१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

जनशक्ति नहुँदा अस्पताल उद्घाटन लगत्तै ‘बन्द’

ललित विष्ट

कोरोनालगायतका सरुवा रोग नियन्त्रण र उपचारका लागि प्रदेश सरकारले कालिकोट सदरमुकाम मान्मामा सरुवा रोग अस्पताल स्थापना गर्यो। तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंसिर ६ गते अस्पताल उद्घाटन गरे। प्रदेश स्तरीय सरुवा रोग अस्पताल उद्घाटनसँगै ‘बन्द’ छ। स्वीकृत दरबन्दीअनुसार कर्मचारी नहुँदा सरुवा रोग अस्पतालमा ताला लागेको छ।  

प्रदेश सरकारको एक करोड रुपैयाँबाट सरुवा रोग अस्पताल निर्माण गरिएको थियो। कोरोनाको पहिलो र दोस्रो लहरका बेला कोरोना अस्पतालका रुपमा सञ्चालन गरिएको भवनमा सरुवा रोग अस्पतालको बोर्ड झुन्ड्याइएको छ। विशेषज्ञ चिकित्सकसहित २१ जना कर्मचारीको दरबन्दी रहने भनिएको अस्पतालमा अहिले एकजना कार्यालय सहयोगी पनि छैनन्। दरबन्दी पूर्ति नहुँदै तत्कालीन मुख्यमन्त्री शाहीले अस्पताल उद्घाटन गर्नुलाई राजनीतिक प्रचारबाजीका रुपमा स्थानीयले बुझेका छन्।

‘दरबन्दीको व्यवस्था नगरेरै प्रदेशस्तरीय सरुवा रोग अस्पतालको उद्घाटन राजनीति प्रचारका लागि मात्रै रहेछ भन्ने अहिले पुष्टि भएको छ,’ स्थानीय विनोद शाहीले भने, ‘उद्घाटन गरेर ताला लाग्नु गम्भीर विषय हो।’ जनस्वास्थ्य अधिकृत कटक महतले अस्पताल उद्घाटन गरिएपनि जनशक्ति पूर्ति नहुँदा सरुवा रोग अस्पताल बन्द भएको बताए। ‘प्रदेश सरकारले दरबन्दीअनुसार कर्मचारी पठाइदिए सञ्चालनमा आउँछ,’ उनले भने, ‘दरबन्दीअनुसार कर्मचारी पठाइदिनका लागि प्रदेश सरकारसँग अनुरोध गरेका छौं।’

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्राालयका सचिव कृष्णप्रसाद काप्रीले कर्णालीमा आवश्यक स्वास्थ्यतर्फका जनशक्तिका लागि सूचना प्रकाशित गरिएकाले केही दिनभित्रै सरुवा रोग अस्पतालमा चिकित्सकहरु पठाइने बताए। ‘विशेषज्ञ चिकित्सकसहित १५० जना स्वास्थ्यकर्मीका लागि सुचना जारी गरेका छौं,’ उनले भने, ‘एक महिनाभित्रमा सरुवा रोग अस्पतालमा विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीहरु पठाउँछौं।’

–प्रशिक्षार्थी पत्रकार

प्रकाशित: १ माघ २०७८ ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App