१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मास्क बाँड्दै सडकमा जुम्लाका सिडिओ

जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बिजयाकुमारी प्रसाई मास्क बाड्ँदै सडकमा निस्किएकी छिन्। उनी कोरोना भाइरसको तेस्रो भरियन्टबाट बच्न र बचाउन अपिल गर्दै मास्क लिएर सडकमा निस्किएकी हुन्। उनी संगै चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटा,नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापा, नागरिक समाजका अध्यक्ष राजबहादुर महत लगायतका सुरक्षाकर्मीको टोली सडकमा निस्किएको थियो।  

सडकमा मास्क नलगाएका सबैलाई मास्क प्रदान गरिएको थियो। कोरोना भाइरसको तेस्रो भेरयन्ट भित्रिन नदिनको लागि उच्च सावधानी अपनाउनको लागि माइकिङ मार्फत अनुरोध गरिएको थियो। मास्क दिदै प्रमुख जिल्ला अधिकारी प्रसाईले भनिन्,‘नियमित मास्कको प्रयोग गर्नुहोला। आफु बचेर बालबालिकालाई बचाउनु होला। यो भेरियन्ट निकै खतरानाक छ। स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुहोला। ’

कोभिड १९ संकट व्यवस्थापन समितिको संयोजक समेत रहेकी प्रमुख जिल्ला अधिकारी प्रसाइँले यो भेरियन्टले बालबालिका प्रभावित भएकोले नियमित बालबालिकाको रेखदेख,सरसफाई र नियमित निगरानी गर्न सुझाव दिइन्। जिल्ला प्रशासन कार्यालय जुम्लादेखि सुरु भएको मास्क बाँड्ने काम कालेखोली, बसपार्क, टुडिखेल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हुदै जिल्ला प्रशासन कार्यालय जुम्ला नजिकै पुगेर सकिएको थियो।  

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले कोरोना भाइरसको तेस्रो भेरियन्ट लाग्न नदिनको लागि उच्च सावधानी अपनाउन नगरबासीलाई आग्रह गरिन्। उनले भनिन्,‘कोरोना भाइरस एक जनाका व्यक्तिको समस्या होइन। सामूहिक समस्या हो। यो समस्य निराकरण गर्न सामूहिक एकता र प्रतिबद्धताको खाँचो छ। सबै मिलौँ। कोरोना भाइरस भगाऔँ। बालबालिका जोगाऔँ।’

नन्दाबक्स गणका गणपति रविन थापाले कोरोना संक्रमण रोक्न सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए। उनले भने,‘कोरोना भाइरसका बारेमा सबै सचेत हुनुपर्छ। सचेतना फैलाउनु पर्छ। कोरोना भाइरसबाट हुन सक्ने क्षति कम गर्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्छ।’ उनले नेपाली सेना कोरोना संक्रमणबाट बच्न बचाउनको लागि सचेतनाका क्रियाकलाप गर्दै हरेक सुखदुखमा साथ दिदै आएको बताए।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले हरेक नागरिकले मास्क अनिवार्य लगाउनु पर्नेमा जोड दिए। उनले भने,‘यो एउटा प्रशासन र नगरपालिकाको मात्र समस्या होइन। सामुहिक समस्या हो। सबै मिलेर अघि बढ्नुपर्छ। कोरोना भाइरस बारेमा सचेतना फैलाउन नागरिक समाज तयार छ।' उनले जुम्लामा मास्क नलगाउने,सामाजिक तथा व्यक्तिगत दुरी कायम नगर्ने परिपार्टीको विकास भइरहेको बताउँदै स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यन्वयनमा कडाइ गर्नुपर्ने बताए। 

नेपाल पत्रकार महासंघ शाखा जुम्ला, उद्योग बाणिज्य संघ जुम्ला लगायत कर्मचारी मिलन केन्द्रले कोरोनाबाट बच्न मास्क अभियानलाई एक्यबद्धता जनाएका छन्। प्रमुख जिल्ला अधिकारी प्रसाईले उद्योग बाणिज्य संघलाई तत्काल सामाजिक दुरी कायम गरेर मात्र व्यापार व्यवसाय गर्ने बातावरण सिर्जना गर्न आग्रह गरिन्।

प्रमुख जिल्ला अधिकारी मास्क बोकेर सडकमा निस्कदा स्थानीय दंग थिए। उनीहरुले नियमित मास्कको प्रयोग गर्ने प्रतिबद्धता जनाए। सडकमा निस्किका व्यक्ति देखि सडक सवारीमा यात्रा गरिरहेका यात्रु,चालक,व्यापार व्यवसायी सबैलाई मास्क दिइएको थियो। आफु बचाऔँ,अरुलाई पनि बचाऔँ जस्ता नारा लेखिएको प्लेकार्ड सहित प्रमुख जिल्ला अधिकारी प्रसाई नेतृत्वको टोली सडकमा निस्किएको हो।  

प्रकाशित: २७ श्रावण २०७८ ०६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App