१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

झापामा डेँगुका नौ बिरामी फेला

विगतमा महामारीकै रुपमा देखिएको डेँगु रोग यसपालि पनि जिल्लामा देखापरेको छ। जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना डेँगुका बिरामी फेला परेका छन्।

विर्तामोड नगरपालिकामा पाँच र मेचीनगर नगरपालिकामा चार जना फेला परेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा देखिएको छ। हाल उनीहरु विर्तामोडमा रहेको विर्तासिटी हस्पिटल र मनमोहन अस्पतालमा उपचारपछि घर फर्किएका छन्। मनमोहन अस्पतालका डा शुवेश शौरवले दश दिनको अन्तरालमा अस्पतालमा १० डेँगु रोगीको उपचार भएको जानकारी दिए।

विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका डेँगु रोग फोकल पर्सन तुलसी पोखरेलका अनुसार वडा नम्बर ४ को रमाइलो टोलस्थित सिदार्थ होटल आसपास क्षेत्रमा बढी डेँगुको सङ्क्रमण देखिएको छ। उनले विशेषगरी विभिन्न क्षेत्रमा काम गर्ने मजदुरमा डेँगुको सङ्क्रमण देखिएको बताए। डेँगु रोगी देखिए लगत्तै घरदैलोमार्फत नगर क्षेत्रमा डेँगु रोग लाग्ने लार्भा फेला नष्ट गर्ने अभियानमा स्वास्थकर्मी र जनप्रतिनिधि सक्रिय रुपमा लागि परेको बताए।

मेचीनगर नगरपालिकाको वडा नम्बर १०, ६ र ८ मा मात्र चार जना डेँगुका बिरामी फेला परेको छ। पालिकाको स्वास्थ्य शाखाकी डेँगु फोकल पर्सन सविता सापकोटाले छिटफुटमा डेँगुका सङ्क्रमित देखिएँसगै नगरपालिकाले लामखुट्टेबाट हुने डेँगु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनासहितको अभियान धमाधम गरिरहेको बताए।

उनले विगतमा भदौ असोज महिनामा मात्र देखिने यो रोग यसपालि मङ्सिर महिनामा बढी देखिएको बताए। पोथी जातका लामखुट्टेले ससाना सफा पानी जमेका स्थानमा फुल पार्ने गर्दछ। सो जमेको पानीको पहिचान गर्दै सबै पालिकाकाले डेँगुको लार्भा नष्ट गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताए।

उनका अनुसार भद्रपुर, दमक, विर्तामोड, अर्जुनधारा, मेचीनगर नगरपालिका र कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिकामा अभियान सञ्चालन भइरहेको छ। उनले तराईको जिल्ला भएका कारण झापा डेँगु रोगको उच्च जोखिममा पर्ने बताए। उनले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यसम्बन्धी काम गर्ने अख्तियारी प्रदान गरेकाले हाल आवश्यक परेको बेला स्वास्थ्य कार्यालयले प्राविधिक सहयोग मात्र गर्ने सक्ने बताए।

कार्यालयसँगै डेँगु रोगीको तथ्याङ्क नभएको बुझिएको छ। उनले भने,“पालिकामै बजेट आउँछ, सचेतनामूलक कार्यक्रम पालिकले नै गर्छन्। उनीहरुले दिएको विवरणको आधारमा कार्यालयमा तथ्याङ्क राखिन्छ। ठ्याक्कै भन्न सकिन।”

जिल्लामा दुई वर्षअघि डेँगु रोगकै कारण ५०० बिरामी भएका थिए भने आधा दर्जन बढीको मृत्यु जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ। ड्रम, फुलदानी, गमला, कुलर, पानीका ट्याङ्कीमा डेँगुको लार्भा भेटिने गरेकाले त्यस्ता सामग्री प्रयोग भएको स्थानमा गएर लार्भा नष्ट गर्न काम पालिकाले गरिरहेको उनको भनाइ छ।

प्रकाशित: १८ मंसिर २०७८ १०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App