१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

शैक्षिक क्रियाकलापका लागि किशोर किशोरी लक्षित खोप ल्याउने तयारी: राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बन्द रहेको विद्यालयहरुमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्नका लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारीका लागि खोप ल्याउने गृहकार्य अगाडी बढाइएको बताएका छन्। बिहीवारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले लामो समयदेखि बन्दप्राय रहेका पठन पाठन लगायत शैक्षिक क्रियाकलापको निरन्तरको लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारी रहेकाे बताएका हुन्। 

उनले भने, ‘लामो समयदेखि बन्दप्राय रहेका पठन पाठन लगायत शैक्षिक क्रियाकलापको निरन्तरको लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारी छ यसको लागि किशोर किशोरी लक्षित खोप ल्याउने गृहकार्य अगाडी बढाइएको सम्मानीत सदनलाई जानकारी गराउन चाहान्छु।’

उनले असोज मशान्तसम्ममा थप १ करोड २ लाख खोप प्राप्त हुने बताएका छन्। हालसम्म १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा कोभिड १९ विरुद्धको खोप प्राप्त भएको जानकारी दिए। 

उनले असोज मशान्तसम्म १ करोड २ लाख प्राप्त हुने र माघ मशान्तसम्ममा ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुने बताए। त्यस्तै माघ महिनासम्ममा ५ करोड २३ लाख मात्रा उपलब्ध हुनेपनि उनले बताए। उनले भने, ‘हालसम्म प्राप्त भइसकेको १ करोड ८ लाख ६० हजार १ सय ७०, प्रक्रियामा रहेको खोप ३ करोड ३६ लाख ७१ हजार ९ सय ५०, जसमध्ये असोज मसान्तसम्म १ करोड २ लाख प्राप्त हुने, माघ मसान्तमा ३ करोड २३ लाख थप प्राप्त हुने, माघसम्म आपुर्ति हुने अनुमान ५ करोड २३ लाख डोज खोप उपलब्ध हुनेछ।’

राज्यमन्त्री श्रेष्ठले नेपाली जनतालाई कुल ५ करोड ५० लाख खोप आवश्यक रहेको उल्लेख गर्दै केपी ओली नेतृत्वको सरकारले ९७ लाख खोप प्राप्त गरी असार महिनाको अन्तिमसम्ममा ४२ लाख खोप जनतालाई उपलब्ध गराइएको बताए। उनले नयाँ सरकारले ७५ लाख खोप लगाएको पनि उल्लेख गरे। वर्तमान सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाखसम्म खोप लगाएको उनले जानकारी दिए।

उनले विगत एक हप्ताको आँकडा अनुसार कोभिड १९ संक्रमणदर बढेकोले सबैलाई जनस्वास्थ्यको मापदण्ड अपनाएर सुरक्षित हुन अपिल गर्नुभयो। राज्यमन्त्री श्रेष्ठले हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु १९ पुगेको जानकारी दिए। आगामी पाँच महिनामा थप अनुमानित १ लाख ९३ हजार  संक्रमित हुने करिब ३८ हजारलाई अस्पताल भर्ना आवश्यक पर्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्ने प्रक्षेपण मन्त्रालयले गरेको उनले उल्लेख गरे।  

उनले सरकारले नागरिकको जीवन रक्षा, महामारी नियन्त्रण, रोकथाम, उपचार र खोप निशुल्क व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको बताए। खोप आयात, भण्डारण, वितरण गरी नेपाली जनताको जीवन रक्षाको जिम्मेवारीलाई सरकारले पुरा गरिरहेको उनले बताए। राज्यमन्त्री श्रेष्ठले जनस्वास्थ्यको मापदण्ड पालना गर्न सम्पूर्ण नेपाली जनतालाई अनुरोध पनि गरे। 

प्रकाशित: २८ श्रावण २०७८ १०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App