१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

सिटामोलको लेखाजोखा गर्दै जुम्ला प्रशासन

कर्णालीमा सिटामोलको चरम अभाव देखिएको बेला जिल्ला प्रशासन कार्यालय जुम्लाले यहाँका हरेक मेडिकलमा पुगेर सिटामोलको लेखाजोखा गर्न थालेको छ। पछिल्लो समयमा कोरोना संक्रमणदर बढिरहेकोले सिटामोलको अभाव हुन नदिनको लागि मेडिकल सञ्चालकहरुलाई सतर्क गराउन थालिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल नेतृत्वको टोलीले सदरमुकाम खलंगाभित्रका सबैजसो मेडिकल तथा फार्मेसीमा पुगेर सिटामोलको मौज्दात अवस्थाको बारेमा जानकारी लिएको हो। टोलीका अनुसार अहिले २६ हजार ट्याब्लेट सिटामोल मौज्दात अवस्थामा भेटिएको हो।

भविष्य मेडिकलमा पाँच सय ट्याब्लेट, विश्वास मेडिकलमा एक हजार ट्याब्लेट, ओम मनिष पोलिक्लिनिकमा पाँच सय ट्याब्लेट, रावत मेडिकलमा एक हजार ट्याब्लेट, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको निःशुल्क औषधि वितरण क्लिनिकमा २० हजार ट्याब्लेट, जनस्वास्थ्य कार्यालय जुम्लाको स्टोरमा २ हजार पाँच सय ट्याब्लेट र कर्णाली मेडिकलमा पाँच सय ट्याब्लेट गरी २६ हजार ट्याब्लेट सिटामोल भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजाल बताउँछिन्।  

सिटामोल संगै डिकोल्डको पनि खोजी गरिएको थियो। डिकोल्ड भविष्य मेडिकलमा एक हजार ट्याब्लेट, राइनोस एक हजार पाँच सय ट्याब्लेट, साइनेस दुई सय ट्याब्लेट, विश्वास मेडिकलमा पाँच सय ट्याब्लेट, साइनोस पाँच सय ट्याब्लेट, ओम मनिष पोलिक्लिनिकमा पाँच सय ट्याब्लेट, रावत मेडिकलमा एक हजार ६ सय ८० ट्याब्लेट, शिवमेकिलमा ३० काटुन भेटिएको थियो।

रुघाखोकीका विरामी बढेकाले जुम्ला बजारका हरेक मेडिकलमा दैनिक १५/२० जनाले सिटामोल र डिकोल्ड किन्न आउने गरेको भविष्य मेडिकल हलका हरिबहादुर रावलले बताए। उनले भने, ‘अहिले सिटामोल कम छ। सिटामोल उत्पादनका कच्चा प्रदार्थ नै बढेकोले उत्पादन गर्ने कम्पनीले नै उत्पादन गर्न छोडेको छ। सिटामोल नहुँदा समस्या आउने खतरा बढेको छ।’ शिव मेडिकल हलका पूर्ण बुढ्थापा दुई लाख ट्याब्लेट सिटामोल माग गरेको बताएका छन्। २/४ दिनमा आईपुग्छ। उनले भने,‘यो बेला सिटामोलको अभाव छ। सिटामोल धेरै कम्पनीले नै उत्पादन गर्न छोडेपछि बजारमा कमी देखिएको हो। तर आवश्यकता अनुसारको सिटामोला माग भइरहेको छ।’

जनस्वास्थ्य कार्यालय जुम्लाको स्टोरमा दुई हजार पाँच सय ट्याब्लेट मौज्दात छ। स्टोर प्रमुख हरि बुढाका अनुसार ११–१५ हजार ट्याब्लेट यहाँका आठ वटै स्थानीय तहमा पठाइएको छ। उनले भने,‘तत्काल जुम्लामा सिटामोल अभाव छैन। तर दिगो समय सम्म अभाव हुन नदिनको लागि सबै मेडकल र स्वास्थ्य संस्थाले ध्यान पुर्‍याउन जरुरी छ।’ 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको फार्मेसीमा सिटामोल र डिकोल्ड अनुगमनका क्रममा नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताईन्। उनले भनिन्, ‘प्रतिष्ठानले निशुल्क औषधि वितरण गर्ने क्लिनिकमा २० हजार ट्याब्लेट सिटामोल मौज्दात भएको जानकारी प्राप्त भएपनि फार्मेसीमा भने सिटामोल र डिकोल्ड भेटिएन।’ फार्मेसीमा अहिले सिटामोल र डिकोल्ड नभएपनि खरिदको औषधि चाँडै आउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।  

यहाँका प्रत्येक मेडिकल, अस्पतालका फार्मेसी र जनस्वास्थ्य कार्यालयको स्टोर अनुगमन गरेपछि तत्काल सिटामोलको अभाव नदेखिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले प्रतिक्रिया दिइन। उनले भनिन्,‘औषधि थप मगाईएन र संक्रमण बढ्दै गएपछि औषधिको अभाव हुने देखिन्छ। सबै मेडिकल र फार्मेसीलाई समयमै सिटामोल खरिद गर्न र औषधि किन्न आएका बिरामीलाई लिमिटमा खेर जाने गरी सिटामोल नबाड्द आग्रह गरिएको छ।’ कोरोना संक्रमणदर बढ्न थालेपछि बजारमा प्राप्त हुने खाद्यवस्तु, औषधिलगायतका मानव जीवनका दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव बढ्न थालेको छ।  

सहायक प्रमुख जिल्ला अधिकारी रिजालसहित चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य सेवा कार्यालयका प्रतिनिधि र मानवअधिकारकर्मी लगायतको टोली औषधि पसलमा पुगेको थियो।

प्रकाशित: ८ माघ २०७८ ०७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App