५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

पिसाब थैली बाहिर निस्केकी बालिकाको सफल शल्यक्रिया

मोडेल अस्पताल काठमाडौंमा ११ वर्षीया बालिकाको पिसाबको थैलीको सफल शल्यक्रिया गरिएको छ। रौतहट समनपुरकी काजली खातुनको जन्मजात पेटबाहिर निस्केको पिसाबको थैली र कम्मरको हड्डीको शल्यक्रिया गरिएको हो। लगातार आठ घन्टा लगाएर यही पुस २ गते उनको शल्यक्रिया गरिएको हो।

शल्यक्रियापछि बालिकाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ। उपचारमा संलग्न अस्पतालका बाल शल्यचिकित्सक डा. मनोजकृष्ण श्रेष्ठका अनुसार खातुनको जन्मजात पिसाब थैली पेट बाहिरै थियो र पिसाब चुहिरन्थ्यो।

उनको दुई खुट्टाबीचमा फाट्टिएको हड्डीको जोर्नीसमेत शल्यक्रिया गरी मिलाइएको छ। जन्मजात पेटबाहिरै रहेको पिसाब थैली भित्र राखेर सामान्य बनाउन जन्मेको केही दिनमै शल्यक्रिया हुनुपर्थ्यो। तर उनी ढिला उपचारमा आएकाले चिकित्सकले जटिल शल्यक्रिया गर्नुपरेको हो।

डा. श्रेष्ठका अनुसार बाहिर निस्केको पिसाबको थैलीमा पिसाब नली थिएन। थैली पनि भित्र राखेर काम गर्ने अवस्थाको थिएन। चिकित्सकको समूहले बाहिरको पिसाब थैली फालेर आन्द्रा काटेर पिसाब थैली बनाई मिर्गौलाबाट आएका दुई नलीलाई नयाँ थैलीमा जडान गरेका छन्। नयाँ बनाएको थैलीबाट पिसाब निकाल्न नाइटोबाट नली बनाएर जडान गरिएको छ। छाला र आन्द्राको भाग काटेर नली निर्माण गरिएको छ।

शल्यक्रियापछि कृत्रिम नलीमा प्लास्टिकको पाइप राखेर पिसाब फेर्न मिल्ने बनाइएको छ। उपचारपछि बालिका सामान्य रूपमा हिँड्न सक्ने र पिसाब चुहिने समस्याबाट मुक्त हुने डा. श्रेष्ठले बताए। बालिकाका भित्री अंगहरू पाठेघर, डिम्बाशयलगात सामान्य रहेकाले सन्तान जन्माउन सक्षम हुने डा. श्रेष्ठले बताए। तर, प्रसूति सुविधासम्पन्न अस्पतालमा गराउनुपर्नेछ।

शल्यक्रियापछि बालिकाले सामान्य खाना खाइरहेकी छन् र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। सफल शल्यक्रियापछि आफन्त पनि खुसी छन्। बालिकाले घर फर्केपछि स्कुल जाने इच्छा व्यक्त गरिन्। ‘गाउँको सरकारी स्कुलमा पढ्ने हो,’ खातुनले नागरिकसँग भनिन्। पैसा अभाव र उपचारबारे जानकारी नपाएर खातुनको समयमै उपचार हुन नसकेको मामा रोज मोहमदले बताए। ‘जतिबेला पनि पिसाब चुहिन्थ्यो,’ उनले भने।

शल्यक्रियाअघि खातुनलाई सजिलै हिँड्न मिल्दैनथ्यो भने पिसाब चुहेर स्कुल जान पनि पाएकी थिइनन्। शल्यक्रियापछि ६ साता अस्पतालको हेरचाहमा रहनुपर्छ। त्यसपछि उनी सामान्य  अवस्थामा फर्किने डा. श्रेष्ठले बताए।

पिसाबको थैलीको समस्या जन्मजात ३० हजार जनामा एकमा हुन्छ। डा. श्रेष्ठले भने नेपालमा अहिलेसम्म चार जनामा यस्तो समस्या भेटेका छन्। यस्तो समस्या भएका बालिकामध्ये खातुनको दोस्रो शल्यक्रिया हो। गत वर्ष अर्की १४ वर्षीया बालिकाको पनि यस्तै समस्याको शल्यक्रिया मोडेलमै भएको थियो।

पिसाब थैली नयाँ निर्माण गरी भित्र अरू अंगसमेत जडान गर्नुपर्ने र हड्डीको समेत शल्यक्रिया गर्नुपर्ने भएकाले खातुनको उपचार जटिल शल्यक्रियामा पर्छ। यस्तो समस्या कम बालबालिकालाई हुने र शल्यक्रियासमेत कम संख्यामा हुने भएकाले यो उपचारलाई जटिल शल्यक्रियाका रूपमा लिइने डा. श्रेष्ठले बताए।

अस्पतालका बाल शल्यचिकित्सक श्रेष्ठ, अर्थोपेडिक सर्जन राम बाराकोटी, डा. पुष्प भडेलको समूहले उक्त शल्यक्रिया गरेका हुन्। शल्यक्रियाका सामान महंगो हुने र पुरै निको हुन केही साता अस्पतालमै बस्नुपर्ने भएकाले उपचार खर्च अलि महँगो पर्ने अस्पतालले जनाएको छ। करिब ३ लाख ५० हजार खर्च लाग्ने अस्पतालले केही शुल्क घटाएर १ लाख ५० हजार रूपैयाँभित्र उनको उपचार खर्च लाग्ने जनाएको छ।

प्रकाशित: २२ पुस २०७८ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App