८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

मनाङ र मुस्ताङका १८ वर्ष माथिका सबै नागरिकलाई खोप

कोभिशिल्ड नआउँदा थोरै संख्याका नागरिकले दोश्रो डोज पुरा गर्न पाएनन्

हिमाली जिल्ला मनाङका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइँदै । तस्बिरः नागरिक

हिमाली जिल्ला मनाङ र मुस्ताङले १८ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाएका छन् । कोभिशिल्डको दोश्रो डोजको खोप थोरै संख्याका नागरिकलाई मात्र लगाउन बाँकी रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले बताएका छन् । कोभिशिल्ड खोप अभावमा थोरै संख्याका नागरिकले मात्र खोपको मात्रा पुरा गर्न नपाएको स्वास्थ्य कार्यालयको भनाई छ ।  

जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यका अनुसार मनाङमा १८ वर्ष उमेर माथिका नागरिकको संख्या ४५ सय अनुमान गरिएको थियो । तर, अहिलेसम्म १८ वर्ष माथिका ४१ सय ९८ जनाले खोप लगाएका छन् । ती मध्ये १६५ जनाले मात्र कोभिशिल्डको दोश्रो खोप पाएका छैनन । अरु सबैले खोपको मात्रा पुरा गरेको आचार्यले जानकारी दिए । ४ हजार ३३ जनाले पूर्ण खोप पाएका छन् ।  

आचार्यका अनुसार कोभिशिल्डको पहिलो डोज खोप लगाएका नागरिकको संख्या २०९६ छ । कोभिशिल्डको दोश्रो डोज पुरा गर्ने १९ सय ३१ जना छन् । १६५ जनाले मात्र दोश्रो डोज पुरा गर्न बाँकी छ । भेरोसेलको दुवै डोज पुरा गर्नेको संख्या ७५ रहेको छ । त्यस्तै जानसेनको खोप लगाउनेको संख्या २०२७ रहेको आचार्यले जानकारी दिए ।  

‘हिमाली जिल्ला मनाङमा १८ वर्ष उमेर समुह माथिका नागरिकको संख्या ४५ सय अनुमान थियो । तर, ४१ सय ९८ जनाले लगाएका छन,’ आचार्यले भने, ‘कोभिशिल्ड अभावमा १६५ जनाले पूर्ण खोप लगाउन बाँकी छ । खोप नै नभएकोले उनीहरुले दोश्रो डोज पुरा गर्न नपाएका हुन् ।’ पहिलो खोप लगाएको अवधि पुरा नहुँदा दोश्रो डोज लगाउन ती नागरिक छुटेको उनले बताए । ४५ सयले खोप लगाउनुपर्ने अनुमान भएपनि बाढीपहिरोको कारणले केही जिल्लाबाहिर गएको अनुमान रहेको आचार्यले बताए ।  

‘बाढीपहिरो आएपछि जिल्लाका कतिपय नागरिक पोखरा, काठमाडौं लगायतका सहरमा झरेका छन । त्यसैले गर्दा पनि अनुमान गरे जतिले लगाएनन,’ उनले भने । हिमाली जिल्लाका नागरिक बिरामी परिहालेको खण्डमा तत्कालै उपचार गर्न जान नपाउने अवस्था भएकोले पनि दुवै डोजको खोप पुरा गर्नमा आफुहरुले प्राथमिकता दिएको उनले बताए । असार पहिलो सातापछिको बाढी पहिरोले एकअर्का गाउँबीचको आउजाउ रोकिँदाको बाबजुत पनि खोप अभियान पुरा गरेको उनले बताए । ‘खोप जोगाउन समेत हम्मेहम्मे भएको थियो । बाढीपहिरो पछि त गाउँमा खोप पु¥याउन पनि सकस भयो,’ उनले भने, ‘कहिले हेलिकप्टर त कहिले बोकेर गाउँमा खोप पु¥याउन सकियो ।’

अर्काे हिमाली जिल्ला मुस्ताङले पनि १८ वर्ष उमेर माथिका सबै नागरिकका लागि खोप पुरा गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीका अनुसार मुस्ताङका ९ हजार ५ सय ८ जनाले खोप लगाएका छन् । ९३ सयलाई खोप दिनुपर्ने अनुमान भएपनि जिल्लामा कर्मचारी, सुरक्षाकर्मी, व्यवसायीलाई समेत लगाउँदा ९ हजार ५ सय ८ जना पुगेको भण्डारीले बताए ।  

भण्डारीका अनुसार मुस्ताङमा कोभिशिल्डको दोश्रो डोज लगाउन बाँकी ७० जना रहेका छन् । कोभिशिल्डको दुवै मात्रा पुरा गर्नेको संख्या २४ सय ७२ जना रहेको उनले बताए । भेरोसेलको दुवै डोज लगाउनेको संख्या ३२१ रहेको थियो । जानसेनको खोप लगाउनेको संख्या ६ हजार ७ सय १५ रहेको भण्डारीले बताए ।

 ‘अहिलेसम्म ९ हजार ५ सय ८ जनाले खोप पुरा गरेका छन । ७० जना मात्र कोभिशिल्डको दोश्रो डोज पुरा गर्न बाँकी रहेका छन,’ भण्डारीले भने, ‘कोभिशिल्डको खोप नभएकोले उनीहरुले पुरा गर्न नपाएका हुन् । खोप आएपछि उनीहरुलाई लगाउने हो ।’

भण्डारीका अनुसार हिमाली जिल्लामा ५५ वर्ष उमेर माथिको समुहलाई लगाउने भनेर पहिलो चरणमा कोभिशिल्ड पठाएकोमा अनुमान भन्दा कम संख्यामा खोप लगाउने मान्छे भएपछि दोश्रो डोजका लागि पनि पुगेको थियो । दोश्रो डोज पुरा गर्न बाँकी रहेका ती नागरिकले पहिलो डोज नै ढिला गरि लगाउँदा अपुरो भएको उनले बताए । हिमाली जिल्लामा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निकै नै समस्या भएको समेत उनले बताए । ‘बाढी पहिरोको बाबजुत गाउँगाउँमा खोप पु¥याउन सफल भयौ,’ उनले भने, ‘कोभिशिल्डको खोप आउनासाथ बाँकी नागरिकलाई पनि लगाउँछौ ।’

सानो आकारको जनसंख्या र टाढाको बस्ती भएको हुनाले पनि हिमाली जिल्लाका नागरिकलाई खोपमा पहिलो प्राथमिकता दिइएको थियो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ५ लाख २३ हजार ३ सय २० जनाले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् । ती मध्ये १ लाख ७७ हजार ११ जनाले खोपको मात्रा पुरा गरेका छन् । 

प्रकाशित: १९ श्रावण २०७८ ०९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App