१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य सामग्री पठाउँदै खोटाङ सेवा समाज यूके

खोटाङ सेवा समाज यूकेले खोटाङलाई उपलव्ध गराउने स्वास्थ्य सामग्रीको सूची । तस्बिरः नागरिक

कोभिड–१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि खोटाङ सेवा समाज यूकेले खोटाङलाई अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर लगायतका लाखौंका स्वास्थ्य सामग्री प्रदान गर्ने तयारी गरेको छ । कोभिड–१९ को महामारी फैलिरहेकाबेला यूकेमा खोटाङका लागि ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान सञ्चालन गरेको खोटाङ सेवा समाज यूकेले जिल्लाका १० स्थानीय तह र जिल्ला अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर, कनेक्सन पाइपका साथमा मास्क, पल्स अक्सिमिटर, थर्मल गन लगायतका स्वास्थ्य सामग्री प्रदान गर्ने तयारी गरेको हो ।  

जिल्लाका ९ स्थानीय तहलाई एक/एक थान अक्सिजन कन्सन्ट्रेटर, १०/१० वटा कनेक्सन पाइप र मास्क, हरेक वडाका लागि एक/एक वटा थर्मल गन र एक/एक थान पल्स अक्सिमिटर प्रदान गर्ने तयारी गरिएको खोटाङ सेवा समाज यूकेका अध्यक्ष डा. प्रमोद कोयी राईले जारी गरेको वक्तव्यमा उल्लेख छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई भने प्रतिवडा एक/एक वटा थर्मल गन र एक÷एक वटा पल्स अक्सिमिटर प्रदान गरिने जनाइएको छ । 

जिल्ला अस्पताललाई भने १ थान बिआइपिएपी, ५ थान हाइ फ्लो नेजल क्यानेल्ला, २० थान रिजर्भवयरसहितको अक्सिजन मास्क, २ सेट इन्ट्यूवेसन, ५० वटा सक्सन ट्यूव, ७ थान गाइडल एअरवे, ५० थान थ्रि वे अक्सिजन कार्मेला, १ थान इलेक्ट्रिक सक्सन, ५ थान पल्स अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिने खोटाङ सेवा समाज यूकेले जनाएको छ । ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान अन्तरगत जिल्लालाई २० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने तयारी भएको खोटाङ सेवा समाज यूकेका विशिष्ट संरक्षक सदस्य एवं संस्थापक रविप्रकाश राईले बताए । स्थानीय तह र जिल्ला अस्पतालको आवश्यकताको आधारमा खोटाङ सेवा समाज यूकेले स्वास्थ्य सामग्री प्रदान गर्न लागेको हो ।  

कोभिड–१९ को संक्रमण भएको अवस्थामा अक्सिजनको अभाव हुँदा कतिपय संक्रमितको अकालमा मृत्यु भएको खबर सार्वजनिक भइरहेको बेला खोटाङ सेवा समाज यूकेले ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियान थालेको थियो । यूकेमा आफ्नो गाँस काटेर संकलन भएको रकमबाट जुटाइएको स्वास्थ्य सामग्री जेठ २६ गते हस्तान्तरणको तयारी गरिएको खोटाङ सेवा समाज यूकेले जनाएको छ । आफ्नो जन्म्भूमीमा बसिरहेका नागरिकलाई संक्रमणका कारण अकालमा ज्यान गुमाउनबाट बचाउने लक्ष्यका साथ प्राणघातक रोग कोभिड विरुद्ध प्रवासमै अभियान सञ्चालन गरिएको खोटाङ सेवा समाज यूकेका महासचिव भोलाबिक्रम राईले बताए ।  

खोटाङको सामाजिक र मानवीय हितका क्षेत्रमा सहयोग गर्दै आएको खोटाङ सेवा समाज यूकेले २०७३ साल चैत्र २६ गते खोटाङलाई एकैसाथ ७ वटा एम्बूलेन्स हस्तान्तरण गरेको थियो । त्यो भन्दा अघि पनि समाजले जिल्ला अस्पताललाई एक थान अल्ट्रा साउन्ड मेसिन प्रदान गरेको थियो ।

प्रकाशित: २४ जेष्ठ २०७८ ०५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App