१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

वीपीमा असार १५ गतेको मदिरा काण्ड: कार्यदलले मगायो सिसिटिभी फुटेज

वीपी प्रतिष्ठानमा असार १५ गतेको सिसिटिभी फुटेज हेरिँदै । तस्बिर : रोहित राई

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबारे अध्ययन तथा छानबिन गर्न गठित उच्चस्तरीय कार्यदलले गत असार १५ गते वार्ताको क्रममा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले मदिरा पिएर आएको आरोपबारे पनि छानबिन सुरु गरेको छ।

आन्दोलनरत संघर्ष समितिले उक्त घटनाबारे सत्यतथ्य छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग प्रमुखताका साथ उठाएको थियो। संघर्ष समितिको माग बमोजिम छानबिन थालेको उच्चस्तरीय कार्यदलले प्रतिष्ठानसँग गत असार १५ गतेको सिसिटिभी फुटेज मगाएको छ। प्रतिष्ठानमा हाल देखिएका समस्याहरु पहिचान गरी समस्या समाधानको लागि गठित कार्यदललाई वार्ताको क्रममा असार १५ गते घटेको घटनाको सिसिटिभी फुटेज आवश्यक परेकोले उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रतिष्ठानलाई पत्राचार गरेको छ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सिसिटिभी फुटेज माग गरेपछि आइतबार दिउँसो आन्दोलनकारी पक्षको रोहबरमा उपकुलपति र रेक्टर कार्यालयको ताला खोलेर सिसिटिभी फुटेज हेरिएको थियो। दुवै कार्यालयमा आन्दोलनकारीले असार १६ गते लगाएको ताला अझै खोलिएको छैन। उपकुलपतिले असार १५ गते वार्ताको क्रममा मदिरा सेवन गरेर आएको र अन्य पदाधिकारीहरु पनि जिम्मेवार रहेको भन्दै संघर्ष समितिले चारै जना पदाधिकारीको राजीनामा माग गर्दै कार्यकक्षमा भोलिपल्ट तालाबन्दी गरेका थिए।  

आइतबार प्रतिष्ठान प्रशासन, नेपाल प्रहरी, आन्दोलनरत संयुक्त संघर्ष समितिका चिकित्सक, विद्यार्थी र कर्मचारी प्रतिनिधिहरुको उपस्थितिमा उपकुलपति र रेक्टर कार्यालयको सिसिटिभी फुटेज हेरिएको थियो। दुवै कार्यालयमा असार १५ अर्थात जुन १५ तारिखको फुटेज नभेटिए पछि सोही अनुसारको मुचुल्का गरिएको थियो। संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले घटनाको दिनको फुटेज समयमा नै हेर्न ढिलाई गर्दा अहिले मेटिसकेको बताए।  

उनका अनुसार दुवै कार्यालयमा रहेको सिसिटिभको फुटेज २१ दिनसम्मको मात्र स्टोर रहने क्षमता भएकोले हाल उक्त घटनाको दिनको फुटेज नभेटिएको हो। ‘भिसि कार्यालयमा जुलाई ४ देखि यताको मात्र फुटेज पाइयो। रेक्टर कार्यालयमा २ तारिखदेखिको भेटियो। हामीले खोजेको जुन २१ तारिखको फुटेज मेटिइसकेको रहेछ,’ डा.पोखरेलले भने।

सिसिटिभी फुटेज पनि फेला नपरेपछि उपकुलपति डा.गिरीले मदिरा सेवन गरेको आरोप प्रमाणित नहुने देखिएको छ। घटनाको दिन राती अबेरसम्म आन्दोलनकारीले मेडिकल जाँच गर्नुपर्ने भन्दै उपकुलपति कार्यालय घेराउ गरेका थिए। तर, जनपथ र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गर्दै प्रशासनले आन्दोलनकारीको माग अनुसार मापसे जाँच गर्न दिइएको थिएन।  

प्रतिष्ठानमा बेथिती र आर्थिक अनियमितता बढेको भन्दै शुद्धिकरणको माग लिएर चिकित्सक, विद्यार्थी, कर्मचारी तथा नर्सहरुले असार १ गतेदेखि आन्दोलन जारी राखेका छन्। आन्दोलन चर्कदै गएपछि प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव डा.वैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरेका थिए। उक्त कार्यादल प्रतिष्ठन आएर २ दिन आवश्यक कागजपत्र अध्ययन एवं सरोकारवाला विभिन्न पक्षसँग छलफल गरेर फर्किसकेको छ। 

कार्यदलले १५ दिनभित्र कुलपति एवं प्रधानमन्त्रीलाई अध्ययन तथा छानबिन प्रतिवेदन बुझाउन समय दिइएको छ। कार्यदलको प्रतिवेदन कार्यान्वयन नभएसम्म आन्दोलन र तालाबन्दी जारी राख्ने संघर्ष समितिले जनाएको छ। आन्दोलनकारीले अहिले पनि हरेक दिन बिहान ८ देखि १० बजेसम्म प्रतिष्ठानको उपकुलपति कार्यालय अघि धर्ना र साँझ ७ देखि ८ बजेसम्म जिओपिडी अघि दिप प्रज्वलन कार्य जारी राखेका छन्।  

सिसिटिभी फुटेज उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पठाएको पत्र । तस्बिर : रोहित राई

प्रकाशित: १० श्रावण २०७८ १४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App