coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

दुईपटक मुटुको चाल बन्द भएका बिरामीको सफल उपचार

खुट्टामा घाउ भएपछि बेनी अस्पतालमा भर्ना भएका बेनी नगरपालिका–६,डम्बराका ५५ वर्षीय एक मधुमेहका बिरामीको अचानक मुटुको चाल बन्द भयो । 

विगत १० दिनदेखि अस्पतालमा उपचारार्थ दिपबहादुर खत्रीको मधुमेहकै कारण खुट्टा बिग्रेपछि शल्यक्रियापछि स्वास्थ्यमा क्रमिक सुधार भइरहेको थियो । नियमित चेकजाँचको क्रममा डा. नवराज बस्ताकोटीले बिरामीको मुटुको चाल अचानक बन्द भएको देखेपछि स्वास्थ्यकर्मीको सहयोगमा करिब ८ मिटर कार्डियोपल्मोनरी रिसससिटेसन (सीपीआर)को माध्यमबाट काम गर्न छोडेको मुटुलाई जगाउन सफल भए। 

कोरोना संक्रमतिको उपचारमा डा. बस्ताकोटी, डा. डालिम काफ्लेसहित स्वास्थ्यकर्मीको टोलीले दोस्रोपटक करिब ३० सेकेण्ड मुटुको चाल बन्द भएपछि  १६ मिनेट सीपीआर विधिबाट फेरि होस फर्काउने कार्यमा सफलता मिल्यो । बिरामीको अवस्थालाई हेर्दा बाँच्ने आस मारिसकेको अवस्थामा समेत चमत्कारी सुधार भएको डा. बस्ताकोटीले भने ।

‘दुई पटक मुटुको चाल बन्द भयो, पहिलोपटक सुधार भएपछि दोस्रोपटक झन जटिल समस्या देखिएपछि आस मारेपनि जगाउने प्रयास गरियो’, डा.बस्ताकोटीले भने । उनका अनुसार बिरामीमा चमत्कारी सुधार आएको छ । मधुमेहका बिरामीको हातखुट्टामा चोटपटक लागेमा वा घाउ भए निको हुन समस्या हुने र हेलचेक्र्याइँ गरिए काटेर फाल्नुपर्ने अवस्था आउने भएकाले बिरामीले आफ्नो शरीरको ख्याल नगर्दा समस्या झन् जटिल भएको उपचारमा संलग्न अर्का डा. काफ्लेको भनाई छ । ‘भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, अहिले श्वासप्रश्वासमा राम्रो सुधार देखिएको छ’, डा. काफ्लेले भने । मधुमेहका बिरामीको मुटुको चालमा समेत खराबी हुनु मृत्युको मुखमा पुगेजस्तै भएको डा. काफ्लेको भनाई छ ।  

अचानक बेहोस भएर ढलेका बिरामीहरूलाई तत्कालै सीपीआर विधिबाट उपचारको आवश्यकता पर्ने भएकाले सर्वसाधारणलाई समेत उक्त विधिका बारेमा जानकारी हुन आवश्यक छ । अचानक बेहोस हुने बिरामीको उपचारमा ढिलाई भए मस्तिष्कघात, मिर्गौला लगायतका शरीरका महत्वपूर्ण अंग समेत ड्यामेज हुन सक्ने भएपनि अस्पतालमा उपचारार्थ बिरामीमा उक्त समस्या नदेखिएको चिकित्सकको भनाई छ । अस्पतालमा रहेका सघन उपचार कक्ष आइसियू जनशक्तिको अभावका कारण बन्द भएको अवस्थामा तत्कालै विरामी भर्ना हुने बेडमा ल्याएर सेटअफ गरी उपचार गरिएको अस्पताल ब्यवस्थापन समितिले जनाएको छ ।  

के हो ’सीपीआर’ विधि ?

बेनी अस्पतालमा मुटुको चालमा खरावी भएर आउने बिरामीको संख्या बढिरहेको छ । प्रेसर र सुगरका बिरामीको समस्या बढ्दै गएको अवस्थामा अचानक मुटुको चाल नै बन्द भएको अवस्थाका बिरामीलाई अन्य विधिको उपचार अगाडी चिकित्सकले सीपीआर विधिलाई नै प्रयोग गर्छन् । अचानक मुटुको चाल बन्द भएपछि बेहोस भएर वा ढलेका बिरामीको लागि सबैभन्दा राम्रो उपचार भनेको नै ’सीपीआर’। अचानक बेहोस भएर ढलेकाहरूको मुटुको चाल बन्द भएको हुन्छ । सीपीआर विधि बाहेक अन्य विधिका ध्यान दिँदा बिरामीको मृत्यु भएसकेको हुनसक्ने भएकाले यसलाई मुटुको चाल बन्द हुदाँ गरिने सबैभन्दा महत्वपूर्ण र आकस्मिक उपचारका रुपमा समेत लिने गरिन्छ ।  

त्यसलाई विचार गरेर अस्पताल पुर्‍याउनु भन्दा पहिले ढलेकै ठाउँमा सुताएर बिरामीको छाती थिच्नुपर्छ । बिरामी ढलेकै ठाउँमा सुताएर छाती थिच्ने अभ्यास गरेमा शरीरमा अन्य जोखिम निम्तिने खतरा कम हुने बेनी अस्पतालका डा. बस्ताकोटीको भनाई छ । स्वास्थ्य संस्थाभित्र अचानक मुटुको चाल बन्द भएको अवस्थामा सीपीआर विधि अपनाएर बन्द मुटुलाई पहिलेकै अवस्थामा फर्काउने सम्भावना धेरै हुन्छ । 

हार्ट अट्याक (हृदयघात) भएर ढलेका बिरामीको मुटुलाई पनि यो उपचार विधिबाट पूर्ववत् अवस्थामा फर्काउन सकिने भएकाले यसका बारेमा थप जानकारी दिने डा. बास्ताकोटीको योजना छ । शरीरमा रक्तसञ्चार भएर बिरामीको ज्यान जोगिने विधि भएकाले यस बारेमा सन्देश फैलाउने सरोकारवाला निकायलाई समेत अनुरोध गरिएको छ । सहरबजारदेखि ग्रामिण क्षेत्रमा समेत अचेत भएका बिरामीलाई मुटुको चाल सुनेर तत्काल यो विधि अपनाउनुभन्दा हतार हतार स्वास्थ्य संस्थामा लैजाँदा ज्यानै जाने गरेको छ । 

प्रकाशित: २० जेष्ठ २०७८ १५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App