१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यमन्त्रीसहितको छानबिन टोली वीपी प्रतिष्ठानमा

वीपी प्रतिष्ठनका आन्दोलनरत पक्षसँग छानबिन समितिको टोली छलफल गर्दै। तस्बिर: रोहित/नागरिक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुले पदीय आचरण विपरीत कार्य गरेको प्रतिवेदनको आधारमा कारबाही गर्न गठित उच्चस्तरीय छानबिन टोली धरान आएको छ।  

प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (घ) मा व्यवस्था भए अनुसार अनुसार पदाधिकारीहरुलाई हटाउन कुलपति एवं प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेका थिए। समितिमा सिनेट सदस्यको हैसियतमा स्वास्थ्य सचिव डा.रोशन पोखरेल र धरान उपमहानगरपालिकाका मेयर तिलक राई सदस्य छन्। 

ऐनको यो दफामा एक चौथाई सिनेट सदस्यहरुले पदाधिकारीहरुले पदीय मर्यादा विपरीत कार्य गरेको तथा जिम्मेवारी पुरा नगरेको भन्दै लिखित निवेदन दिएमा सहकुलपतिको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गर्ने व्यवस्था छ। छानबिन समितिका संयोजक एवं स्वास्थ्यमन्त्री खतिवडासँगै समिति सदस्य एवं सचिव डा.पोखरेल र सिनेट सदस्य एवं धरानका मेयर राई पनि प्रतिष्ठान पुगेका छन्। 

अहिले छानबिन टोलीले प्रतिष्ठानमा आन्दोलनरत संयुक्त संघर्ष समितिका प्रतिनिधिहरुसँग छलफल गरिरहेको छ। छलफलमा रहेका मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले एक चौथाई सिनेटहरुले लिखित निवेदन दिएपछि कुलपतिले गत साता उच्चस्तरीय समिति गठन गरेको जानकारी दिए। उक्त समितिले प्रतिष्ठानको आन्दोलनरत पक्षसँग छलफल गर्ने र पदाधिकारीहरुलाई पनि सफाईको मौका दिने उनले बताए। यसैगरि, छानबिन समितिले विभागीय प्रमखहरु र प्रतिष्ठानसँग सम्बन्धित संस्थाहरुसँग पनि छलफल गरेपछि समितिले सिनेट बैठकमा आफ्नो प्रतिवेदन पेश गर्ने प्रवक्ता डा.पौडेलले जानकारी दिए।

प्रकाशित: ९ कार्तिक २०७८ ०८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App