३ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

युवा उमेरमै मुखको क्यान्सर

काठमाडौंका ३२ वर्षीय एक युवाको यतिखेर नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। उनलाई मुखको क्यान्सर भएपछि चिकित्सकले शल्यक्रिया गरिसकेका छन्। उनी ढिलो गरी उपचारमा पुगेकाले जटिल शल्यक्रिया गर्नुपरेको अस्पतालका मुख क्यान्सर सर्जन डा। प्रभात ठाकुरले बताए। डा. ठाकुरका अनुसार ती युवाको मुखको क्यान्सर चौथो चरणमा पुगेकोले थप उपचार आवश्यक छ।

ढिला गरी उपचारमा पुग्नेमा काठमाडौंकै ३२ वर्षीय अर्का युवक पनि छन्। उनी पनि चौथो चरणको मुखको क्यान्सर लिएर अस्पताल पुगेका हुन्। उनको पनि शल्यक्रिया गरिसकिएको छ। चौथो चरणमा भएकाले उनलाई रेडियोथेरापी र किमोथेरापीजस्ता थप उपचार दिन आवश्यक रहेको डा. ठाकुरले बताए। शल्यक्रियाको उपचारले मात्र निको हुन सक्छ या सक्दैन भन्न नसकिने डा। ठाकुरको भनाइ छ। ‘हेरेर थप उपचार गर्नुपर्छ। 

निको हुन्छ या हुँदैन, भन्न सकिँदैन’, उनले भने। दुई वर्षअघि वीरगन्जका २२ वर्षीय युवक मुखको क्यान्सर लिएर यही अस्पताल पुगेका थिए। उनको मृत्यु भइसकेको छ। उनी पनि ढिलो गरी उपचारमा पुगेका कारण बचाउन नसकेको डा। ठाकुरले स्मरण गरे।

विकसित देशहरूमा ५० वर्ष बितेपछि देखिने मुखको क्यान्सर नेपालमा भने ३० देखि ५० वर्षभित्रै बढी देखिने गरेको उपचारमा संलग्न चिकित्सक बताउँछन्। नेपालमा मुखका क्यान्सर रोगीमध्ये ५० वर्षमुनिका ५० प्रतिशत र ५० वर्षमाथिका ५० प्रतिशत छन्।

मुखको क्यान्सर देखिएका मध्ये ६० प्रतिशत बिरामी तेस्रो चरणमा पुगेपछि मात्र उपचारमा पुग्छन्। यो चरणमा पुगिसकेपछि उपचार सहज नहुने तर सुरुको चरणमै उपचारमा पुगेमा सबै बिरामी निको हुने चिकित्सक बताउँछन्। दोस्रो चरणमा आइपुगेमा पनि मुखको क्यान्सर निको हुन सक्ने सम्भावना पर्याप्त हुन्छ। तर चौथो चरणमा पुगेपछि जटिल शल्यक्रियाका साथै किमोथेरापी र रेडियोथेरापीसमेत गर्नुपर्ने र शरीरका अन्य भागमा फैलिएको अवस्थामा उपचार चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ।

मुखको क्यान्सर भएर पनि ढिलो उपचारमा पुगेका तीनैजना युवाले सानैदेखि खैनी, गुट्खा, पान, सुपारीजस्ता पदार्थ सेवन गरेका थिए। सानै उमेरदेखि यस्ता पदार्थ सेवन गर्नेहरू नेपालमा बढी रहेकाले युवा उमेरमै मुखको क्यान्सर हुने गरेको अस्पतालहरूको तथ्यांक छ।

नेपालमा पछिल्लो समय मुखको क्यान्सर हुने बिरामीको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको चिकित्सकको अनुभव छ। दस वर्षअघिसम्म प्रतिवर्ष २ हजार जनामा मुखको क्यान्सर हुने गरेकोमा अहिले यो संख्या निकै बढिसकेको स्वास्थ्य सेवा विभाग नाक, कान, घाँटी तथा आँखा स्वास्थ्य शाखाका प्रमुख डा. प्रकाश बुढाथोकीले बताए। नयाँ र पुरानासहित हाल नेपालमा मुखको क्यान्सरका २५ हजार बिरामी रहेको शाखाले जनाएको छ।

जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीले सन् २०१९ मा मधेस प्रदेशका चार जिल्लामा संकलन गरेको तथ्यांकअनुसार प्रति १ लाख जनसंख्यामा ७.४ प्रतिशतमा मुखको क्यान्सर छ। विशेषज्ञहरूका अनुसार नेपालको तराई भेगमा मुखको क्यान्सरको समस्या बढी छ। ‘मुखको क्यान्सर हुनेमा तराईका व्यक्ति बढी छन्’, डा। ठाकुरले भने। तराई भेगमा चपाएर खाइने सुर्तीजन्य पदार्थको सेवन बढी हुने हुनाले मुखको क्यान्सर कम उमेरमै देखिने गरेको उनको भनाइ छ। ‘तराईमा सानै उमेरमा गुट्खा, पान, खैनी र सुपारी बढी मात्रामा सेवन गर्ने चलन छ’, उनले भने। रक्सी र खैनी दुवै सेवन गर्नेमा मुखको क्यान्सर अझ छिटो हुने गरेको पाइएको छ।

मुखको क्यान्सर बढ्नुका कारण

नेपालमा मुखको क्यान्सर बढ्नुमा ९० प्रतिशत कारण सुर्तीजन्य पदार्थ रहेको चिकित्सक बताउँछन्। ‘नेपालमा चपाएर खाइने पान, सुपारी, खैनी, सुर्ती र गुट्खा बढी सेवन गरिन्छ। यी पदार्थमा क्यान्सर बनाउने तत्व कार्सिनोमा हुन्छ’, डा। ठाकुरले भने। बाँकी १० प्रतिशतमा मुखको उचित सफाइ नहुनु, मुखमा भाइरसको संक्रमण हुनु, तिखा दाँतले घाउ बनाउनु र त्यसको समयमा उपचार नहुनु, गिँजामा लामो समय संक्रमण हुनु, नमिलेको दाँतले बनाउने घाउको समयमै उपचार नहुनु, वंशाणुगत कारणलगायत छन् ।

यस्ता हुन्छन् लक्षण

मुखमा दाग, धब्बा या पत्र देखिनु, दुख्ने या नदुख्ने घाउ देखिनु, मसालेदार खाना खाँदा पोल्नु, घाउ तथा खटिराको आकार बढ्दै जानु, स्वाद फरक पाउनु, र्‍याल बढी आउनु, घाँटीमा गिर्खा देखिनु, अस्वाभाविक रक्तश्राव हुनु, खान, निल्न वा पिउन अप्ठेरो हुनुजस्ता लक्षण देखा पर्छन्। कुनै घाउ या खटिरा देखिनु तर नदुख्नु र दुई सातासम्म निको नुहुन मुखको क्यान्सरको लक्षण हुन सक्छ। यी लक्षण देखिएमा चिकित्सकले ती घाउको मासु जाँच गरी क्यान्सर भए नभएको पत्ता लगाउँछन्।

छिटो उपचार पाए निको हुन्छ

छिटो उपचारमा पुगे मुखको क्यान्सर निको हुने चिकित्सकको सुझाव छ। तर नेपालमा ढिला गरी उपचारमा पुग्ने गरेकाले मुखको क्यान्सरले प्रतिवर्ष हजारजनाको मृत्यु हुने गरेको अनुमानित तथ्यांक छ। जोखिममा भएका व्यक्ति र स्थानीय स्वास्थ्यकर्मीमा समेत मुखको क्यान्सरसम्बन्धी सचेतनाको कमीले हेलचक्र्याइँ हुने गरेको डा. बुढाथोकी बताउँछन्। ‘मुखमा सामान्य घाउ लिएर आएका सबै बिरामीलाई स्थानीय स्वास्थ्यकर्मीले सामान्य औषधिले निको हुने भनी पठाउने प्रवृत्तिले रोग छिप्पिने गरेको देखिन्छ’, उनले भने। अर्कोतिर नेपालीमा मुखमा घाउ आउँछ र आफैं निको हुन्छ भन्ने सोेचले पनि क्यान्सरको उपचार ओझेलमा पर्ने गरेको चिकित्सक बताउँछन्।

आफ्नो मुखको स्वास्थ्यको ख्याल गर्नु यो रोगबाट बच्ने मुख्य उपाय भएको चिकित्सक बताउँछन्। त्यसमा पनि लामो समयदेखि सुर्तीजन्य पदार्थ सेवन गरेका व्यक्तिले बेलाबेलामा मुखको जाँच गर्नु समयमै क्यान्सरको पहिचान गर्ने अर्को उपाय रहेको चिकित्सकले सुझाएका छन्।

मुखमा कुनै पनि शंकास्पद घाउ देखिएमा सुरुमा नजिकको स्वास्थ्यसंस्थामा पुगेर नाक, कान तथा घाँटी रोग विशेषज्ञलाई देखाउन सकिन्छ। उनीहरूलाई शंका लागेमा क्यान्सर रोग विशेषज्ञकोमा रेफर गर्छन्। दैनिक दाँत माझ्दा या मेकअप गर्दा आफ्नो मुख या जिब्रोमा हेर्ने र कुनै शंकास्पद घाउ या दाग देखिएमा नजिकको स्वास्थ्य केन्द्रमा देखाउन उनीहरूको सुझाव छ।

सबै प्रदेशमा क्यान्सर अस्पताल स्थापना भइसकेको र सबै प्रदेश अस्पतालमा क्यान्सर रोग विशेषज्ञ भएकाले रोगको पहिचान गरी समयमै उपचार गर्न सकिने स्वास्थ्य सेवा विभागका डा. बुढाथोकीले बताए ।

प्रकाशित: २७ माघ २०७८ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App