१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

छत्रपाटी चिकित्सालयमा अक्सिजन प्लान्ट सुरु

अक्सिजन प्लान्टको उद्घाटन गर्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल। तस्बिरः नागरिक

छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) मा दैनिक एक सय सिलिण्डर क्षमता भएको अक्सिजन प्लान्ट आजबाट सुचारु भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शनिबार एक कार्यक्रमकाबीच उक्त अक्सिजन प्लान्टको उद्घाटन गरिन्।

हेल्प नेपाल ब्रेथ र दया फाउन्डेसनको विषेश सहयोगमा एक सय सिलिन्डर क्षमताको उक्त अक्सिजन प्लान्टको स्थापना भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले ६५ वर्षअघि स्थानीय जनसमुदायलाई प्रारम्भिक स्वास्थ्य सेवा दिने उद्देश्य स्थापना भएको चिकित्सालय वर्तमान अवस्थामा एउटा अत्याधुनिक सुविधा सम्पन्न निःशुल्क अस्पतालको रूपमा सञ्चालन भइरहेकोमा अत्यन्तै खुसी व्यक्त गरिन्।

‘अधिकार सम्पन्न स्थानीय सरकार बनेको छ। जनताको घरआगनमा पुग्ने सिंहदरबार भनेर संघीय संरचनामा गइसकेपछि तीन तहका सरकार बनायौं,’ मन्त्री भुसालले भनिन, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहितको अधिकार सम्पन्न स्थानीय सरकार महानगरपालिका बनेको छ। यसको उद्देश्य भनेको धेरैभन्दा धेरै सुविधा जनताको घरदैलोमा पुर्‍याउनु नै हो।’

यसैअनुरूप काठमाडौं महानगरपालिका जस्तो देशको राजधानी भएको पालिकाले आफ्नै छुट्टै अस्पताल, मेडिकल कलेज, इन्जिनियरिङ कलेज, ज्येष्ठ, बालबालिका र अपांगता भएका नागरिकलाई छुट्टै सेवा दिने केन्द्र निर्माण गर्नु पर्नेमा जोड दिइन्।

उनले चिकित्सालयलाई आवश्यक पर्ने कुनै पनि सहयोग संघीय सरकारबाट उपलब्ध गराउन पछि नहट्ने बताउँदै आगामि आर्थिक वर्षदेखि चिकित्सालयले खपत गर्ने विजुलीमा सहुलियत दरको छुट व्यवस्था गरिने प्रतिवद्धता समेत जनाइन्।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै हेल्थ ब्रेथ नेपालका फन्ड रेजर इन्जिनियर सोनिका मानन्धरले अक्सिजन प्लान्टको लागि आवश्यक रकम १५ दिन भित्रमा ८० प्रतिशत रकम जम्मा गरेको बताइन्।

त्यस्तै दया फाउन्डेसनका संस्थापक सदस्य कृपा माथेमाले शिक्षा, स्वास्थ्य र सम्पदामा सहयोग गर्ने संस्थाको नीतिअनुरूप चिकित्सालयले डेंगु र कोभिडको महामारीमा निभाएको उत्कृष्ट भूमिका प्रसंशा एवं कदर स्वरूप यो अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गरेको बताए।

महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष नवीन मानन्धरले एकता नै बल रहेको बताउँदै २०१३ सालमा माउ बद्रीले देखेको सपना र सोचलाइ सबैले साथ दिएको हुनाले चिकित्सालय यो अवस्थामा पुग्न सफल भएको बताए। शिक्षा र स्वास्थ्य समानान्तर रूपमा अघि बढाउनु पर्नेमा जोडदिँदै उनले चिकित्सालयलाई सरकारले पर्याप्त मात्रामा सहयोग नगरेको गुनासो गरे।

यस्तै कार्यक्रममा चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले सहयोगी सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरूलाई विशेष धन्यवाद ज्ञापन गरे। हरेक दिन ३५ सिलिन्डरदेखि ६५ सम्मको योजना हुँदै अहिले एक सय सिलिन्डरसम्म उत्पादन क्षमता भएको अक्सिजन प्लान्ट स्थापना गर्न सफल भएको बताए।

प्रकाशित: ४ पुस २०७८ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App