५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

अस्पतालमा सङ्क्रमितको चाप घट्दै

कञ्चनपुरमा अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कोरोना सङ्क्रमित बिरामीको चाप घट्दै गइरहेको छ। कोरोना सङ्क्रमितको उपचारमा सक्रिय यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा सङ्क्रमितको सङ्ख्या धेरैले घट्दै गइरहेको अस्पतालले जनाएको छ।  

अस्पतालका कोभिड–१९ सम्र्पक व्यक्ति डा गोविन्द रोकायाले हाल अस्पतालमा आठदेखि १० सङ्क्रमित उपचाररत रहेको बताए। 'वैशाखको दोस्रो लहरका सङ्क्रमितको चापले बाहिर जस्तामुनि राखेर पनि उपचार दियौँ', डा.रोकायाले भने, 'अहिले अवस्था सामान्य बन्दै गएको छ।'  

अस्पतालमा वैशाखमा १३० सङ्क्रमितसमेत अस्पतालमा उपचारका लागि आएको तथ्याङ्क छ। त्यसैगरी स्वास्थ्य कार्यालयले हाल जिल्लामा ३२२ सक्रिय सङ्क्रमित रहेका बताए। 'दोस्रो लहरमा यहाँ दुई हजार जनासम्म सक्रिय सङ्क्रमित थिए', स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, 'अहिले परीक्षण गर्दा दर घटिरहेको पाइएको छ।'

उनले कोरोनाको दोस्रो लहरमा मात्रै कञ्चनपुरमा १६८ ले ज्यान गुमाएको जानकारी दिए। भारतसित सीमानाका जोडिएको गड्डाचौकी नाका र पूर्वी गौरीफन्टा नाकामा भारतबाट स्वदेश फर्किनेको कोरोना परीक्षण जारी छ।

त्यसैगरी आगामी सोमबारसम्म निषेधाज्ञा जारी राखेको स्थानीय प्रशासनले दैनिक उपभोग्य सामग्री, तरकारी पसल, खाद्यान्न पसल र निर्माण सामग्री खरिदका लागि लकडाउन केही खुकुलो गरेको छ। बजार पूर्णरूपमा नखुले पनि सातामा चार दिन यहाँ मापदण्ड पूरा गरेर बिहानी समय पसल सञ्चालनका लागि अनुमति दिइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले सङ्क्रमणको स्थिति हेरेर लकडाउन सहज गरिने बताए। 'अब अवस्था सामान्य बन्दै जाँदा दैनिकीलाई पनि सहज गर्ने भनेका छौँ', उनले भने, 'कोरोना घटे पनि स्वास्थ्य मापदण्ड अपनाउन जरुरी छ।'

प्रकाशित: ३ असार २०७८ ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App