१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ख्वप अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

मित्रराष्ट्र चीनबाट भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताले स्वास्थ्य उपकरणहरू सहयोग पाएको छ। भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान सहरबाट प्राप्त सहयोग उपकरणहरू ख्वप अस्पताल च्याम्हासिंह भक्तपुर पुगेको छ। प्राप्त सहयोगहरुमा भेन्टिलेटर १ सेट, अक्सिजन कन्सन्ट्रेटर ३२ सेट, अक्सिजन सिलिन्डर (४० लिटर) १ सय वटा र आईसीयु बेड ५० वटा रहेको नगरपालिकाले जनाएको छ।  

तातोपानी नाकामार्फत पठाइएको उक्त सामाग्रीहरू हाल भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा राखिएको छ। उक्त सहयोग चिनियाँ युयान ५ लाख ९९ हजार ४ सय अर्थात् नेपाली रुपैयाँ १ करोड ९ लाख २१ हजार ६८ रुपैयाँ रहेको छ ।

२०७३ साउन ३० गते भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतको शान्नान शहरबीच भगिनी सम्बन्ध स्थापना भएको थियो। यस क्रममा दुई सहरबीच पटक पटक अनुभव र सहयोग आदानप्रदान हुँदै आएको छ। भक्तपुर नगरपालिकाका प्रतिनिधिहरूले एक पटक शान्नान सहरको भ्रमण गरिसकेको छ भने शान्नान सहरबाट पनि भक्तपुर नगरको भ्रमण गरिसकेको छ। भ्रमणको क्रममा दुई नगरपालिकाहरूबीच अनुभवको आदानप्रदान भएको थियो ।

भक्तपुर नगरपालिकाको भागिनी सहर शान्नान सहरबाट वर्तमान विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगको दोस्रो लहरबाट नेपालमा तीव्र गतिमा संक्रमण बढेसँगै चिन्ता व्यक्त गर्दै भक्तपुरमा यस रोगको प्रभावबारे चासो लिई शान्नान नगरपालिकाबाट पत्राचार भएको थियो। सोही क्रममा भक्तपुर नपाले भक्तपुरमा पनि संक्रमण दर तीव्र रुपमा बढिरहेको र संक्रमितहरूको उपचारमा अक्सिजनको अभाव रहेको, भेन्टिलेटर र अक्सिजन सिलिण्डर व्यवस्था गर्न सकिए कोभिड १९ रोग रोकथाम र नियन्त्रण गर्न मद्दत पुग्ने जानकारी गराएको थियो ।

एउटा असल मित्रको उदाहरण प्रस्तुत गर्दै भगिनी शहर शान्नानले तत्कालै आवश्यक स्वास्थ्य सामाग्री सहयोग गर्न तत्पर रहेको भक्तपुर नपालाई पचात्रार गरेको थियो। चीनको शान्नान सहरबाट भक्तपुर नपालाई प्राप्त उक्त सहयोगबारे प्रतिक्रिया दिदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा संकट परेको बेला छिमेकी मित्र देशकोतर्फबाट भएको सहयोगको लागि सान्नान नपाका मेयर, विदेश विभागका कर्मचारीहरूमा नगरबासी र नगरपालिकाकोतर्फबाट धन्यवाद ज्ञापन गरे । उनले दुई नगरबीचको सहयोग आदानप्रदानले आपसमा मित्रता र सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

भक्तपुर नपाले हाल ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा कोभिड—१९ का बिरामीको लागि ख्वप अस्पतालअन्तर्गत २५ शैय्याको एचडीयुसहित ७५ शैय्याको कोभिड युनिट सञ्चालन गर्दै आइरहेको छ । जनतासँग सहयोग संकलनबाट उठेको रकमबाट ख्वप अस्पतालमा स्थापना गर्ने अक्सिजन प्लान्टको आवश्यक सामाग्रीहरू चीनको छेन्दुबाट ल्याइसकेको छ ।  

अक्सिजन प्लान्टबाट परीक्षणको रुपमा अक्सिजन उत्पादन भइरहेको छ। अबको केही दिनबाटै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुने जनाइएको छ। साथै नेपालमा कोभिड नियन्त्रण तथा रोकथामको लागि मित्र राष्ट्र चीनले केही दिन अगाडि नेपाल मजदुर किसान पार्टीकोतर्फबाट पठाएको १५ हजार थान मेडिकल मास्क र ५ थान हाइड्रोजन अक्सिजन जेनेरेटर ख्वप अस्पताललाई प्राप्त भएको थियो । चीन सरकारबाट प्राप्त उक्त स्वास्थ्य उपकरणहरूबाट ख्वप अस्पतालका कोभिड बिरामीका साथै अन्य बिरामीहरूको उपचारमा समेत टेवा पुग्ने विश्वास गरिएको छ। 

प्रकाशित: ३० जेष्ठ २०७८ ०७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App