१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

सबै वकिललाई कोरोनाको खोप उपलब्ध गराउन माग

महामारीका बेलामा पनि  संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएकाले कानून व्यवसायीलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको छ। कानून व्यवसायी तथा पूर्वकानूनमन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई बधाई तथा ज्ञापनपत्र दिँदै डिएलएले कानून व्यवसायीलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको हो।

डिएलएका महासचिव लक्ष्मीदेवी दाहालका नेतृत्वमा मन्त्रालयमा गएको टोलीले निषेधाज्ञा तथा लकडाउनका बेलामा पनि अदालत जानुपर्ने भएकाले कानून व्यवसायीलाई सङ्क्रमणको खतरा बढिरहेको तर्फ मन्त्री तामाङको ध्यानाकर्षण गराएको थियो।

गत फागुन २३ देखि चैत ३ गतेसम्म सञ्चालित पहिलो खोप अभियानमा करिब ७५० कानून व्यवसायीले पहिलो खोप लगाउने मौका पाए पनि दोस्रो खोप लगाउनुपर्ने म्याद सकिनै लाग्दासमेत दोस्रो खोप लगाउन नपाएको ज्ञापनपत्रमा उल्लेख छ। ज्ञापनपत्रमा भनिएको छ, 'विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार पहिलो खोप लगाएको आठदेखि १२ हप्ताभित्र दोस्रो खोप लगाइसक्नु पर्ने भएकोले पहिलो खोप लगाएको समयावधि यही २०७८ साल जेठ १५ गते समाप्त हुने हुँदा यथाशीघ्र दोस्रो खोप उपलब्ध गराउन आग्रह गर्दछौँ।'

आफ्नो पेशागत धर्मप्रति कटिबद्ध भई कार्य गर्दै आएका अवस्थालाई हृदयङ्गम गरी कुनै पनि खोप नलिएका देशभरका सम्पूर्ण कानून व्यवसायीलाई समेत पहिलो तथा दोस्रो खोप पहिलो प्राथमिकतामा राखी उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरिएको महासचिव दाहालले जानकारी दिए।

डिएलएको मागलाई मन्त्री तामाङले सकारात्मकरूपमा लिएर जतिसक्दो चाँडो त्यसको व्यवस्था गर्ने आश्वासन दिएको उनले बताए। 'हाम्रो मागप्रति मन्त्री तामाङ अत्यन्त सकारात्मक देखिनुभएको छ, उहाँ आफू पनि कानून व्यवसायी भएकाले त्यसलाई गम्भीरतापूर्वक लिएर चाँडै नै खोप पाउने अग्रसूचीमा पार्नुहुने छ भन्ने हामीलाई विश्वास लागेको छ', महासचिव दाहालले भने।

प्रकाशित: २४ जेष्ठ २०७८ ०५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App