१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुमा हैजाविरुद्धको ओरल कोलेरा भ्याक्सिन लागइँने

२ लाख ५२ हजार ३६३ कोलेरा खोप आउँदै

कपिलवस्तुमा हैजाविरुद्धको ओरल कोलेरा भ्याक्सिन लगाइने भएको छ। झाडापखालाको प्रकोप फैलिएसंगै हैजाको पुष्टी भएपछि जिल्लाका पाँच पालिकामा सो खोप लगाइने भएको हो। झाडापखाला र हैजा नियन्त्रणका लागि सो खोप लागाउन लागिएको हो। जिल्लाका ५ पालिकामा खोप लागउनका लागि २ लाख ५२ हजार ३६३ कोलेरा खोप आउन लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए।

‘हामीले माग गरे अनुसार विश्व स्वास्थ्य संगठनले हैजाविरुद्धको खोप दिने निश्चित भई सकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जानकारी आईसकेको छ’, प्रमुख पाण्डेयले भने। कृष्णनगर नगरपालिकालाई ६० हजार ७४३, महारागंज नगरपालिकालाई ५३ हजार १५६, शिवराज नगरपालिकालाई ६४ हजार ७४८, बिजयनगर गाउँपालिकालाई ३५ हजार ९०३ र यशोधरा गाउँपालिकालाई ३७ हजार ७८३ जनालाई खोप लागइने छ।

सो पाँच पालिकामा झाडापखाला प्रभावित भई हैजा समेत पुष्टी भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकालाई पुग्ने गरी माग गरेको थियो। अहिले विश्वव्यापी रुपमा हैजाको खोप अभाव भएकाले प्रभावित पालिकामा लागाउने गरी खोप आउन लागेको पाण्डेयले बताए। विश्व स्वास्थ्य संगठनले सो खोप ग्लोबल स्टक पाईलमा राखेको छ। खोप विश्व स्वास्थ्य संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएपछि जिल्लामा आउने छ।

खोपले हैजाको ब्याक्टेरिया रहेको समुदायमा लक्षण कम गर्ने तथा मृत्यु हुनबाट जाेगाउने प्रमुख पाण्डेयले बताए। उनले खोप सुरक्षित रहेकाले जसले पनि खान मिल्ने बताए। ५ पालिकामा झाडापखालाका फैलिएपछि गरिएको परीक्षणका क्रममा कृष्णनगर र यशोधरा गाउँपालिकामा हैजा पुष्टी भएको थियो। गत असोज १८ देखि कृष्णनगर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा झाडापखालाको प्रकोप फैलिएको थियो। सो लगत्तै बिजयनगर, यशोधरा, महाराजगंज, शिवराज नगरपालिकाका बिभिन्न गाउँहरुमा झाडापखालको प्रकोप फैलिएको थियो।

प्रकोप अहिले सम्म पूर्ण नियन्त्रणमा आएको छैन। गत वर्षको भदौ र यस वर्षको असारमा समेत ती पालिकाहरुमा झाडापखालाको प्रकोप फैलिएको थियो। गत असारमा नै बिजयनगर वडा नम्बर ७ मा ३५ जना झाडापखालाका रोगी फेला परेको थियो भने २ जनाको मृत्यु समेत भएको थियो। यस्तै, गत असारमा महाराजगंज नगरपालिका वडा नम्बर ८ मा ७० जना झाडापखालका बिरामी फेला परेको र एक जनाको मृत्यु भएको थियो।

प्रमुख पाण्डेय अनुसार समुदायमा विगतका वर्षदेखि नै हैजाको जिवाणु रही रहेकाे पाइएको छ। कृष्णगनर नगरपालिकाको शिवराज अस्पतालमा १ हजार ३४३ जना झाडापखालाका बिरामीले उपचार गराएका थिए। कृष्णगनर नगरपालिकामा झाडा पखालाबाट ४ जना र शिवराज नगरपालिका र यशोधरा गाउँपालिकामा एकएक जनाकाे मृत्यु भएको थियो। खोनेपानीको पाईपभित्र हैजाको जिवाणु पसेको, खुला दिशा गर्ने चलन र सरसफाई अभावका कारण कपिलवस्तुमा हैजा देखिएको पाण्डेयले बताए।

प्रकाशित: २३ कार्तिक २०७८ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App