५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

शाम्बाला सान

सिनेमा

रामराज्यजस्तै ‘शाम्बाला’ मिथकको ‘लोकेसन’ ठ्याक्कै कता छ ? कसैले अनुमान गर्न सक्दैन। ‘सांग्रिला’ जस्तै कतिपयले यो हिमालयका काखमा रहेको अनुमान गर्छन्। त्यसलाई छाडौं, मीनबहादुर भामको कृति सिनेमा शाम्बालाको चर्चा यति बेला चलेको छ। बर्लिन फिल्म महोत्सवलगायतका अन्य प्रसिद्ध प्रदर्शनीमा प्रशंसा लुटिरहेको शाम्बालाले संसारको सानदार फन्को मार्दै नेपालीलाई गौरवान्वित तुल्याउँदै छ।

शाम्बालाको सान कति ठडिएको छ भन्ने अनुमान प्रसिद्ध भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकी र अनुराग कश्यप अघिल्लो साता यसको प्रिमियरमा आउनुलाई पनि लिइन्छ। तर त्योभन्दा बढ्दा जीवन्त अभिनयमा माहिर रहेका सिद्धिकीले आफ्नो जीवनमा मन पर्ने २-३ वटा उत्कृष्ट सिनेमामा शाम्बालालाई राख्नुले पनि देखिन्छ।

यस्तो कुन सिनेमा र पात्र होला, जुनमा तपाईंले खेल्न पाएको भए राम्रो लाग्थ्यो ? भन्ने एक प्रश्नमा सिद्धिकीले नेपाली सिनेमा ‘शाम्बाला’को नाम लिएका थिए। ‘चार पाँच दिन पहिला म नेपालमा थिएँ। जहाँ मैले नेपाली सिनेमा साम्बाला हेरेँ,’ उनी भन्छन्, ‘यो मेरो जीवनकै उत्कृष्ट सिनेमामध्ये पर्छ। यो सिनेमा सदैव मनमा रहने छ।’

उनले सिनेमाको तारिफसँगै यसका पात्र पेमाको पनि उत्तिकै तारिफ गरे। थिन्लेले निभाएको पेमाको चरित्र निकै जीवन्त रहेको भन्दै त्यो पात्रप्रति ईर्ष्या लागेको बताए। ‘यसमा फिमेलको क्यारेक्टर थियो, थिन्लेले अभिनय गरेको पेमाको रोलमा। उसको यात्रा र त्यो दौरान उसको अनुहारमा अनगिन्ती भाव देखियो, त्यो निकै उत्कृष्ट थियो,’ उनले भनेका छन्, मलाई पहिलो पटक ईष्र्या भयो, ‘म केटी हुन्थेँ र मलाई त्यो भूमिका मिल्थ्यो भने म धन्य हुन्थेँ।’

पहाड फोरेर बाटो बनाउने भारतीय नागरिक दशरथ माझीको जीवन्त अभिनय गरेर ‘माउन्टेन म्यान’ का रूपमा चिनिने उत्कृष्ट अभिनेता नवाजुद्दिनले हजारौं भारतीय सिनेमा र विश्वका लाखौं सिनेमामा साम्बाला चुन्नु नेपाली सिनेमाका लागि गर्वको विषय रहेको धेरैको बुझाइ छ। उनले यसअघि पनि शाम्बालाको तारिफ गरेका थिए।

वाजुद्दिन सिद्धिकीले नेपाली चलचित्र ‘साम्बाला’को सराहना गर्दै केही दिन अगाडि भनेका थिए, ‘फिल्म महोत्सवमा शाम्बालाबारे धेरै मानिसहरूले कुरा गरिरहेका देखेको थिएँ। जब मलाई यसमा संलग्न हुनका लागि निमन्त्रणा प्राप्त भयो, म यो फिल्मसँग जोडिन पाउँदा अत्यन्त गर्वित महसुस गरेँ। सबैलाई धन्यवाद र विशेष धन्यवाद निर्माता महानुभावलाई।’

नेपाली सिनेमा हेरेका दर्शकले पनि सिनेमाबारे यस्तै उत्कृष्ट धारणा राखेका छन्। ‘यदि हजुरहरूले साम्बाला भन्ने फिल्म हेर्नुभएको छैन भने जिन्दगीभर एउटा भ्रममा बाच्नुहुनेछ,’ सामाजिक सञ्जालमा मिस्टर डी लेख्छन्, ‘नेपाली सिनेमा गुणस्तरीय हुँदैन भन्ने भ्रम हो।’

साँच्चै उनले भनेजस्तै उत्कृष्ट छ सिनेमा। काठमाडौंका नौ र उपत्यकाबाहिरका ३० हलमा रिलिज भएको ‘साम्बाला’ले एक सातामा करिब डेढ करोड रकम खुद संकलन गरेको निर्माता तथा निर्देशक मीनबहादुर भामले जनाएका छन्।

भामकै अघिल्लो फिचर फिल्म ‘कालोपोथी’ ले पहिलो साता २५ लाख रूपैयाँ खुद संकलन गरेको थियो। त्यति बेला कालोपोथी सीमित हलमा प्रदर्शन भएको थियो भने अहिले साम्बाला भने देशव्यापी प्रदर्शनमा आएको छ।

केही दिनअगाडि एक नेपाली अभिनेत्रीले नेपाली कलाकार ‘दायहाङ राईका चलचित्र चल्नु’को कारणबारे राखेको धारणाले आलोचनामा परेकी थिइन्। उत्कृष्ट सिनेमामा अभिनय गर्नु र त्यसलाई दर्शकले मन पराउनुमा जुनै जाति वा भाषा विशेषको मात्र रुचि हुँदैन भन्ने हेक्का उनलाई त्यसपछि भएकै हुनुपर्छ।

संसारका प्रतिष्ठित फिल्म महोत्सवमा सहभागिता जनाउने र पुरस्कृत हिमाली सिनेमा साम्बालाले संसारको मन जितेको छ। ‘राम्रो सिनेमा बनाए यो वर्ग र यो जातको भन्नुपर्दैन, संसारले हेर्छ,’ सामाजिक सञ्जालमा प्रकाश राई लेख्छन्, ‘साम्बालाले प्रमाणित गरेको छ, सिनेमा जातले होइन, कलात्मकता र मौलिकताले चल्छ।’

भाम निर्देशित फिल्म बर्लिन र लोकार्नो फेस्टिभलपछि स्वदेशका सिनेमा घरमा प्रदर्शन भएको हो। यो फिल्मले आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व पनि गर्नेछ। कम संवाद भएको सिनेमामा केही संवाद साँच्चिकै जीवन्त छन्।

‘यति अस्करमा एक वाक्यको डायलगलाई पुरस्कृत गरिन्थ्यो भने साम्बालाको डायलग हुन्थ्यो भन्दै प्रताप कार्की लेख्छन्, ‘बच्चा कसको हो त्यो महत्त्वपूर्ण होइन, बच्चा जन्माउने कार्य आफैंमा ईश्वरीय हो।’ यो डायलग मलाई आजसम्मकै महान् संवाद लागेको छ।’

आमा बन्दै गरेकी पेमालाई समाजलाई लगाएको लाञ्छनाविरुद्ध उनकै ‘को हस्बेन्ड’ कर्माको मुखबाट बोलाइएको यो संवाद साच्चिकै ओजपूर्ण छ।

साम्बालाको अर्थ धेरैले नबुझे पनि यो सिनेमा हेरेपछि यसका बहुआयामिक प्रतिक्रिया आएका छन्। बौद्ध दर्शनसँग सामीप्य रहेको सिनेमा हेर्दै जाँदा एक ठाउँमा रामायणको झल्को आएको कतिपयले सुनाए। ‘रामायण र शाम्बालासँग खासै कुनै साइनो छैन तर पेमालाई नियाल्दै गर्दा कहीं कतै जानकी पुत्री सीताको झल्को आयो,’ अनिल दवाडी लेख्छन्, ‘शंका राम र रावण जसमा भए पनि सीता र पेमाले परीक्षा दिनुपरेका अवस्था निकै पीडादायक छ।’

रामायणको कथा धेरैलाई थाहा छ। शिवजीको धनुष तोडेर अयोध्याका रामले जनकपुरकी सीतालाई विवाह गरेका थिए। उनको लक्ष्मण, भरत शत्रुघ्न तीन भाइ थिए। भाइहरू रामलाई पितासरि र सीतालाई मातासरि मान्ने गरेको कथानक छ। त्यस्तोमा रावणले सीतालाई हर्छन्। रामले रावणलाई जित्छन्। सीताको उद्धार हुन्छ तर चरित्रको कुरा लोकले उठाएपछि सीताको अग्नि परीक्षा लिइन्छ। सीता धरतीमा अलप हुन्छिन्।

सिनेमामा पेमाको यात्रालाई देखाइएको छ। ‘शाम्बाला’ पेमाको आफैंभित्रको उज्यालोको यात्राको कथा हो भन्ने धेरैको बुझाइ छ। ‘जीवनमा कुनै यात्राले मानिसलाई डो¥याएर आफूभित्रै पु¥याउँछ। शाम्बाला त्यस्तै एउटा यात्रा हो,’ समिता पौडेल लेख्छिन्, ‘पेमाले आफ्नो प्रेम र पवित्रता प्रमाणित गर्न हिँडेका अत्यास लाग्दा हिमाल अनि रुखा पाटनहरूको यात्राले उनको सोचेको भौतिक गन्तव्यमा नपुर्‍याए पनि निर्वाणको बाटोमा पु¥याउँछ।’

त्यस्तै धारणा राख्छन् सिनेकर्मी दीपेन्द्र के खनाल पनि। उनले सामाजिक सञ्जालमार्फत शाम्बालाको तारिफ गरेका छन्। ‘शाम्बाला’जस्तो चलचित्र बनाउन पनि धैर्य चाहिन्छ र हेर्न पनि। त्यसपछि भन्नै परेन धैर्यको फल मिठो हुन्छ भनेर,’ उनले लेखेका छन्, ‘शाम्बालामा मलाई मन परेको सबैभन्दा मिठो कुरा चाहिँ त्यहाँ न इन्टरनेट छ, न मोबाइल तर यी दुवै कुरा नभए पनि मान्छे मान्छेबिच अनौठो सम्बन्ध छ, संवाद छ।’

त्यस्तै उनले ‘बच्चा कसको हो भन्दा पनि त्यसको जन्मने प्रक्रिया आफैंमा महान् हो भन्ने लाइन आउँदै गर्दा लेखक मित्र सुशील पौडेललाई सम्झन पुगेको सुनाए।

कथा सार

बर्लिन, लोकार्नोजस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा पुगेर इतिहास रचिसकेको यो फिल्मचाहिँ कस्तो छ त ? स्क्रिप्टले नै संसारभर करोडौं रूपैयाँ फन्ड जितेको शाम्बाला १४ करोड लगानीमा बनेको अहिलेसम्मकै महँगो नेपाली फिल्म पनि हो।

‘शाम्बाला’ पेमा नामक महिलाको कथा हो। जसको तीन जना दाजुभाइसित विवाह हुन्छ। जेठो टासी, माइलो कर्म, कान्छो दावा। टासी व्यापारका क्रममा तिब्बत जान्छ। यता पेमा गर्भवती छन्। तर, त्यो गर्भ टासीको होइन, राम नाम गरेका शिक्षकको हो भन्ने हल्ला गाउँमा चल्छ। ल्हासाबाट फर्किरहेका टासी यो हल्लासँगै घर फर्किंदैनन्। उनले पेमालाई परीक्षा दिन लगाउँछन्, बच्चा खेर फाल भनेर। पेमाले मान्दिनन्। उनले टासीलाई छाडिदिन्छिन्। बच्चालाई जन्म दिन्छिन्।

फिल्मको कथा हिमाली क्षेत्रमा हुने बहुपति प्रथामा आधारित छ। तर, त्योभन्दा बढी तीन पतिकी पत्नी भएर पनि एउटी एकल महिलाको कथा हो, शाम्बाला। यसमा कर्णालीका हिमालवासीको रहनसहन र जीवनयापन देख्न सकिन्छ। समाजको आरोपबाट डराएर लुकेका पतिलाई सत्य सुनाउन हिँडेकी पेमाको कथा हो साम्बाला।

इज्जत जोगाउन ज्यान हत्केलामा बोकेर लम्केको कथा हो। आफूमाथि शंका भएर छाडेको केही समयपछि गर्भवती पेमाका पति टासीको भेट हुन्छ। तर, टासीले बच्चा जसको भए पनि फालिदिनू भनेर भनिदिन्छ।

एउटा निर्दोष बच्चालाई फाल्नुभन्दा बच्चा फाल्न लगाउने टासीलाई छाड्नु उपयुक्त ठान्छिन् पेमाले। टासीले पेमाको ठाउँमा समाज रोज्छ, पेमाले आफ्नो स्वनिर्णय रोज्छिन्। पुरातन सोच भएको समाजमा यो एउटा मौन विद्रोह थियो। क्रान्तिको बाटोमा चुपचाप हिँडेको जीवन्त सिनेमा हो शाम्बाला।

समग्रमा पेमाले आफ्नो प्रेम र पवित्रता प्रमाणित गर्न हिँडेका अत्यासलाग्दा हिमाल अनि रुखा पाटनहरूको यात्राले उनको सोचेको भौतिक गन्तव्यमा नपुर्‍याए पनि निर्वाणको बाटोमा पु¥याउँछ भन्ने शिक्षा पनि हो शाम्बाला।

प्रकाशित: ५ आश्विन २०८१ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App