८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

के कोरोना महामारीबाट स्थानीय रोग बनेको हो?

तीन वर्षअघि चीनबाट सुरु भएको कोरोना महामारीको विश्वव्यापी कहर अझै जारी छ। एकपछि अर्काे लहरका रुपमा देखिएको यो रोगलाई सधैं महामारी (पान्डेमिक) तथा जनस्वास्थ्यका लागि आपत्काल मानिरहने अथवा यसलाई बेलाबेलामा देखिने स्थानीय रोग (इन्डेमिक) मान्ने भन्ने विषयमा विश्वमा बहस सुरु भएको छ।  

महामारीको तेस्रो लहरका कारण नेपालमा दिनहु संक्रमणको ग्राफ बढेको, अस्पतालमा भर्ना हुने बिरामीको संख्या उकालो लागिरहेका बेला यहाँ यो विषयको सान्दर्भिकता कम प्राथमिकतामा पर्न सक्छ। तर महामारीको प्रसारण रोक्न लकडाउन र अन्य कडा निषेधात्मक व्यवस्था जारी राख्ने अथवा पहिचान, रोकथाम र उपचारको यथेष्ट व्यवस्थासहित भाइरससँगै बाँच्ने भन्नेमा विश्वव्यापी बहस सुरु भएको छ।

यो शृंखलामा स्पेनलगायतका केही युरोपेली राष्ट्रले यो रोगलाई फरक हिसाबले हेर्नुपर्ने दृष्टिकोण अगाडि सारेका छन्। यी राष्ट्रले यो रोगलाई इन्डेमिक रोगको हिसाबले परिभाषित गर्नुपर्ने र सोही अनुसार उपचार गर्नुपर्ने तर्क अगाडि सारेका छन्। गत मंगलबार विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले तत्काल महामारीको अन्त्य हुने संकेत नरहेको र ओमिक्रोन भेरियन्टलाई हलुका रुपमा लिँदा रोगविरुद्धको प्रतिकार्य प्रभावित हुने चेतावनी दिएका थिए। 

तर स्पेन, पोर्चुगल, बेलायतलगायतका राष्ट्रले अगाडि सारेको अवधारणाअन्तर्गत रोगलाई संकटको अवस्था (क्राइसिस मोड) बाट नियन्त्रणको अवस्था (कन्ट्रोल मोड) मा रुपान्तरण गर्न आवश्यक छ। रुघाखोकी (फ्लु) र दादुरालाई जस्तै यो भाइरसको नियन्त्रणमा प्राथमिकता दिनुपर्ने तर्क उनीहरूको छ। रोगको संक्रमण बारम्बार बल्झिरहने तथ्यलाई स्वीकार गर्दै जोखिममा रहेका वर्ग र जटिल अवस्थामा रहेका बिरामीलाई विशेष ध्यान दिनुपर्नेमा यी राष्ट्रको जोड छ।  

गत साता स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोभिड–१९का कारण मृत्युदर अत्यन्त कम रहेको तर्क गर्दै युरोपियन युनियनले यो रोगलाई इन्डेमिक रोगको परिभाषाअन्तर्गत राख्न सुझाएका थिए। स्पेनको यो प्रस्तावअनुसार कोभिड–१९ का हरेक बिरामीको रेकर्ड राख्न आवश्यक छैन र लक्षण भएकालाई अपरिहार्य रूपमा परीक्षण गर्न पनि आवश्यक छैन। तर बिरामी भएको खण्डमा उपचारलाई निरन्तरता दिनुपर्ने आवश्यकतालाई स्पेनिस प्रस्तावमा जोड दिइएको छ। 

अमेरिकी समाचार एजेन्सी एपीका अनुसार यो प्रस्तावमा युरोपियन युनियनका अधिकारीसँग छलफल भैसकेको छ तर औपचारिक निर्णय हुन बाँकी छ। गत अक्टुबरमा युरोपियन सेन्टर फर डिसेज प्रिभेन्सन एन्ड कन्ट्रोलले जारी गरेको एडभाइजरीमा पनि रुघाखोकीजस्ता अन्य रोगझैं विभिन्न देशले मिलेर कोरोना भाइरसको अनुगमन प्रणालीलाई एकीकृत गर्नुपर्ने र लक्षण भएका हरेक बिरामीको नमुना संकलन गर्नुको साटो प्रतिनिधि स्याम्पल मात्र संकलन गर्न सकिने कुरा उल्लेख गरिएको छ। स्पेनका प्रधानमन्त्री सान्चेजले ओमिक्रोन भेरियन्ट कम खतरनाक भएको सन्दर्भमा युरोपियन युनियनले समग्रमा यही अवधारणालाई आत्मसात गर्नुपर्ने तर्क अघि सारेका छन्।

‘आगामी महिना र वर्षमा हामीले विज्ञानसम्मत हिसाबले महामारीलाई हेर्ने दृष्टिकोणलाई पुनरावलोकन गर्न आवश्यक छ। ओमिक्रोनको उत्सर्ग भएकोे बेला यस्तो परिवर्तन सान्दर्भिक नहोला तर महामारीपश्चात्को परिदृश्यलाई कसरी आत्मसात गर्ने भन्ने विषयमा हाम्रो ध्यान जान र यो विषयमा गृहकार्य सुरु गर्न जरुरी छ,’ आफ्नो प्रस्तावलाई प्रस्टयाउने क्रममा राष्ट्रपति सान्चेजले सोमबार भनेका छन्। त्यसो त रोगको प्रकोप देशअनुसार फरकफरक हुने भएकाले महामारीका सुरु र अन्त्यलाई परिभाषा गर्न त्यति सजिलो छैन। खोपले समेटेका जनसंख्यामा रहेको असमानता यो विषयको अर्काे महत्वपूर्ण पाटो हो। स्पेनलगायतका युरोपियन युनियनका जनसंख्याको अत्यधिक हिस्साले कोरोनाविरुद्ध खोप लगाएका छन्।

अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसी यो रोगलाई हेर्ने दृष्टिकोणमा तत्काल परिवर्तन गर्न आवश्यक नभएको ठान्छन्। ‘कोभिड–१९ लाई त्यति बेलासम्म इन्डेमिक भनेर मान्न सकिन्न जति बेलासम्म यसले समाजलाई बिथोल्न सक्ने तागत राख्छ,’ डा.फाउसीले बल्र्ड इकोनोमिक फोरमको एक छलफलमा गत सोमबार भनेका थिए। फाउसीले भनेझैं यो रोगलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न हतार गर्न नहुने तर्क विश्व स्वास्थ्य संगठनको छ। भाइरसको प्रकोप पूर्वानुमान गर्न सकिने भएमा र दिगो हिसाबको प्रकोप नभएको खण्डमा यसो गर्न सकिने संगठनको राय छ।  

‘यो संक्रमितको संख्यामा मात्र सीमित विषय नभएकाले यो व्यक्तिपरक निर्णयको विषय हो। यो रोगको गम्भीरता र असरसँग बढी सम्बन्धित रहेको विषय हो,’ विश्व स्वास्थ्य संगठनका हेल्थ इमरजेन्सी प्रोग्राम प्रमुख डा. माइकल रायनले हालै भनेका छन्। ‘इन्डेमिक पनि आफैंमा राम्रो विषय होइन, यसले रोग सधैं रहिरहन्छ भन्न्ने बुझिन्छ,’ उनी थप्छन्। बर्सेनि लाखौं मानिसको ज्यान लिने क्षयरोग र एचआइभीजस्ता रोगलाई विश्वका कतिपय देशले इन्डेमिक मानेका छन्। सब–साहरा अफ्रिकामा हरेक वर्ष २० करोड मानिसलाई संक्रमण गर्ने र ६ लाख मानिसको मृत्युका लागि जिम्मेवार मलेरिया रोगलाई पनि इन्डेमिकको परिभाषामा राखिएको सन्दर्भमा डा. रायनको तर्कलाई हेर्न सकिन्छ।  

कोभिड–१९ लाई मौसमी रुघाखोकीजस्तो रोग मानिए पनि यसले केही मानिसलाई घातक प्रभाव पार्न सक्नेमा विज्ञ चिन्तित देखिन्छन्। रोगको समयमै पहिचान, औषधि र खोपको सुनिश्चिताले महामारीको अन्त्य भएको अवस्थामा पनि कोभिड रोग हामीबीच रहिरहनेमा अधिकांश संक्रामक रोग विशेषज्ञ एकमत देखिन्छन्।

प्रकाशित: ७ माघ २०७८ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App