९ भाद्र २०८३ मंगलबार
image/svg+xml
स्वास्थ्य

बागलुङमा ६४६ जनामा डेंगी सङ्क्रमण

बागलुङमा डेंगी सङ्क्रमण फैलिएको छ। पछिल्लो दुई महिनामा जिल्लामा डेंगी सङ्क्रमितको सङ्ख्या बढेर ६४६ पुगेको छ।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लाका सबै पालिकामा डेंगी सङ्क्रमण देखिएको छ। साउन र असार महिनाको तथ्याङ्कअनुसार बागलुङ नगरपालिकामा मात्रै ४५९ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ।

त्यस्तै, गलकोट नगरपालिकामा ४३, काठेखोला गाउँपालिकामा ४५, जैमिनी नगरपालिकामा २७, ढोरपाटन नगरपालिकामा १७, ताराखोला गाउँपालिकामा तीन, बडिगाड गाउँपालिकामा तीन, निसीखोला गाउँपालिकामा सात, तमानखोला गाउँपालिकामा दुई र बरेङ गाउँपालिकामा दुई जनामा डेंगी सङ्क्रमण देखिएको छ। अन्य जिल्लाबाट उपचारका लागि बागलुङ आएका ३८ जनामा डेंगी देखिएको छ।

बागलुङ सदरमुकाममा दैनिक २० देखि ३० जनासम्म डेंगीका बिरामी देखिन थालेको धौलागिरि अस्पताल बागलुङका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिए। उनका अनुसार साउन महिनामा मात्रै बागलुङ बजारमा १८२ जनामा डेंगी सङ्क्रमण देखिएको थियो।

पानी निरन्तर परेसँगै डेंगी फैलाउने लामखुट्टेको सङ्ख्या बढेकाले सङ्क्रमितको सङ्ख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन्।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार डेंगी बढेपछि वडा तहमा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको छ। लामखुट्टेको वासस्थान खोजेर नष्ट गर्ने अभियान हरेक शुक्रबार सञ्चालन भइरहेको छ। लामखुट्टेको लार्भा र वासस्थान हुने ग्यारेज, टायर, फूलदानीलगायत स्थानमा निगरानी बढाइएको छ।

डेंगी सङ्क्रमण बढेपछि धौलागिरि प्रादेशिक अस्पताल, बुर्तिबाङ र गलकोट अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको प्रदेश जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए।

सरकारी स्वास्थ्य संस्थामा परीक्षण गराएका बिरामीको मात्र तथ्याङ्क सङ्कलन गरिएको उनले बताए। निजी स्वास्थ्य संस्था र मेडिकलमा डेंगी परीक्षण भइरहेकाले वास्तविक सङ्क्रमितको सङ्ख्या अझ बढी हुनसक्ने अनुमान गरिएको छ।

डेंगी फैलाउने लामखुट्टेको सम्भावित वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने तथा पानी जम्न नदिने अभियानलाई तीव्रता दिइएको छ। समुदायमा सरसफाइ र लामखुट्टेको वासस्थान नष्ट गर्ने विषयमा जनचेतना फैलाउने कामसमेत भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

प्रकाशित: ९ भाद्र २०८३ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App