एक साता अगाडि भारतबाट नेपालगन्जस्थित जमुनाह हुँदै घर फर्किएका तीन जना पुरुष ओमिक्रोनबाट संक्रमित हुन सक्ने भन्ने शंकाको घेरामा परे। कोभिड–१९ (कोरोना भाइरस) बाट संक्रमित उनीहरुको स्वाब संकलन गरेर ओमिक्रोन परीक्षणका लागि काठमाडौं पठाइयो। ओमिक्रोनको आशंका गरिएका व्यक्ति क्वारेन्टाइन होइन सीधै घर पठाइयो।
सीमा क्षेत्रमा शंकास्पद व्यक्ति र संक्रमित भएका व्यक्तिलाई राख्ने व्यवस्थापन नहुँदा उनीहरुलाई सीधै घर पठाइएको थियो। ओमिक्रोनको आशंका गरिएका व्यक्तिलाई क्वारेन्टाइन राख्नुको साटो घर पठाउँदा ओमिक्रोनको जोखिम बढेको छ। नेपाल–भारत सीमा क्षेत्र जमुनाहबाट दैनिक एक हजारभन्दा धेरै मानिस यताउता गर्छन्। ति सबैको व्यक्तिको स्वास्थ्य परीक्षण समेत हुँदैन। नेपाल प्रवेशद्वारमा गम्भीर लापरबाही गरिँदा ओमिक्रोनको उच्च जोखिम बढ्ने स्थानीय घनश्याम गुप्ताले बताए। ‘सीमा क्षेत्रमा लापरबाही गरिएको छ,’ उनले भने, ‘सरकारले सीमा क्षेत्रका कडाइका लागि गरेका निर्णय कार्यान्वय हुन सकेको छै।’
अहिले सामान्य हुँदा लापरबाही हुँदा पछि ठूलो समस्या झेल्नुपर्ने स्थानीयहरुको भनाइ छ। सरकारले गरेका निर्णय पालना हुँदा ओमिक्रोनको जोखिम कम हुने स्थानीयहरु बताउँछन्। ‘सीमामा हुने लापरबाहीले भोलि ठूलो क्षति हुनसक्छ,’ रामकृष्ण अग्रवालले भने, ‘पछिको जोखिमलाई अहिले नै मूल्यांकन गरी जोखिम न्यूनीकरण गर्नुपर्छ।’ कोरोना भाइरसको पाठबाट केही सिकेर ओमिक्रोनको जोखिम भित्रिन दिन नहुने उनी बताउँछन्।
तीन जना व्यक्ति कोरोना भाइरस संक्रमित भएपछि उनीहरुमा ओमिक्रोनको शंका लागेपछि स्वाब संकलन भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहले बताए। ‘एक गैरसरकारी संस्थाले स्वाब संकलन गरेको छ,’ उनले भने, ‘उक्त स्वाब काठमाडौं पठाएपछि १५/२० दिन जतिमा रिपोर्ट आउँछ।’ कर्मचारीको लापरबाहीभन्दा व्यवस्थापन नहुँदा बाध्य भएर शंकास्पद व्यक्तिलाई सीधै घर पठाउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख शाहले बताए।
‘शंकास्पद देखिएका व्यक्ति म क्वारेन्टाइनमा बस्छु भने पनि कहाँ राख्ने। ठाउँनै छैन,’ उनी भन्छन्, ‘ठाउँ नहुँदा सुरक्षितसाथ घर पठाइएको छ।’ यसभन्दा पहिला कोरोना भाइरस संक्रमितलाई सीमाबाट सीधै क्वारेन्टाइनमा राख्ने व्यवस्था थियो। कोरोना भाइरसको त्रास सामान्य हुँदै गएपछि अहिले क्वारेन्टाइन नभएको र सीमा क्षेत्रमा एम्बुलेन्ससमेत नभएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
वैशाखदेखि अहिलेसम्म नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा ५० हजारभन्दा बढी सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको उनले जनाए। जसमध्ये चार सय दुई जना संक्रमित देखिएका थिए। ६० देखि ८० जनाबाहेक अरु सबैलाई क्वारेन्टाइन, आइसोलेनमा राखिएको थियो जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
भारतमा ओमिक्रोन देखिएको छ। त्यस क्षेत्रबाट नेपाल आउनेको सीमा क्षेत्रमा अनिवार्य स्वास्थ्य परीक्षण गर्न सरकारले निर्देशन दिएको थियो। सीमा क्षेत्रबाट प्रवेश गर्दा कोरोना भाइरसविरुद्धको खोप अनिवार्य लगाएको र कोरोना भाइरस परीक्षणको रिपोर्ट साथमा हुनुपर्ने सरकारको निर्णय थियो। तर बाँकेमा शंकास्पद व्यक्तिलाई नै घरमा पठाउने गरिएको छ।
उत्तराखण्डबाट आएका दुई र उपचारका लागि लखनउ गएका एक जनाको स्वाब संकलन भएको हेल्थ डेस्क जमुनाहले जनाएको छ। शंकास्पद देखिएका व्यक्तिहरुको स्वाब मंसिर २२, २६ र पुस ७ गते संकलन गरिएको थियो। संकलित स्वाब अहिलेसम्म परीक्षण भएको छैन। उक्त परीक्षणका लागि स्वाब काठमाडौंमा पठाउनु पर्छ। पठाउने माध्यम र स्थान थाहा नहुँदा स्वाब पठाउन नसकिएको हेल्थ डेस्क जमुनाहका ल्याब टेक्निसियन चिरिञ्जीवी ज्ञवालले जानकारी दिए। ‘तीन जनाका स्वाब सुरक्षित साथ राखेका छौं,’ उनले भने, ‘कहाँ र कसरी पठाउने थाहा छैन। त्यसैले पठाउन सकिएको छैन।’
प्रकाशित: ८ पुस २०७८ १४:४४ बिहीबार