१९ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

डाक्टरमाथि कालो मोसो दल्नेहरू समातिए

डाक्टर सिंहमाथि कालो मोसो दल्नेमाथि कारबाहीको माग गर्दै सोमबार घोराहीमा विरोधमा उत्रिएका स्वास्थ्यकर्मी । तस्बिर: नागरिक

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा. विनोद सिंहलाई कालो मोसो दल्ने युवाहरू पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त समुहका मुख्य व्यक्तिसँगै केही युवाहरूलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले घटना भएको चार दिनपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी प्रमुख, एसपी सुरेशप्रसाद काफ्लेले उक्त घटनामा संलग्न मुख्य व्यक्तिसहित केही युवाहरू पक्राउ परेको र उनीहरूमाथि अनुसन्धान भइरहेको जानकारी दिए। ‘कालो मोसो दल्ने मुख्य व्यक्तिसहित केही युवाहरूलाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘उनीहरूमाथि अनुसन्धान भइरहेको छ।’ उनले पत्रकार सम्मेलनमार्फत घटना र दोषीबारेमा सबै जानकारी गराइने समेत बताए। मुख्य दोषीसहितका युवाहरू नियन्त्रणमा आइनसकेको र उनीहरूलाई अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाइने एसपी काफ्लेले जानकारी दिए।

गत शुक्रबार दिउँसो मेसु डा. सिंहमाथि एमालेनिकट अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियारको समूहले कालोमोसो दलेको थियो। यसैबीच, डा. सिंहमाथि कालो मोसो दल्नेमाथि कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीले सोमबार पनि प्रदर्शन गरेका छन्। सयौंको संख्यामा रहेका उनीहरूले घोराहीमा विरोध र्‍याली निकालेका थिए। यसअघि आइतबार तुलसीपुरमा विरोध र्‍याली निकालेका थिए। उनीहरूले आइतबार र सोमबार जिल्लाका सरकारी तथा निजी अस्पतालमा इमरजेन्सी बाहेकका सबै उपचार सेवा बन्द गरेर आन्दोलन गरेका हुन्।  

प्रकाशित: १५ भाद्र २०७८ ००:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App