१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

संक्रमितको चाप घटेपछि रित्तिन थाले बाँकेका अस्पताल र आइसोलेसन

संक्रमितको चाप घटेपछि खाली भएका भेरी अस्पतालका बेड। तस्बिर: नागरिक

कोरोना संक्रमितको चाप क्रमशः घट्दै गएपछि बाँकेमा अस्पताल तथा आइसोलेसन सेन्टरका बेड रित्तिदै गएका छन्। उपचारका लागि भर्ना हुन आउने संक्रमित बिरामीको चाप कम भएपछि दिनहुँ बेड खाली हुन थालेका हुन्। दोस्रो लहरमा कोरोना भाईरसको महामारी फैलिएपछि यहाँका अस्पताल र स्थानीय तह (गाउँपालिका र नगरपालिका)ले कोभिड आइसोलेसन वार्ड सञ्चालन गरेका थिए। 

सुरुको करिव एक महिनासम्म संक्रमितको चाप ह्वात्तै बढेपछि कोभिड बेड संख्या थपिएको हो। भेरी अस्पतालसँग सबैभन्दा बढी २ सय क्षमताको कोभिड बेड अहिले पनि सञ्चालनमा छन्। यस्तै नेपालगन्ज मेडिकल कलेजसँग १ सय ३०, वेष्टर्न अस्पतालमा १६, युनाइटेड अस्पतालसँग १५ र गाउँपालिका तथा नगरपालिकाले तयार गरेका आइसोलेसन सेन्टरमा ४ सय ८५ कोभिड बेड उपलब्ध छन्। तर, पछिल्लो समयमा कोरोना संक्रमितको चाप ह्वात्तै घटेपछि कोभिड अस्पताल र आइसोलेसन सेन्टरका बेड खाली हुदै गएको ‘जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र’ बाँकेका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए। ‘अस्पताल र आइसोलेसन सेन्टरमा कोरोना संक्रमितको चाप धेरै ने घटिसकेको छ, कोभिड बेड खाली भइरहेका छन्,’ उनले नागरिकसँग भने।  

केन्द्रको तथ्यांक अनुसार अहिले भेरी अस्पतालमा ९१ जना मात्र बिरामी भर्ना छन्। नेपालगन्ज मेडिकल कलेजमा ५२, वेष्र्टन अस्पतालमा २, होटल ह्वाईट हाउस आइसोलेसन सेन्टरमा ८, नारी विकास केन्द्र आइसोलेसन सेन्टरमा ३, खजुरा गाउँपालिकामा ३, नरैनापुरमा ८ र राप्तीसोनारीमा १ जना संक्रमित रहेका छन्। केन्द्रले मंगलबार बेलुकीसम्म कुल १ सय ६८ जना मात्र संक्रमित अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेको जनाएको छ। पछिल्लो समयमा ३ सय ११ जना संक्रमित होमआइसोलेनमा बसिरहेका छन्।  

दिनहुँ घट्दै कोरोना संक्रमण दर

बाँकेमा कोरोना संक्रमित हुने दर क्रमिक रुपले घटेको कुरा यहाँ दैनिक रुपमा सार्बजनिक हुने तथ्यांकले देखाउँछ। यसअघि संक्रमण दर दैनिक ७० देखी ९० प्रतिशतसम्म देखिने गरेकोमा अचेल २५ देखी ३० प्रतिशतसम्म झरेको छ। जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले मंगलबार बेलुकी सार्बजनिक गरेको तथ्यांकमा पनि संक्रमण दर ओरालो लागेको पुष्टी हुन्छ। बितेको २४ घण्टाभित्र ३ सय ८१ जनाको पिसिआर परिक्षण गर्दा १ सय १५ जनामा मात्र संक्रमण देखिएको कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए।

उनका अनुसार संक्रमण दर ३० दशमलभ १८ प्रतिशत हो। भेरी अस्पतालमा ३ सय १९ जनाको पिसिआर परिक्षण गर्दा ९५ जनालाई कोरोना संक्रमण भएको हो। यस्तै बागेश्वरी ल्याबमा ६२ जनाको पिसिआर परिक्षण गर्दा २० जनामा संक्रमण पुष्टी भएको छ। यसमध्ये बाँकेका मात्र १५ पुरुष र १३ महिला गरी २८ जनामा मात्रै संक्रमण भएको फोकल पर्सन ओलीले बताए।

महामारीको दोस्रो लहर सुरु भएयता मात्रै ६ हजार ७ सय ५८ पुरुष र ५ हजार ५ सय ६९ महिला गरी जम्मा १२ हजार ३ सय २७ जनालाई कोरोना संक्रमण भएको केन्द्रको तथ्यांकमा उल्लेख छ। यसअघि गतवर्ष महामरीको पहिलो लहरमा ३ हजार १ सय ७२ पुरुष र १ हजार ७ सय ८६ महिला गरी कुल ४ हजार ९ सय ५८ जनालाई कोरोना पोजेटिभ भएको थियो।  

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि बाँकेका २ सय ४५ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका २ सय ३० जनाको मृत्यु भएको छ। केन्द्रका अनुसार मंगलबार मात्र बाँकेका १ जना र बाहिरी जिल्लाका ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ। यसअघि महामारीको पहिलो लहरमा बाँकेका ५८ र बाहिरी जिल्लाका ९२ जनाको मृत्यु भएको थियो। केन्द्रका फोकल पर्सन ओलीका अनुसार मंगलबार १९ पुरुष र ९ जना महिला गरी २८ जना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म ९ हजार ५ सय ८३ पुरुष र ७ हजार १ सय महिला गरी कुल १६ हजार ६ सय ८३ जना डिस्चार्ज भइसकेका छन्।

प्रकाशित: २६ जेष्ठ २०७८ ०५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App