८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

डोल्पामा महामारीबाट बच्न उच्च स्वास्थ्य सतर्कताको तयारी

विश्वमा फैलिएको महामारीबाट बच्न हिमाली जिल्ला डोल्पामा उच्च स्वास्थ्य पूर्व सुरक्षा सतर्कताको तयारी थालिएको छ। जिल्लालाई सुरक्षित राख्न र थप संक्रमण बढ्ने अवस्थालाई मध्यनजर गरी रोकथाम तथा नियन्त्रणका लागि पूर्व सुरक्षा सतर्कताको तयारी थालिएको हो। जिल्लाका सबै स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालय डोल्पाले पूर्वतयारीमा लाग्न निर्देश गरेको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस तथा नेपाल सरकारको २०७८ पुस १६ को मन्त्रीस्तरीय निर्णय अनुसार गृहमन्त्रालयको परिपत्र अनुरुप २०७८ पुस २८ गते बसेको जिल्ला कोभिड –१९ व्यवस्थापन समितिको बैठकले कोभिड व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ७६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्लाका सबै स्थानीय तहलाई पूर्व स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोभिड–१९ को संक्रमणका साथै पछिल्लो समय देखा परेको ओमिक्रोन भाइरसको संक्रमणबाट समेत बच्न सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला भेला, महोत्सव नगर्न र कार्यालय होटल रेष्टुरेन्ट सिनेमाहल खेलमैदान हवाई यात्रा र पार्कमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य रुपमा साथमा राख्नु पर्ने निर्ण गरेको छ।

यसैगरी जुफाल विमानस्थल त्रिपुरासुन्दरी नगरपालिकाको खदाङ र जगदुल्ला गाउँपालिकाको मौरेमा निःशुल्क एन्टिजेन परीक्षण बुथहरु स्थापना, स्थानीय तहरुमा यसअघि स्थापना गरिएका क्वारेन्टिन र आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। यसको साथै सार्वजनिक स्थल तथा सवारी साधनहरुमा स्वास्थ्यका मापदण्डहरुको पूर्णरुपमा पालना गर्नु पर्ने यदि जो कोहीले उल्लंघन गरेको पाइएमा कानून बमोजिम कडा कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ।

जिल्ला समन्वय समितिका प्रमुखको समन्वयमा स्थानीय तहका प्रमुख उपप्रमुख प्रशासकीय अधिकृतहरुको सम्भव भए भौतिक रुपमा वा भर्चुल बैठक राखेर आवश्यकता अनुरुप थप प्रभावकारी कार्यान्वयनका लागि सहजीकरण गरिने समेत प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले बताए।

प्रकाशित: २८ पुस २०७८ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App