पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा पनि नयाँ संक्रमितको संख्या दिनानु दिन बढ्न थालेको छ। सुदूरपश्चिममा बिहीबार एकै दिन मात्रै ५ सय ३४ जना नयाँ संक्रमित फेला परेका छन्। नयाँ फेला परेका संक्रमित मध्ये जटिल बिरामीको आइसियू र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने बाँकी कोही क्वारेन्टाइन र कोही होम क्वारेन्टाइनमा छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार हालसम्म नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा यतिका धेरै बिरामी फेला परिसकेका छन्। ती मध्ये थोरैलाई मात्रै सन्चो भएर फर्के पनि अधिकांश भने होम आइसोलेसन तथा क्वारेन्टाइनमा दिन बिताइरहेका छन्। बिहीबार मात्रै सुदूरपश्चिममा आरटी पिसिआर विधिमार्फत् परीक्षण गरिएका ५ सय ३४ जना पोजेटिभ देखिएका हुन्। विगत २४ घन्टामा सुदूरपश्चिममा देखिएका बिरामीमध्ये ७ जनाको अस्पतालमा उपचार भइरहेको छ।
जसमध्ये, सेती प्रादेशिक अस्पतालमा २, जिल्ला अस्पताल दार्चुलामा १ जना, जिल्ला अस्पताल बाजुरामा १ जना र कनरी आइसोलेसन धनगढीमा ३ जनाको उपचार भइरहेको हो। सुदूरपश्चिममा माघ १ गते २ सय ८३, माघ २ गते १ सय ८४, माघ ३ गते ३ सय ४५, माघ ४ गते ४ सय ८८, माघ ५ गते ४ सय ७७ र माघ ६ गते ५ सय ३४ जना नयाँ संक्रमित भेटिएका छन्। यो विगत ६ दिन यताको यो तथ्याङ्क हेर्दा अघिल्लो दिनको तुलनामा दैनिक बिरामीको संख्या बढ्दो छ।
यस्तै, कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन आएदेखि सुदूरपश्चिममा अहिलेसम्म २ जना बिरामीको मात्रै मृत्यु भएको छ। माघ १ गतेका दिन कैलालीको कैलारी गाउँपालिका ५,की ५३ वर्षीया एक महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने माघ २ गतेका दिन बाजुराका ५२ वर्षीय एक पुरुषको होम आइसुलेसनमै मृत्यु भएको थियो। निर्देशनालयका अनुसार कोरोनाको पहिलो भेरियन्टदेखि हालसम्म सुदूरपश्चिममा ६ सय १६ जनाले कोभिड–१९ का कारण मृत्युवरण गर्नु परेको छ।
पछिल्ला दिनहरूमा रोजगारीका लागि भारत गएकाहरू फर्कने क्रम बढेसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै गएको देखिएको हो। रोजगारीका लागि भारत गएकाहरू माघी मनाउन स्वदेश फर्केसँगै सुदूरपश्चिममा बिरामीको संख्या दैनिक बढेको तथ्याङ्क देखिन थालेको हो। पछिल्लो समयमा भारतबाट दैनिक ८ सयदेखि एक हजारको संख्यामा सुदूरपश्चिमका नाकाबाट स्वदेश फर्किरहेका छन्। सीमामा हेल्प डेक्स तथा चेकजाँच कक्ष राखिए पनि कोरोना संक्रमित भेटिए उनीहरूलाई निश्चित ठाउँमा राख्न नसक्दा संक्रमितहरू सिधै घर जाने र त्यसबाट अन्य व्यक्तिमा सर्ने गरेको सरोकारवाला बताउँछन्।
यस्तो बेला सरकारी पक्षले लापरबाही गर्दा ग्रामीण भेगमा कोरोनाको नयाँ भेरियन्ट फैलिसकेको छ। सीमामा आएकाहरूलाई क्वारेन्टाइनको व्यवस्थापन नहुँदा सिधै घर गएका कारण ग्रामीण भेगमा कोरोनाको संक्रमण बढ्दो छ। नाकामा परीक्षण गराउन अनिवार्य भए पनि उनीहरूलाई निश्चित स्थानमा राख्न नसक्नु र सिधै घर जानुले पनि सुदूरपश्चिमका गाउँबस्ती अहिले कोरोनाको उच्च जोखिममा छ।
सुदूरपश्चिमका सीमा नाकामा देखिएका संक्रमित मध्ये केही मात्रै धनगढी उपमहानगरपालिकाले स्थापना गरेको कनरी आइसुलेसनमा पुगे पनि अधिकांश बिरामी सार्वजनिक सवारी चढेर आफ्नै घर फर्कने गरेका कारण उनीहरूले सीमा नाकादेखि घरसम्म यात्रा गर्दा सम्पर्कमा आएका व्यक्तिमा कोरोना सर्न सक्ने सम्भावना अत्याधिक भएको नागरिक समाजका अगुवा हरि रेग्मी बताउँछन्। उनले भने,‘सीमामै कोरोना पोजेटिभ देखिएका बिरामीलाई सिधै घर जान नदिई उनीहरूलाई कनरीकै अइसुलेसनमा राख्ने व्यवस्था गरेको भए कोरोनाको संक्रमण दर ह्वात्तै बढ्ने थिएन।’
प्रकाशित: ७ माघ २०७८ ०२:२३ शुक्रबार





