coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भारतमा थप ४० लाख मानिसको मृत्यु भएको निष्कर्ष

कोभिड–१९ महामारीले भारतमा दिइएको तथ्यांकभन्दा थप ४० लाख बढी मानिसको मृत्यु भएको एक अध्ययनले देखाएको छ। यसअघिका वर्षमा भएका मृत्युको तुलनामा अतिरिक्त मृत्युको आंकलन गर्ने गरिन्छ। 

कोभिड–१९का कारणले कति संख्यामा मृत्यु भयो भनेर यकिन गर्न कठिन भए पनि यो संख्याले महामारीको समग्र प्रभाव मापन गर्न सहयोग गर्दछ। भारतले औपचारिक रुपमा महामारीको कारण ४ लाख १४ हजारको मृत्यु भएको बताएको छ। विश्वका प्रमुख अर्थतन्त्र भएका अन्य राष्ट्रले महामारीका कारण भएका अतिरिक्त मृत्युलाई मापन गरे पनि भारतले यस प्रकारको मापन गरेको छैन।  

अमेरिकामा रहेको सेन्टर फर ग्लोबल डेभलपमेन्टले तनीवटा फरकफरक स्रोतका आधारमा २१ जुनसम्म भएका अतिरिक्त मृत्युको प्रक्षेपण गरेको हो। अनुसन्धानकर्ताले भारतको कुल जनसंख्यामध्ये आधा जनसंख्या बसोवास गर्ने ७ राज्यको मृत्यु दर्तालाई अध्ययन गरेका थिए।  

यसैगरी अनुसन्धानकर्ताले विभीन्न उमेर समूहमा भाइरसका कारण भएको विशिष्ट मृत्यु दर तथा भारतभर गरिएको एन्टिबडी परीक्षण(सेरोलोजिकल सर्भे)का आधारमा उक्त वैज्ञानिक आंकलन गरेका हुन्। यसबाहेक भारतका १ लाख ७७ हजार घरधुरीका ८ लाख ६८ हजार व्यक्ति सहभागी भएको वृहत् उपभोक्ता सर्भेक्षणका तथ्यांकलाई पनि अनुसन्धानको क्रममा अध्ययन गरिएको थियो। उपभोक्ता सर्वेक्षणमा विगत ४ महिनामा परिवारको कुनै सदस्यको मृत्यु भएको भए सो सूचना समावेश गरिने गरिन्छ।  

यी सबै अध्ययन र सूचनाको आधारमा अनुसन्धानकर्ताले भारत सरकारले औपचारिक रुपमा सार्वजनिक गरेको मृतकको संख्याभन्दा १० गुणा बढी मृत्यु भएको आंकलन गरेका छन्। अध्यययनले ३४ लाखदेखि ४७ लाखसम्म अतिरिक्त मृत्यु भएको हुनसक्ने देखाएको छ । यसअघि इमिडिमियोलोजिष्टहरूले सरकारी आँकडाभन्दा ५ देखि ७ गुणा बढी मृत्यु भएको हुनसक्ने अनुमान गरेका थिए।  

भारत सरकारका पूर्वप्रमुख आर्थिक सल्लाहकार तथा अध्ययनका लेखक अरविन्द सुव्रमन्यमका अनुसार सबै मृत्यु कोभिड–१९का कारण भएका थिएनन् र कोरोना भाइरसका कारण भएको सही मृत्युलाई आंकलन गर्न कठिन हुन्छ। महामारीको अवधिमा कति मानिसको मृत्यु भयो भन्ने विषयमा फरकफरक तथ्यांक सार्वजनिक भएकाले अनुसन्धानकर्ताले कुल मृत्यु प्रक्षेपण गर्न सेरोलोजिकल सर्वेक्षणका आधार बनाएका थिए। 

उनीहरूले भारतमा कुल संक्रमित संख्याका आधार बनाएका थिए भने कोभिडका कारण हुन सक्ने सम्भावित मृत्युका बारेमा विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले देखाएको नतिजालाई पनि समीक्षा गरेका थिए।  

यो आंकलन गर्दा विभिन्न उमेर समूहमा कोभिड–१९का कारण भएका मृत्यृ दरलाई पनि आधार बनाइएको थियो। यी सबै तथ्याँकको समीक्षाले भारतमा महामारीका बेला ४० लाख मानिसको मृत्यु भएको देखिएको अध्ययनका लेखक अरविन्द सुव्रमन्यमले बताए।  

‘हाम्रा तीन प्रक्षेपणमध्ये दुईले कोभिड–१९का कारण मात्र नभई अन्य सबै कारणले भएका मृत्युको हिसाब गरेका छन्। हाम्रो दोस्रो मापनले कोभिड–१९ले गर्दा भएका मृत्युको सही आंकलन गरेको छ तर यो हामीले गरेको तीन प्रक्षेपणमध्ये एउटा हो,’ डा. सुव्रमन्यमले भने।  

सेन्टर फर ग्लोबल डेभलपमेन्टका अनुसन्धानकर्ता जस्टिन स्यान्डरफर, हार्भड विश्वविद्यालयका अभिषेक आनन्दले गत वर्षको पहिलो लहर अपेक्षा गरेभन्दा झन बढी घातक देखिएको बताए। लामो समय र धेरै ठाँउ भएकाले मृत्यु दर मध्यम खाले देखिएको उनीहरूको तर्क छ।  

महामारीको हिसाबले भारत फरक मुलुक नभएको अध्ययनले देखाएको सुव्रमन्यमले बताए। भौगोलिक आकार र संक्रणको हिसाबले तुलना गर्न मिल्ने अन्य राष्ट्र भन्दा भारतको मृत्यु दर फरक नभएको उनको तर्क छ।  

स्रोत र प्रक्षेपण जेसुकै भए पनि अध्ययनले भारतमा भाइरका कारण भएको मृत्युको संख्या आधिकारिक तथ्यांकभन्दा धेरै बढी रहेको देखिएको छ। ‘भारत स्वतन्त्र भएयताको सबैभन्दा ठूलो मानवीय त्रासदी यही हुन सक्छ,’ अध्ययनमा भनिएको छ।बिबिसी

प्रकाशित: ६ श्रावण २०७८ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App