भने,‘उपाध्यक्ष ज्यू पहिले पटक पटक अन्य कार्यक्रम ल्याएर आएको देखेका थियौँ। यो पटक हामी जेष्ठ नागरिक लक्षित कार्यक्रम ल्याएर आउनु भएको छ। यो हामी जेष्ठ नागरिकका लागि स्मरणयोग्य काम हो। ’

चारी परेको अनुहार गल्दै गएको शरीरले भक्त बुढालाई झस्काईरहन्छ। सामान्य स्वास्थ्य बिग्रिदा समेत चिन्ता लाग्छ। तर स्वास्थ्यकर्मी नहुँदा उनले चेकजाँच गर्न समयमै पाउँदैनन्। यो पटक भने गाउँमै स्वास्थ्यकर्मी लिएर पुगेकी उपाध्यक्ष सामु उनले निर्धक्क पुर्वक आफ्ना स्वास्थ्य समस्या राखे। स्वास्थ्यकर्मीले परामर्श र औषधि दिए। ९६ वर्षीय बुढाले भने,‘बल्ल काठमाण्डौँमा रहेको सिंहदरबार गाउँमा आइपुगेको अनुभुति भयो।यो कामले जेष्ठ नागरिकलाई सम्मानित गरेको महसुस गरेका छौँ।’

उपाध्यक्ष बुढा संगै स्वास्थ्यकर्मी बिराजु जिसी गाउँगाउँमा पुगेका छन्। आवश्यक पर्ने औषधि बोकेर गाउँमा पुगेका स्वास्थ्यकर्मी जिसीले भने,‘आफ्नो स्वास्थ्यप्रति जेष्ठनागरिक चिन्तित छन्। उपलब्ध भएको स्वास्थ्य उपकरणले स्वास्थ्य परीक्षण भइरहेको छ। औषधि पनि दिइराखेका छौँ। ’

जेष्ठ नागरिकको प्रेसर र सुगर जाँच्ने काम हुन्छ। उनीहरुको बिरामीको प्रकृति अनुसार चेकजाँच गरेर औषधि दिइने गरिएको छ। गाउँमै पुगेर स्वास्थयकर्मीले स्वास्थ्यचेक गर्न थालेपछि जेष्ठ नागरिक खुसी छन्। ८२ वर्षीय मुने रावत सरकारले जेष्ठ नागरिक प्रति गरेको मानसम्मान निकै सम्झन लायक हुने गरेको बताउँछन्। ‘जेहोस अहिलेको सरकारले हामीलाई हेरी रहेको छ। 

हामी जस्ता घरको दैलो छोड्न नसक्ने नागरिकलाई घरमै पुगेर सम्मान गर्ने र स्वास्थ्य परीक्षण गर्ने कार्यले निकै खुसी प्राप्त भएको छ‘,८२ वर्षीय मुनेले भने। मुनेलाई जोर्नी दुख्ने समस्याले सताएको छ। बेला बेला औषधि घरपरिवारले मेडिकल पुगेर ल्याउँछन। तर यो बर्ष स्वास्थ्यकर्मी सहित उपाध्यक्ष ज्यूले घरमै आएर चेकजाँच र औषधि दिएपछि  खुसी लागेको उनले बताए। हामी सेतै फुलेकाहरु प्रति सरकारले राम्रै सोचेको जस्तो आभाष भयो। हामीले पनि युवा उमेरमा समाजका लागि केही राम्रो काम गरेर छोडेका छौँ। उनले भने,‘अहिले शरीरले साथ नदिदा सरकारले स्वास्थ्यकर्मी घरदैलोमै पठाएर सेवा दिदा उत्साहित बनाएको छ।’

अहिले स्वास्थ्यकर्मी सहित उपाध्यक्ष बुढा तिला गाउँपालिकाको ९ वटा वडाका ३१ बस्तीमै पुगेकी छिन। उनले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण संगसंगै उनीहरुलाई हर्लिक्स,टोपी र टर्च दिएर सम्मानित गर्दै आइराखेकी छिन। उनले भनिन्,‘जेष्ठ नागरिक हाम्रा अमूल्य सम्पत्ति हुन्। सम्पत्तिको सम्मान र रेखदेख गर्नु सरकारको जिम्मेवारी हो। यही जिम्मेवारी पुरा गर्न गाउँमा पुगेका छौँ।’

तिला गाउँपालिका  १ रारा गाउँकी धनकलीलाई दम छ। उनलाई दमको औषधि नहुँदा धेरै समस्या हुने गरेको थियोे। अहिले  स्वास्थ्यकर्मी सहित  उपाध्यक्ष बुढा प्रत्येक जेष्ठ नागरिकको घरमा नै गएर जाँच गरेर औषधि हर्लिक्स,टर्च, टोपी उपलब्ध गराइएका छन्। बुढेसकालमा रोगले च्याप्याे। स्वास्थ्यकर्मी घरमै आएर औषधि दिएको यो पहिलो पटक हो,धनकलीले थपिन,‘यो कार्यले म जस्ता बुढाबुढीहरुलाई सजिलो भएको छ।’ उपाध्यक्ष बुढा स्वास्थ्यकर्मी जिसी,सम्बन्धित वडाका अध्यक्ष,पोषण सहजकर्ता जसुकला रावत,महिला तथा बालबालिका शाखा प्रमुख गौरी थापा सहितको टोली लिएर गाउँगाउँमा पुगेकी छिन्।  

७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाइ स्वास्थ्य चेकजाँच,टोपी,टर्च, हर्लिक्स उपहार दिएको महिला तथा बालबालिका शाखाका प्रमुख थापाले बताइन। १ देखि ९ वडा भित्र रहेका  ४ सय ४६ जना जेष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण र सम्मान गरिएको हो। जेष्ठ नागरिकहरुलाइ स्याहारसंभार गर्न, उचित पालनपोषण गर्न र  सम्मान सत्कार गर्नको लागि जेष्ठ नागरिकका परिवारलाई आग्रह गरिदए आएको उपाध्यक्ष बुढा बताउँछिन्।  

जेष्ठ नागरिकलाई समाजमा हेर्ने नजर फरक छ। उनले भनिन्,‘अब जेष्ठ नागरिकलाई हेला र अपमान होइन। सम्मानका साथ राख्न र उचित सम्मान पुर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गर्दै जेष्ठ नागरिकले गरेका राम्रा कामको अंगिकार गर्न आवश्यक छ। ’उनले जेष्ठ नागरिक प्रति स्थानीय सरकार निकै चिन्तित भएको बताइन्।  स्थानीय निर्वाचन भइसकेपछि जेष्ठ नागरिकलाई विभिन्न प्याकेज ल्याएर हरेक बर्ष सम्मान गर्ने कार्यक्रम ल्याएका गाउँपालिकाले जनाएको छ।।  गत बर्ष ठुला पछ्यौरा र ज्याकेट  दिइएको थियो। 

प्रत्येक घरघरमा पुगेर जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्य भइरहेको स्वास्थ्य चौकी इन्चार्ज विराजु जिसीले बताए।  उनले भने,‘हामीले हरेक गाउँमै गएर स्वास्थ्य चेकजाँच गरेका छौं। गाउँमै पुगेर स्वास्थ्य सेवा दिँदा जेष्ठ नागरिक आमाबुवाहरू निकै खुसी हुन्छन्। औषधि दिँदा झन् खुसी हुन्छन्। उतिबेला जेष्ठ नागरिक प्रति गरेको सेवाभाव प्रति निकै उत्साहित हुने मन लाग्छ।’

जेष्ठ नागरिकप्रति परिवार, समाज सबैको सम्मान बढाउनका लागि हरेक बर्ष जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम सञ्चालनमा ल्याइएको पोषण सहजकर्ता जसुकला रावत बताउँछन्। जेष्ठ नागरिक समाजका गहना हुन। सबैले सम्मान गर्नुपर्ने महिला तथा बालबालिका संयोजक गौरी थापाले जनाइन्। तिला गाउँपालिका वडा नम्वर १ मा ४२ जना, दुईमा ६१ जना,३ मा ७६ जना,४ मा ६४,५ मा २८, ६ मा  २५,७ मा ५२,८ मा ४३ र वडा नम्बर ९ मा ५५ जना जेष्ठ नागरिकहरु छन्।

हिमपात,वर्षा,चिसो नभनेर जेष्ठ नागरिक प्रतिको सम्मान गर्न पाउँदा भाग्यमानी ठानेको उपाध्यक्ष बुढा बताउँछिन। उपाध्यक्ष बुढालाई जेष्ठ नागरिकले सामाजिक सुरक्षाभत्ता ढिलो आउने गरेको र बैंकमै रुपैयाँ ल्याउन जानु पर्ने भएकोले हिड्न नसक्ने अवस्था रहेको दुखेसेको गरेका छन्। उपाध्यक्ष बुढाले गाउँमा स्थापित स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई जेष्ठ नागरिकको स्वास्थ्यलाई उच्च विन्दुमा राखेर काम गर्न निर्देशन समेत दिइन्।

प्रकाशित: ३ फाल्गुन २०७८ ०५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App