१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोभिड मोर्चाका कमाण्डर डा. प्रबिण

बाँकेका २३ वर्षिय एक जना लक्का जवान कोभिडका कारण भेरी अस्पतालको शैयामा छटपटाइरहेका थिए। उनी न बोल्न सक्थे, नत सास फेर्न सक्थे। तर परिवारजन काठमाण्डौँको मेडिसिटी अस्पताल लैजानको लागि हेलिकप्टर चार्टरको पहल थालिरहेका थिए। हेलिकप्टरको टुंगो नलाग्दै युवाको मृत्यु भयो। त्यो दृश्य कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सक डा. प्रबिण गिरीको मानसपटलमा ताजै छ। कोभिडको नाम सुन्ने बित्तिकै उनी त्यो युवाको छट्पटीलाई झलझल्ती सम्झन्छन्। त्यो घटना उनको कहिले नमेटिने घाउ बनेर बसिरहेको छ। आखिर पैसा छ,पहुँच छ तर बिरामी छटपटिएर मरिरहेका छन्। उनले भने,‘सावधानी नै महत्वपुर्ण काम रहेछ। ’

उनी आफैँ उपचारमा संलग्न छन्। उनलाई बचाउनको लागि हरप्रयास गरिरहेका छन्। तर ती युवालाई बचाउन गरिएको सबै प्रयास असफल भएपछि उनी निकै निराश बने। उनले भने,‘कोभिडको त्यो घटना जीवनमा कहिल्यै नमेटिने गरेर मगजमा बसेको छ। अब यस्तो घटना नदोहोरिन नपरोस्।’

नेपालगंजको भेरी अस्पतालमा कोभिड बिरामीको भीडभाड थियो। बिरामी राख्ने बेड पाउँदैनथ्यो। दैनिक मृत्यु हुनेको संख्या बढिरहेको थियो। कोभिडको बिरामी उपचार गर्न सकस भएपछि भेरी अञ्चल अस्पताल नेपालगंजले सरकारलाई चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली थप्नको लागि गुहार गर्‍याे। सरकारले तत्काल जेठ १८ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको केही दक्ष जनशक्ति नेपालगंज पठाउन भन्यो। सरकारले भनेको २४ घण्टा नबित्दै जेठ १९ गते कर्णाली प्रतिष्ठानले ६ जनाको टोली पठायो।  त्यो टोलीको कमाण्डर थिए, डा. प्रबिण गिरी। उनको टोली इमरजेन्सी मेडिकल डेप्लोमेण्ट टिमका रुपमा भेरी अस्पतालमा खटियो। प्रकोप भएको ठाउँमा छोटो समयमा परिचालन हुन गठित यो टिम जुम्लादेखि नेपालगंज विमानस्थलमा झरेर सिधै अस्पतालमा पुग्यो। बिरामीको उपचारमा जुट्यो।’

डा. गिरीलाई आफ्नो टोलीको व्यवस्थापन रेखदेख र बिरामीको प्रभावकारी उपचारको चिन्ता हुन्थ्यो । पटक पटक टोलीलाई हौस्याँइरहन्थे। टोलीका सदस्यको पनि डा. गिरीलाई राम्रै साथ मिल्यो। जुन कामको लागि टोली खटिएको थियो। दत्तचित्त भएर लागेको थियो। डा. गिरी टोलीका अन्य सदस्यको उर्जा थिए। बिरामीका भरोसा थिए। भेरीअस्पतालका आशा लाग्दा चिकित्सक पनि।  

नेपालगंजको अवस्था भयाभह थियो। टोलीले सजक भएर काम गर्नुपर्ने चुनौती थियो। एक टोली कमाण्डर भएकोले टोलीको रेखदेख र संरक्षण गर्ने जिम्मेवारी डा. प्रबिणको थियो। डा. गिरीले भने,‘संकटको बेला आफ्नो कर्तव्य निभाउनु असल सेवकको काम हो। त्यो काम पुरा गर्ने जिम्मेवारी थियो। जिम्मेवारी पुरा गर्न कुनै कन्जुस्याइँ भएन। ’

दैनिक २५ देखि ३० जना सम्म कोभिडका बिरामीको मृत्यु हुन्थ्यो। अस्पतालभरि बिरामी थिए। गल्ली, र सडकमै भरिभराउ। अक्सिजनको चरम अभाव थियो। एकै पल्ट धेरै बिरामी आउँदा म्यानेज गर्न पनि उत्तिकै कठिन थियो। आफैँ चिकित्सक भएर बिरामीको उपचार गरीरहेको हुन्थेँ। डा. गिरीले भने,‘आफू चिकित्सक भएर पनि केही गर्न नसकेजस्तो अनुभूति हुन्थ्यो। ज्यान बचाउन गाह्रो भएजस्तो हुन्थ्यो। बिरामीको छटपटिले मन कटक्क हुन्थ्यो। आफन्तको चिच्याहटले भावविह्वल बनाउँथ्यो। संकटमा पनि बिरामीको उपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीको कामले सेवाभाव पलाउँथ्यो। ’

चिकित्सकले गर्ने उपचार त भइरहेको थियो। त्यो भन्दा बढी समस्या उपचार गर्ने उपकरण रअक्सिजनको थियो। कोभिडको बेला प्राणको रुपमा रहेको अक्सिजन  नहुँदा बिरामीलाई उपचार गर्न निकै सकस हुन्थ्यो। कैयन बिरामी अक्सिज अभावका कारणले गर्दा मृत्यु हुनु परेको घटनाले अहिले पनि मन कुडिन्छ।    

बिरामी आँखै अगाडि छटपटाउदा मन छटपटिन्थ्यो। कोभिडका नयाँ बिरामीलाई बेड उपलब्ध गराउन कि बिरामी मरेको हुनु पर्ने कि त बिरामी निको भएर घर गएको हुनुपर्ने हुन्थ्यो। धेरै बिरामीको त भुइमै उपचार भयो। डा. गिरीले भने,‘कोभिडलाई खेलाँची गर्दाको परिणाम हो। ’एक बेड खाली हुँदा बिरामीका कुरुवाबीच विवाद हुन्थ्यो। यो सबै दृश्य हेर्दा चाहदाचाहदै पनि केही गर्न नसकेको जस्तै लाग्थ्यो। बिरामीको छटपटाहट र आफन्तको चिच्याहटले मनभित्र शान्ति थिएन।  

यो एक प्रकारको युद्ध थियो। चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली सेनाका रुपमा खटिएका थिए,उनले भने,‘ज्यान जोखिममा राखेर पनि बिरामीको मृत्यु हुँदाको पीडा सायद जीवनमा विसर्न सकिने छैन। ’अस्पतालमा भीड नियन्त्रण गर्न गाह्रो थियो। एउटै बिरामीका धेरै कुरुवा आउँथे। निको भएका बिरामी घर जान मान्दैनन्थेँ। आफ्नो नजिकैको बिरामी आएपछि मात्र बेड छोड्थे। जसरी पनि बिरामी बचाइदिनु पर्‍याे भन्दै हारगुहार सुनिन्थ्यो। तर एक छेउबाट बिरामी हेर्दै जाँदा अर्को छेउको बिरामीले प्राण त्याग गरिसकेको हुन्थ्यो। एउटा चिकत्सकको लागि यो भन्दा पीडाको कुरा के हुन सक्छ ? 

कम अक्सिजन धेरै बिरामीलाई लगाउदा लोड धान्न मुस्किल हुन्थ्यो। अस्पतालमा १ सय ५० जना बिरामी अटाउँथे भने झण्डै ३ सय भन्दा बढी बिरामी भर्ना गरिएको हुन्थ्यो। कोभिड सँगको यो लडाईँ चानचुने पक्कै थिएन। तर यो लडाइँको अग्रमोर्चामा खटिएर काम गर्न पाउँदा निकै खुसी छु,उनले भने,‘बिरामीको उपचार गर्दागर्दै मृत्यु हुँदा नराम्रो लाग्थ्यो। तर यो कठिन अवस्थामा पनि बिरामीको वरिपरि रहेर सेवा गर्न पाउँदा निकै गर्वानुभूति हुन्थ्यो। ’

जुम्लाबाट टोली खटाउँदा धेरैले जान मान्न। कसैले पारिवारिक समस्या दर्शाए। कसैले विभिन्न बहानाबाजी अपनाए। तर डा. प्रबिण गिरी गर्वका साथ खटिन मञ्जुर भए। उनले भने,‘जोखिमपूर्ण परिस्थितिमा आफ्नो दक्षता प्रर्दशन गर्न पाउनु अवसर थियो। संकट परेको बेला सेवा गर्नुपर्छ भन्ने थियो। यो आफ्नो कर्तव्यको पाटो पनि हो। त्यो कर्तव्य पुरा गर्ने सौभाग्य मिल्यो म निकै खुसी छु। ’जुम्लाको टिम नेपालगन्ज पुग्दा भेरी अस्पतालका चिकित्सक स्वास्थ्यकर्मीलाई उर्जा मिल्यो।  जुम्लाको टिम प्रति ठूलो भरोसा थियो। निकै आनन्दअनुभुति गरेको जस्तो, चौतारीमा भारी बिसाएको जस्तो अनुभव भयो।  

बिरामीलाई भेन्टिलेटरमा राख्न मान्दैनथ्ये। भेन्टिलेटरमा राखिएको बिरामी घर फर्कदैन भन्ने भ्रम थियो। बिरामीको संख्या अत्याधिक हुँदा डक्टरले भन्दा पनि कुरुवाले उपचार गर्नु पर्ने बाध्यता थियो। डा. गिरी कोभिड आइसियुमा खटिएका थिए। उनी एनएसथेसियाजोजिष्ट र कृटिकल स्पेशलिष्ट हुन।  

बिरामीका कुरुवाले गएको एक हप्ता पछि जुम्लाबाट खटिएका डक्टर खोज्न थाले। यहाँको टिम प्रति विश्वास बढ्न थाल्यो। पहिले टाढैबाट उपचार गर्ने र परामर्श दिने गरिएको थियो। यहाँबाट गएको टोलीले भित्रै बोलाएर बिरामीलाई परामर्श दिन थाल्यो। औषधिउपचार नजिकै बसेर गर्न थाल्यो। बिरामीको नजिकै बस्दा उर्जा जाग्दो रहेछ। एक पटक कोभिड आइसियुमा नदेखेको अवस्थामा डा. प्रबिण गिरीको खोजि भइहाल्थ्यो। डक्टर देख्ने वित्तिकै बिरामीको उर्जा थपिन थालेको थियो। छोटो समयमै बाँकेबासीको मनमुटुमा बस्न सफल भइसकेको थियो।  

भरोसा जाग्थ्यो। संकटको समयमा जति तयारी गरेपनि पुग्ने अवस्था थिएन। भेरी अस्पताल र कर्णाली अस्पतालका चिकित्सक बीच राम्रो सम्बन्ध थियो। दोस्रो लहरको कोभिड नियन्त्रणमा आएपछि जुम्लाको टोली फर्कियो। पाँच जना एक महिनामै फर्किए। डा. गिरी अस्पतालको आग्रहमा थप एक महिना बसे। एकआपसमा हुने प्रभावकारी समन्वयले कोभिड नियन्त्रणमा लिन सकिएको अनुभव डा. गिरीको छ।  

जुम्ला देखि डा. गिरी सँगै डा. हरि न्यौपाने,डा. अरुण श्रेष्ठ,स्टाफ नर्स तेन्जी लामा,सुस्मिता खड्का र एचए नरेन्द्र शर्मा खटिएका थिए। बाँकेका गाउँपालिका तथा नगरपालिकाले स्वास्थ्यकर्मी र चिकित्सकको प्रबन्ध गरेपछि जुम्लाको टोली फर्किएको थियो।  

जुम्लाको टोलीले देखाएको धैर्यता, साहस र उत्प्रेरणाले बाँकेबासीको मन जित्यो। डा. गिरी अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियु हेरिरहेका छन्। कहिले आवश्यक परेको बेला कोभिड आइसियुमा पनि खटिने गरेका छन्। संकटको बेलाका उनी सारथी हुन्। उनी २०७१ साल देखि नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत छन्। डा. गिरी चिकित्सक तथा स्वास्थ्यकर्मीका असल कमाण्डर हुन्। बिरामीका भरोसा हुन्। सिंगो कर्णालीका आशाको पुञ्ज हुन्। संकटपुर्ण अवस्थामा पनि जोखिम मोलेर खटिन सक्ने एक साहसिक विशेषज्ञ चिकित्सक हुन्।

प्रकाशित: २० श्रावण २०७८ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App