२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

इलाम अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

इलाम अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिँदै । तस्बिर : भीम/नागरिक

सदरमुकामस्थित इलाम अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण प्रदान गरिएको छ। लुथरन वर्ल्ड रेलिफले अस्पताललाई ६२ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य उपकरण आइतबार हस्तान्तरण गरेको हो।  

विशेषगरी कोभिड नियन्त्रणका लागि सघाउन अस्पताललाई उपकरण प्रदान गरिएको हो। लुथरनका नेपालस्थित कन्ट्री डाइरेक्टर किरण ओझाले अस्पताल प्रमुख तथा जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराललाई सदरमुकाममा उपकरण हस्तान्तरण गरे। लुथरनले भेन्टिलेटर २ थान, डेफिब्रिलेटर १ थान, ब्लड ग्याँस एन्ड केमेस्ट्री एनालाइजर २ थान, प्यासिएन्ट मोनिटर १ थान, थ्रि च्यानल इलेक्ट्रोकार्डाेग्राफ ५ थान, इन्फ्युजन पम्प १ थान, सक्सन मेसिन ३ थान प्रदान गरेको छ।  

यी उपकरण अस्ट्रियाको भियनास्थित एनेक्स कम्पनीबाट खरिद गरी ल्याइएको लुथरनले जनाएको छ। कन्ट्री डाइरेक्टर ओझाले सबै उपकरण उच्च गुणस्तरको भएको बताए। ‘नेपालमा यी उपकरण खरिद गर्दा दोब्बर खर्च हुने भएपनि ठीक यही गुणस्तरमा नआउने रहेछन्,’ उनले भने, ‘विदेशबाट ल्याउँदा आधा मूल्यमै उपकरण खरिद गर्न सकियो, सरकारले ५ लाख रुपैयाँभन्दा बढीको भन्सार शुल्कसमेत छुट गरेपछि उपकण ल्याउन अझ सहज भयो।’ उनले इलाम अस्पतालकै लागि जुटेको करिब १० लाख रुपैयाँको उपकरण प्रदान गर्न बाँकी नै रहेको बताए।  

लुथरनले नियमित कार्यक्रमअन्तर्गत नभई विशेष कोष संकलन गरेर इलामलाई सहयोग गरेको ओझाले बताए। ‘पूर्वी नेपालमा लुथरनको नियमित कार्यक्रम नभएका बेला हामीले इलाममा स्वास्थ्य उपकरण ल्याउन पहल गरेर सफल भयौं,’ गृहजिल्ला इलाम नै भएका कन्ट्री डाइरेक्टर ओझाले भने, ‘जसले यी सामग्रीका लागि पवित्र उद्देश्यले आर्थिक सहायता गर्नुभएको छ, उहाँहरूले चाहिँ नाम सार्वजनिक गर्न चाहनुभएन।’ 

इलाम अस्पतालमा यी महत्वपूर्ण उपकरण ल्याउन ओझासहित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङ, समाज कल्याण परिषद्का कोषाध्यक्ष लोकनाथ सुवेदी, जिसस प्रमुख बराल, सिडिओ ध्रुवबहादुर खड्का र अस्पताल व्यवस्थापक क्षितिज खतिवडालगायतले विशेष पहल गरेका थिए।

यी र यसअघि आएका उपकरणसमेत गर्दा इलाम अस्पताल स्रोत–साधनका हिसाबले धनी भएको छ। तर, भएकै सामग्री उपयोग गर्न जनशक्ति अभाव भइरहेका बेला यी उपकरणको सदुपयोग जटिल बन्दैछ। दक्ष जनशक्ति नहुँदा अहिले पनि कतिपय उपकरण थन्किएका छन्। अस्पताल प्रमुख बरालले जनशक्ति व्यवस्थापनका लागि लामो समयदेखि प्रयत्न गरेपनि सफल हुन नसकेको बताए। ‘अस्पताललाई उपकरण त जुटिरहेकै छ तर जनशक्ति व्यवस्थापन चुनौती बनेको छ,’ उनले भने, ‘अब दक्ष चिकित्सक ल्याउने हो भने इलामलगायत पूर्वीपहाडका नागरिक उपचारका लागि यहाँबाहेक अन्यन्त्र जानुपर्ने थिएन।’  

१ प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रामबहादुर रानाले इलामलाई पहाडी क्षेत्रको उत्कृष्ट अस्पताल बनाउनेतर्फ सबै एकजुट हुनुपर्ने बताए। ‘कोभिड संकटकै बेला पनि इलाम अस्पतालले उपकरण र सामग्रीमा राम्रो प्रगति गरेको छ,’ उनले भने, ‘अब यी उपकरण सदुपयोग गरी इलामबासीलाई घरदैलोमै सहुलियतको उपचार प्रदान गर्न जनशक्ति व्यवस्थापनमा लाग्नुपर्छ।’  

इलाम नगर प्रमुख महेश बस्नेतले इलाम अस्पतालको जनशक्ति व्यवस्थापनमा नगरले सहयोग गरिरहेको बताए। ‘अस्पतालका स्वास्थ्यकर्मीलाई सेवामा प्रोत्साहन गर्न नगरले विशेषज्ञ चिकित्सकलाई मासिक १५ हजार र चिकित्सकलाई ५ हजार रुपैयाँ प्रोत्साहन रकमसमेत थपिदिएको छ,’ उनले भने, ‘अस्पताललाई सम्पन्न बनाउन नगरपालिका सधैं प्रयत्नशील छ।’ अस्पतालको डाइलायसिस मेसिन सञ्चालनका लागि दक्ष जनशक्ति थप्न नगरले मासिक ५० हजार रुपैयाँ खर्च दिने उनले घोषणा पनि गरे। 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु साहले उपकरणले सम्पन्न हुँदै गरेको अस्पताललाई जनशक्ति नै मुख्य समस्या भएको बताए। ‘अहिले त कोभिडको चापका कारण तालिममा पठाउने डाक्टरसमेत छैनन्,’ उनले भने, ‘जनशक्ति भयो भने इलाममै राम्रो स्वास्थ्य सेवा पाइन्छ।’

प्रकाशित: २७ भाद्र २०७८ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App