१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

चन्दननाथमा खोप लगाउनेको लर्को

सरकारले सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेपछि जुम्लामा खोप लगाउनेको लर्को लाग्न थालेको छ। जुम्लाको चन्दननाथ नगरपालिकामा कोभिड–१९ विरुद्धको खोप लगाउने नागरिकको भिड लाग्ने गरेको हो। चन्दननाथ नगरपालिका स्वास्थ्य शाखामा खोप लगाउनेको भिड लाग्ने गरेको हो। अहिले विहानदेखि बेलुकी अबेर सम्म खोप लगाउनको लागि नागरिक लाइनमै देखिने गरेका छन्।  

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महत दुई तीनदेखि खोप लगाउनको लर्को लाग्न थालेको बताउँछन्। उनले भने,‘ २/३ दिनदेखि स्वास्थ्य शाखामा कोभिड–१९विरुद्धको खोप लगाउनेको भिड लाग्ने गरेको छ। चन्दननाथ नगरपालिकाभन्दा पनि बाहिर गाउँपालिकाका धेरै नागरिक खोप लगाउन आउने गरेको छन्।’

चन्दननाथ नगरपालिकाको जनसंख्या झण्डै २४ हजार छ। नगरपालिकाको स्वास्थ्य शाखाले २२ हजार नागरिकलाई खोप लगाइसकेको दाबी गरेको छ। आइतबार मात्रै ४२४ जनालाई भेरोसिल खोपको पहिलो डोज लगाइएको थियो। ६४ जनालाई दोस्रो डोज खोप लगाएको हो।  

सोमबार ३३४ जनालाई भेरोसिल पहिलो डोज र २१ जनालाई दोस्रो डोज कोभिसिल खोप लगाएको स्वास्थ्य शाखा प्रमुख महत बताउँछन्। अझै २/३ दिन सम्म खोप लगाउने कार्य जारी रहने स्वास्थ्य शाखाले जनाएको छ।  

नागरिकलाई खोप लगाउने क्रम संगै विश्वव्यापी रुपमा फैलिएको तेस्रो लहरको कारण संक्रमणबाट बच्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले अपिल गरेको छ। समितिले सार्वजनिक सेवा प्राप्त गर्नका लागि अनिवार्य कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड हुने पर्ने व्यवस्था गरिएको छ।

सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थिति हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजय कुमारी प्रसाइले बताइन्। उनले भनिन्,‘अहिले खोप लगाउनेको लर्को छ। सामाजिक तथा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनको लागि आग्रह गरिएको छ।’

अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्ने निर्णय गरिएको छ। ७ माघदेखि लागु हुने गरी सार्वजनिक स्थल कार्यालय, होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायत र बैंक तथा वित्तिय संस्थामा प्रवेश गर्दा अनिवार्य कोभिडविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ। कोभिडविरुद्धको स्वास्थ्य सुरक्षा र मापदण्ड पालन नगर्नेलाई कोभिड व्यवस्थापन आध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने स्थानीय प्रशासनले जनाएको छ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ०७७ वैशाख २० गतेदेखि कोभिड परीक्षण ल्याव सञ्चालनमा आएको छ। संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको थियो। यसमध्ये ४ सय ६३ जना नागरिकमा कोरोना संक्रमण देखिएको थियो।

दोस्रो लहर जुम्लामा ०७८ वैशाखदेखि देखिएको हो। ३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षणमध्ये १ हजार २ सय २४ संक्रमण देखिएको थियो। ३ हजार ८ सय २ जनाको एन्टीजोन परीक्षणमध्ये ४ सय ५६ जना संक्रमित भएको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए।

जम्मा १ हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ। जिल्लामा ५० हजार ९ सय ८५ जनाले पहिलो डोज कोभिडविरुद्धको खोप लगाएका छन्। पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ जना रहेको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए।

कोरोनाको तेस्रो लहर निकै जोखिम भएकोले सावधानी अपनाउनको लागि आग्रह गरिएको छ। स्वास्थ्य प्रमुख सापकोटाले जिल्लामा उपलब्ध भएको खोप अनुसार खोप लगाउने कार्य धमाधम चलिरहेको बताए। उनले भने,‘पछिल्लो समयमा नागरिक खोप लगाउन इच्छुक छन्। खोपको मात्र पनि आएकोले ठाउँठाउँमा खोप लगाउन थालिएको छ। खोप लगाउने स्थानमा नागरिकको लाइन छ।’

जुम्लामा एक नगरपालिकासहित ७ गाउँपालिका छन्।

प्रकाशित: ३ माघ २०७८ १५:०६ सोमबार