१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

थप २४ जनामा ओमिक्रोन पुष्टिः संक्रमण दर ५ प्रतिशत नाघ्यो

कञ्चनपुरको गौरीफन्टा सीमा नाकानजिकै स्थापना गरिएको हेल्थ डेस्कमा कोरोना परीक्षणका लागि शुक्रबार नाम दर्ता गराउँदै भारतबाट फर्किएका नेपाली। तस्बिरः रासस

कोरोना संक्रमण दर ह्वात्तै बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांकले औंल्याएको छ। बिहीबार ५ सय ४० जनामा संक्रमण पुष्टि भएकोमा शुक्रबार ९ सय ६८ जनामा कोरोना पुष्टि भएको छ।

बुधबार ४ सय ३५ र मंगलबार ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको थियो। आइतबार यो संख्या २ सय १६ थियो। काठमाडौं तथा सीमा नाकामा कोरोना संक्रमण दरमा वृद्धि भएको तथ्यांकले देखाएको छ। पछिल्लो तथ्यांकले संक्रमण दर पाँच प्रतिशत नाघेको देखाएको छ।

कोरोना संक्रमितको संख्या बढिरहेकै बेला मन्त्रालयले थप २४ जनामा ओमिक्रोन पुष्टि भएको शुक्रबार जनाएको छ। मन्त्रालयका अनुसार एस जिन सिक्वेन्सिङ गरिएका नमुनामा कोरोना पुष्टि भएको छ।

मन्त्रालयले पुुस महिनाभरि कोभिड १९ पुष्टि भएका १ हजार ४ सय ४६ नमुनाको एस जिन परीक्षण गर्दा २ सय ५० वटामा एस जिन नेगेटिभ देखिएको थियो। तीमध्ये २४ नमुनामा ओमिक्रोन पुष्टि भएको हो। यी सहित नेपालमा २७ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ।

विभिन्न सीमा नाकाबाट नेपाल प्रवेश गरेकाहरूमा समेत कोरोना पुष्टि हुने क्रम बढ्नु र भारतमा ओमिक्रोन भेरिएन्टको संक्रमण उच्च दरमा वृद्धि हुनुले नेपालमा कोरोना संक्रमण पुनः बढ्न सक्ने अवस्था देखिएको मन्त्रालयले संकेत गरेको छ। ‘हामीले तेस्रो लहर आउँछ भनेका छैनौं तर नयाँ संक्रमित बढेको हुनाले सजग रहन सबैलाई अपिल गरेका छौं’, मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले भनिन्।

धेरैजनामा ओमिक्रोन पुष्टि भएसँगै मन्त्रालयले बिरामीको चाप पर्न सक्ने सम्भावनालाई ध्यान दिई अस्पतालहरूलाई तयारी अवस्थामा रहन, उपचारमा आवश्यक अक्सिजन, भेन्टिलेटर, बेडलगायत तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

स्थानीय तहलाई पनि आइसोलेसन सेन्टर पुनः तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको प्रवक्ता मिश्राले बताइन्। ‘सीमा नाकामा कोभिड १९ परीक्षण सशक्त बनाउने र संक्रमण पुष्टि भएकालाई आइसोलेसनमा राख्ने व्यवस्था गरिसकेका छौं’, उनले भनिन्।

ओमिक्रोन फैलिने सम्भावनाका कारण देशका मुख्य प्रयोगशाला वीर अस्पताल, टिचिङ अस्पताल, जनस्वास्थ्य प्रयोगशाला प्रदेश २, भेरी अस्पताललगायतमा एस जिन स्क्रिनिङ (परीक्षण) सेवा सञ्चालन भइसकेको मिश्राले बताइन्। विज्ञहरूले सम्भावित जोखिमलाई ध्यानमा राखी खोप नपाएको जनसंख्याका लागि तीव्र रूपमा खोप अभियान सञ्चालन गर्न र परीक्षणको दायरा बढाउन सरकारलाई सुझाएका छन्। ‘ओमिक्रोनको असर अन्य देशमा खोप नलिएकामा देखिएको हुनाले सबैलाई खोप दिनुपर्छ’, जनस्वास्थ्य प्रयोगशाला प्रदेश २ का भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रले भने।

ओमिक्रोनको असर दीर्घरोगी र खोप नलिएकामा पर्न सक्ने भएकाले खोपको दायरा बढाउनुपर्ने उनको सुझाव छ। यसका साथै सरकारले आइसोलेसन र क्वारेन्टिन तयारी अवस्थामा राख्नुपर्ने उनले सुझाए।

परीक्षणको दायरा बढाउने र जिन सिक्वेन्स गर्ने कार्यलाई पनि निरन्तरता दिनुपर्ने उनले बताए। डा. शेरबहादुर पुनका अनुसार बेलायत, अमेरिका, दक्षिण अफ्रिकालगायतका देशको अनुभव हेर्दा ओमिक्रोन संक्रमण भएकामध्ये १५ देखि २५ प्रतिशतलाई अस्पताल नै जानुपरेको थिएन भने ४५ प्रतिशत संक्रमितलाई अस्पताल पुगेर पनि भर्ना हुनुपरेन।

भारतमा पनि संक्रमितमध्येमा कोरोना ओमिक्रोनले सिकिस्त बनाउने दर कम नै पाइएको समाचार माध्यमले जनाएका छन्। ‘विकसित देशहरूमा पनि खोप नलिएका र दीर्घरोगीलाई मात्र ओमिक्रोन संक्रमण हुँदा अस्पताल पुग्नुपरेको देखिन्छ’, पुनले भने।

ओमिक्रोन फैलिँदा अफ्रिकामा सबैले खोप नलिएको अवस्था रहे पनि कमैको मात्र मृत्यु भएको र अस्पताल भर्ना हुनुपर्ने बिरामीको संख्या पनि निकै कम भएकाले नेपालमा ओमिक्रोनका कारण आत्तिहाल्नु नपर्ने पुन बताउँछन्। ओमिक्रोनको लक्षणसमेत सामान्य रुघाखोकीको जस्तो गरी देखिएको डा. पुनले बताए। उनको अनुसार नाकबाट पानी बग्ने, नाक बन्द हुने, घाँटीमा अप्ठेरो हुने, जिउ दुख्ने,  टाउको दुख्ने लगायतका लक्षण ओमिक्रोन संक्रमितमा देखिन्छन्।

प्रकाशित: २४ पुस २०७८ ००:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App