४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

उदयपुर अस्पतालमा आईसियु सञ्चालन हुँदै

आईसियुका लागि प्रयोग गर्न लागिएको गतवर्षनै जडान भएको भेन्टिलेटर। तस्बिरः महेश्वर

दोस्रो वर्षको कोभिड महामारीले धेरैको ज्यान लिन थालेपछि जटिल खालका बिरामीको उपचार जिल्लामै गर्ने योजनाका साथ गतवर्ष उदयपुर अस्पतालमा आईसियु र भेन्टिलेटर सेवा दिने तयारी गरियो। तर, त्यसबेला रातारात गरेको तयारी जनशक्ति अभावका कारण कार्यान्वयनमा आउन सकेन।  

डेढ वर्ष ढिलै सही, अहिले जनशक्ति सरुवा भई आएपछि अव भने आईसियु सञ्चालन हुने भएको छ। जटिल खालका कोभिड संक्रमित बिरामीलाई बिराटनगर, धरान र काठमाडौं रिफर गर्दा खर्चालु र झन्झटिलो हुनुका साथै अधिकांशलाई बचाउन नसकिएपछि जिल्लामै आईसियु र भेन्टिलेटर सुविधाको तयारी त्यसबेला गरिएको हो।  

प्रदेश सरकारको १ करोड बजेटबाट आवश्यक सामग्री खरिद गरी अस्पतालमा आईसियु र भेन्टिलेटरका उपकरण जडान गरिए पनि पटक पटकको प्रयासले पनि दक्ष जनशक्ति जुटाउन नसक्दा यन्त्र उपकरण सबै थन्केर बसेको थियो। महिनादिनयता दक्ष नजशक्ति आएपछि अव आईसियु सेवा सुरु गर्ने तयारी भईरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मुकेश झाले बताए। डा. झासहित ५ जना विशेषज्ञ (कन्सल्टेन्ट) डा. हरु भर्खरै अस्पतालमा सरुवा भएर आएका छन्।  

एक महिनायता अस्पतालमा प्रसुति विशेषज्ञ डा. झा, हाडजोर्नी विशेषज्ञ डा. सशिभुषण प्रधान, एनेथेसिया (बेहोस् पार्ने)द्वय डा. विशाल देव र कौशल तामाङ र जेनेरल फिजिसिएन डा. राहुल रौनियार सरुवा भई आएका छन्। यसअघिदेखि इन्टरनल मेडिसिन विशेषज्ञ डा. अमरेश मण्डल, डेन्टल सर्जन डा. नारायण चौधरी र सकुन्ताला श्रेष्ठ तथा प्रसुतिकै डा. रुपेश कर्ण कार्यरत छँदै थिए। मेसु झासहित अव जिल्लाअ स्पतालमा विशेषज्ञ डा. को संख्या ८ जना पुगेको छ।  

२५ शैय्याको अस्पाललाई तत्कालीन स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलको पालामा १० वर्षअघि ५० शैय्यामा स्तरोन्नति गरिएको थियो। ९ जना विशेषज्ञ डा. दरबन्दी रहे पनि मन्त्रालयले सरुवा नपठाउँदा अस्पतालले क्षमता अनुसारको सेवा दिन सकेको थिएन। गतवर्ष गाईनोलोजिस्ट जनशक्ति अभावले सुत्केरी गराउने सेवासम्म रोकिएको अस्पतालमा एक वर्षदेखि भने सुत्केरी सेवाले निरन्तरता पाईरहेको छ। गाईना डा. रुपेश कर्णले थाम्दै आएको प्रसूति सेवा डा. झा आएपछि थप प्रभावकारी बन्न पुगेको छ।  

त्यसमाथि हाडजोर्नी, जेनेरल फिजिसिएनसमेत कन्सल्टेन्ट आएपछि गाईनोसँगै अन्य उपचार पनि अव सहज हुने क्रममा छ। अझै मुटुरोग, नाक कान घाँटी तथा नशारोग विशेषज्ञ आउन बाँकी छ। उनीहरुको पनि जोहो गर्न सके गाईघाटमै बिराटनगर र धरानसरहको उपचार सेवा सुरु हुने डा. झा बताउँछन्। बल्ल विशेषज्ञ डा. हरु आउन थालेकाले अव जिल्लावासीले स्वास्थ्य सेवा सहज रुपमा पाउने आसा पलाएको उनले बताए।  

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष खड्गबहाुदर परियारले अव छिट्टै भेन्टिलेटरसहितको आइसियु सेवा सञ्चालन गर्ने बताए। जिल्ला समन्वय समिति प्रमुखसमेत रहेका अध्यक्ष परियारका अनुसार आईसियु सेवा सञ्चालनका लागि तयारी तीव्र पारिएको छ। तर, कोठा अभाव र केही उपकरणको जोहो गर्न बाँकी रहेकाले तत्काललाई बजेटको व्यवस्थापनसँगै सेवा सुरुवातको तयारी भईरहेको छ। आवश्यक बजेटका लागि अस्पताल व्यवस्थापन समितिको बैठक राखेर प्रदेश सरकारसमक्ष माग गरि पठाइएको पनि उनले बताए।  

प्रशासन प्रमुख बृखबहादुर खत्रीले अस्पाल भवनको माथिल्लो तल्लासम्म जान र्‍याम नभएका कारण कोठा खाली रहे पनि आईसियु सञ्चालन गर्न नमिलेको बताए। माथिल्लो तल्लाको कोठा प्रयोग गर्न नमिलेका कारण भुईतलामा रहेको ओपीडीकै दुईवटा कोठा आईसियुका लागि प्रयोगमा ल्याउन लागिएको छ। तत्काल र्‍याम निर्माण गर्न समय लाग्ने भएकाले आईसियु सञ्चालन सहज गर्न ओपीडी कक्षकै कोठाहरु प्रयोग गर्न लागिएको खत्रीको भनाई छ।  

त्यसबाहेक आईसियु सञ्चालन गर्न केही भौतिक उपकरण र नर्सिङ प्यारामेडिक (नर्स तथा एचए र अहेव) जनशक्ति पनि जुटाउनुपर्ने खाँचो छ। हाललाई सामान्य तयारीका साथ आईसियु सञ्चालनमा ल्याउने र बिस्तारै बाँकी जनशक्ति र संरचनाको जोहो गर्दे अघि बढ्ने योजना रहेको उनले बताए। त्यत्ति व्यवस्था गर्न सके मात्र पनि जिल्ला अस्पतालमा बिराटनगर र धरानसरह स्वास्थ्य सेवा दिन सकने खत्रीले बताए।

प्रकाशित: २४ पुस २०७८ १४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App