२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा कोरोनाको तेस्रो भेरियन्ट विरुद्धको पूर्व तयारी सुरू

कोरोनाको तेस्रो भरियन्टविरुद्ध प्रदेश सरकारले पूर्व तयारी थालेको छ। सामाजिक विकास मन्त्री उषाकला राईले आइतबारको प्रदेशसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रदेश १ को सरकारले कोरोनाको संभावित तेस्रो भेरियन्टको पूर्व तयारी सुरू गरिसकेको जानकारी दिएकी हुन्।

मन्त्री राईले अस्पतालको व्यवस्थापनदेखि चिकित्सक, स्वास्थ्यकर्मी र अरू कर्मचारीको व्यवस्थापनमा समेत सरकारले ध्यानकेन्द्रित गरेको बताइन्। संभावित तेस्रो भेरियन्टको नयाँ तरीकाले व्यवस्थापन गर्ने तयारी सरकारले गरिरहेको उनको दाबी छ । ‘सरकारको पहिलो प्राथमिकता जनताको जीउ, ज्यान जोगाउनु रहेकाले त्यही लक्ष्यअनुरुप कोरोनाको संभावित तेस्रो भेरियन्टविरुद्ध पूर्व तयारी थालिसकेका छौं।’ प्रदेश सरकारले जिल्ला अस्पताललाई थप सुविधासम्पन्न बनाई प्रदेशका सबै जिल्लामा कोरोनाको उपचार गर्ने व्यवस्था मिलाएको राईले जानकारी दिइन्।  

अस्पताल सुव्यवस्थित बनाउन मन्त्रालय लागेको, अक्सिजन प्लन्ट अनिवार्य  गरिएकाले अस्पतालहरूमा प्लान्ट जडान थालेको, एचडीयू, आईसीयू र भेन्टिलेटर चलाउनेसम्मको जनशक्ति वृद्धि गर्न गइरहेको उनले बताइन्। मन्त्री राईका अनुसार प्रदेशका हरेक अस्पतलमा दुई मेडिकल चिकित्सक, दुई विशेषज्ञ चिकित्सकको व्यवस्थापन हुने र को कहाँ जाने भन्ने तय हुँदै गरेको छ।

स्वास्थ्यकर्मीहरूको तलबभत्ता वृद्धि गरिएको, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बुजस्ता हिमाली जिल्लामा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई ३०० प्रतिशत तलब भत्ताको व्यवस्था गरिएको, पहाडी जिल्लामा २५० र तराईमा २०० प्रतिशत भत्ता दिने व्यवस्था गरिएको उनले जानकारी दिइन्।

मन्त्री राईले अस्पताललाई उच्च प्रविधियुक्त बनाउन ४० लाखका दरले बजेट विनियोजन गरेको, संक्रमणले मृत्यु हुनेको शव राख्न मर्चरी हाउसको व्यवस्था गरिएको, शवलाई सदगत गर्न शववाहन र बिरामी ओसार्न ‘ख’ वर्गको एम्बुलेन्स तत्कालै उपलब्ध गराउने व्यवस्था गरिएको छ। मन्त्री राईले प्रदेश–१ मा खोप अभियानसमेत तीव्र गतिमा सञ्चालन भइरहेको, केन्द्रबाट खोप जिल्ला तोकेर आउने गरेको र सोहीमार्फत स्थानीय तहहरुमा वितरण हुने भएकाले खोप लुकाइएको र अनियमितता गरिएको आरोप गलत भएको मन्त्री राईले दाबी गरिन्।

प्रकाशित: २४ श्रावण २०७८ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App