१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठानमा आन्दोलनरत जुनियर रेजिडेन्टहरु नियमित काममा फर्किए

 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुखले एक डाक्टरलाई गालीगलौज तथा अभद्र व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएका जुनियर रेजिडेन्टहरु नियमित काममा फर्किएका छन्।घटनाबारे प्रतिष्ठानले छानबिन समिति गठन गरेर कारबाही गर्ने साथै आरोपित लेखा प्रमुख कमल रायमाझीले माफी मागेर भविष्यमा यस्तो घटना नदोहोर्‍याउने प्रतिवद्धता जनाउनेलगायत बिषयमा सहमति भएपछि जुनियर रेजिडेन्टहरु काममा फर्किएका हुन्।

घटनाको विरोधमा जुनियर रेजिडेन्टहरुले कोभिड अस्पताल र इर्मजेन्सी सेवाबाहेक अन्य सम्पुर्ण सेवा बहिष्कार गरेपछि उपचार सेवा प्रभावित भएको थियो। संयुक्त संघर्ष समितिको आन्दोलनबाहेक जुनियर रेजिडेन्टहरुले सेवा बहिष्कारको थप आन्दोलन चर्काएपछि प्रतिष्ठान पदाधिकारीहरुले जे.आर.हरुसँग वार्ता थालेका थिए।

प्रतिष्ठान पदाधिकारी र जुनियर रेजिडेन्ट (जेआर), कर्मचारी प्रतिनिधिहरुबीच बुधबार र बिहिबार निरन्तर वार्ता भएको थियो। हिजो बिहिबार बिहान ९ बजेदेखि विभिन्न चरणमा भएको वार्ता राती ९ बजेतिर मात्र निष्कर्षमा पुगेको थियो। उक्त वार्तामा संलग्न भएको पदाधिकारीहरु, कर्मचारी र जुनियर रेजिडेन्टहरु लेखा प्रमुख रायमाझीले गल्ती गरेको र कारबाही हुनुपर्ने निष्कर्ष निकालिएको जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले जनाएको छ।  

वार्तामा रायमाझीले लिखित माफी माग्ने, भविष्यमा यस्ता कार्य नदोहोर्याउने प्रतिवद्धता गर्ने, प्रतिष्ठान प्रशासनले पनि यस्तो कार्य घटना नदोहोरिने वातावरण सुनिश्चित गर्ने, दोषीलाई प्रतिष्ठानले स्पष्टीकरण सोध्ने र नियम अनुसार आन्तरिक कारबाही गर्ने सहमति भएको जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले जनाएको छ। यो सहमति पछि सोसाइटीका अध्यक्ष डा.राजेन्द्र घिमिरे, उपाध्यक्ष डा.पदम नेपाली र सचिव डा.गणेश फुलाराले संयुक्त विज्ञप्तीमार्फत आज शुक्रबारदेखि जुनियर रेजिडेन्टहरु नियमित काममा फर्किएको जनाएका छन्। उनीहरुले सहमति पालना नभएमा र रायमाझीलाई कारबाही नभए सशक्त आन्दोलन गर्ने पनि चेतावनी दिइएको छ।  

लेखा प्रमुख रायमाझीले अभद्र व्यवहार गरेको भन्दै डा.कार्कीले ईलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका थिए। उनको जाहेरी दर्ता भइसकेको छ। प्रहरीमा जाहेरी दर्ता भइसकेको कारण कानुनी कारबाही सम्बन्धमा भने सहजीकरण गर्ने पनि समझदारी भएको छ। गएको आइतबार राती लेखा प्रमुख रायमाझीले मदिरा सेवा गरेको अवस्थामा छिमेकी आवासमा रहेने डा.कार्कीलाई गालीगलौज, धम्की र हातपातको प्रयास भएको बताइएको थियो। डा.कार्कीलाई एस टाइपमा स्थानान्तरण गरेर हाल उनी बस्दै आएको आवास पनि आफ्नो लागि प्रयोग गर्ने प्रयासमा रायमाझी लागेका थिए। सोही क्रममा एस टाइपमा कोठा खाली भएपछि सार्ने रायमाझीले डा.कार्कीलाई सार्ने प्रयास गरेका थिए। तर, डा.कार्कीले आफु तत्काल कोठा नसर्ने जफाव दिएपछि आइतबार रातीको घटना भएको थियो।

घटनाबारे छानबिन समिति गठन

वीपी प्रतिष्ठानका लेखा प्रमुख रायमाझीले डि.एम.अध्ययनरत डा.विप्लव कार्कीलाई गालीगलौज, धम्की र हातपातको प्रयास भएको आरोपबारे सत्यतथ्य छानबिन गर्न एक समिति गठन गरिएको छ।  

आन्दोलनरत जुनियर रेजिडेन्टहरुसँग बिहिबार वार्ता पछि उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले एक अपिल जारी गर्दै छानबिन समिति गठन भएको जानकारी दिएका हुन्। उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने गरि समिति गठन भएको खुलाएका छन्। प्रतिष्ठानका अनुसार प्रसुती विभागका प्रमुख डा.पप्पु रिजालको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको छ। समितिको सदस्यमा नर्सिङ फ्याकल्टी रम्भा सिग्देल र कर्मचारीतर्फबाट प्रकाश श्रेष्ठ छन्।  

प्रतिष्ठानमा भविष्यमा त्यस्तो घटना दोहोरिन नदिन दोषीलाई लिखित स्पष्टीकरण माग गर्ने र निर्धारित समयमा उचित स्पष्टीकरण नआएमा प्रतिष्ठानको नियमावली वमोजिम कारबाही प्रक्रिया अघि बढाउने पनि प्रतिवद्धता उपकुलपति डा.गिरीले जनाएका छन्। अन्य तथ्यहरुको सम्बन्धमा छानबिन समितिको प्रतिवेदन अनुसार हुने पनि उनको भनाई छ।  

 

प्रकाशित: ८ श्रावण २०७८ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App