१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

वीरगन्जमा एक दिनमै कोरोनाका १८ नयाँ संक्रमित

शुक्रबार वीरगन्ज नाका र नारायणी अस्पताल गरी एकै दिनमा १७ जना नयाँ संक्रमित फेला परेका छन्। बिहीबार नाकाबाट ६ जना संक्रमित भेटिएकोमा शुक्रबार संक्रमितको संख्या त्यसको तुलनामा तेब्बर संख्यामा भएको हो।

‘अवस्था चिन्ताजनक छ, एकै दिनमा नारायणी अस्पतालमा भएको परीक्षणमा ७ जना नयाँ संक्रमित भेटिएका हुन्,’ नारायणी अस्पतालका कोभिड शाखाका संयोजक डा. उदयनारायण सिंहले नागरिकलाई भने, ‘अझ गम्भीर विषय के छ भने, मात्र ३२ जनाको जाँच गर्दा यी ७ जना भेटिएका हुन्। यो भनेको संक्रमण दर २१ प्रतिशतभन्दा बढी हो।’

उनका अनुसार यो निकै उच्च संक्रमण दर हो। केही संक्रमितहरुमा समान्य लक्षणहरु रहेको र जाँच रिपोर्ट आएपछि अझ केही जनालाई सम्पर्कमा ल्याउन बाँकी रहेको उनले शुक्रबार साँझ बताए।

त्यस्तै भारतीय सिमा रक्सोलसँग जोडिएको वीरगन्जको मुख्य प्रवेश नाका ईनर्वामा शुक्रबार साँझसम्म चार सय यात्रुहरुको कोभिड एन्टीजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका सबै जना भारतीय हुन्। घुमफिर, आफन्त भेटघाट, व्यवसाय रोजगार लगायतको शिलशिलामा नेपाल आउँदै गरेका यात्रुलाई ईनर्वा सिमास्थित स्वास्थ्य कक्षले रोकेर जाँच गर्ने क्रममा यी संक्रमित भेटिएका हुन्।

संक्रमित व्यक्तिहरु १४ वर्षदेखि ६० वर्ष उमेर समूहका रहेको सिमास्थित स्वास्थ्य कक्षले जनाएको छ। ‘संक्रमित भेटिएकामध्ये एक जना १४ वर्षीय बालक बाहेक १० जना वयस्क व्यक्ति हुन्, उनीहरुले कोरोना बिरुद्धको खोप पनि लगाइसकेको बताएका छन्, लक्षण छैन,’ त्यहाँकि इन्चार्ज डा. अनिषा महतोले भनिन्, ‘१४ वर्षीय बालकलाई भने पखाला लागेको बुझियो, ज्वरो थिएन, तर हेर्दैमा बिरामीजस्तो देखिएको थियो।’

हरेक दिन संक्रमित भेटिने संख्या बढिरहेको उनले बताइन्। वीरगन्जमा पछिल्लो पटक फेला परेका संक्रमितमा ‘कोरोना भाइरस’को ‘भेरियन्ट’ पत्ता लगाउन २५ वटा नमुना ‘जिन सिक्वेन्सिङ’का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ।

अस्पतालका प्रयोगशाला प्रमुख डा. प्रभाकर पाण्डेका अनुसार पीसीआर परीक्षणबाट फेला परेका ११ र एन्टिजेन प्रविधिबाट फेला परेका १४ गरी जम्मा २५ वटा ‘पोजेटिभ’ नमुना काठमाडौं पठाइएको हो। उक्त नमुनाहरुको अध्ययन रिपोर्ट आएपछि भाइरसको भेरिएन्ट छुटिने अस्पतालले जनाएको छ।

प्रकाशित: २३ पुस २०७८ १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App