१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमितमा कालो ढुसी

तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ ? सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ। यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ। केही समयदेखि भारतका विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई सातादेखि नेपालमा पनि देखिएको छ। कोरोना संक्रमित या संक्रमण भइसकेका व्यक्तिमा देखिने कालो ढुसीका कारण कतिपयको आँखाको दृष्टिसमेत गुमेको चिकित्सकले औंल्याएका छन्।

के हो कालोढुसी ?

फलफूल तथा तरकारी कुहेको फोहोर र प्रदूषित वातावरणमा कालो ढुसी पाइन्छ। यो ढुसी छोएको हात सफा नगरी नाकमा छोएमा सोही माध्यमबाट शरीरका अन्य भागमा पुग्छ। चिकित्सकका अनुसार सुरुमा नाक, त्यसपछि नाकको हड्डी छेडेर आँखा या आँखाबाट बे्रन (मस्तिष्क) मा समेत कालो ढुसीको संक्रमण हुन्छ। अहिले यो कालो ढुसी भारतका महाराष्ट्र, दिल्ली तथा अन्य प्रान्तमा फैलिसकेको छ। नेपालमा पनि यो रोग देखिएको छ। कालो ढुसी मुख, नाक, फोक्सो, आँखा र मस्तिष्कमा पुगेपछि मानिसको मृत्युसमेत हुने तिलगंगा आँखा अस्पतालका अकुलोप्लास्टिक सर्जन डा. बेन लिम्बु बताउँछन्। 

कालो ढुसी मानिसको नाकमा प्रवेश गरेको ७ देखि १४ दिनभित्रमा त्यसले पूरै हानि पुर्‍याइसकेको हुन्छ। कालो ढुसी मस्तिष्कमा पुगेका व्यक्तिमध्येमा १० प्रतिशतको मृत्यु हुन्छ। कोरोना संंक्रमणका कारण प्रतिरोधात्मक क्षमता कमजोर भएका, मधुमेह तथा मिर्गौला रोगी भई कोरोना संक्रमित भएका व्यक्तिहरूमा कालो ढुसी बढी देखापरेको छ। प्रतिरक्षा क्षमता कमजोर भएका व्यक्तिहरूमा लाग्ने भएकाले कालो ढुसीलाई अवसरवादी संक्रमण पनि भनिन्छ।

कालो ढुसी छोएका हात राम्रोसँग सफा नगरी नाक, मुखमा पुर्‍याए त्यहाँबाट यसको संक्रमण शरीरका विभिन्न भागमा फैलिने डा. लिम्बु बताउँछन्। त्यसैगरी कोरोना संक्रमितले अक्सिजन लिने क्रममा अक्सिजनमा जडान भएको पानीको भाँडो बेला–बेलामा सफा नगर्दा पनि कालो ढुसी संक्रमण हुनसक्ने उनले बतााए।

वीर अस्पतालमा दुई साताअघि कोरोना संक्रमण भएर भर्ना भएका ३१ वर्षीय एक पुरुषमा कालो ढुुसी देखिएपछि एउटा आँखाको दृष्टि गुमेको छ। कोरोना उपचार क्रममा चिकित्सकले ती व्यक्तिमा कालो ढुसीको संक्रमण पत्ता लगाएका थिए। ती व्यक्तिको सोमबार नाकको शल्यक्रिया गरी नाक र आँखाको ढुसी निकालेको वीर अस्पताल नाक, कान तथा घाँटी जिभागका सर्जन त्रिदेव पन्थले बताए। उपचारका क्रममा आँखामा कमजोरी देखिएपछि ढुसी पहिचान भएको थियो। 

एउटा आँखाको गुमेको दृष्टि फर्किन्छ या फर्किंदैन अहिल्यै भन्न नसकिने डा.पन्थले बताए। ‘ढुसीले आँखामा रहेका सानोसानो रगतका नली बन्द भएमा दृष्टि नफर्किन सक्छ,’ उनले भने। वीर अस्पतालमै उपचारका लागि भर्ना भएका अर्का कोरोना संक्रमित पुरुषको मुखमा कालो ढुसी देखिएपछि औषधि दिइरहेको डा. पन्थले बताए। औषधिले काम नगरे शल्यक्रिया गरेर कालो ढुसी निकाल्ने तयारी भइरहेको छ।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा कालो ढुसी भएका तीनजनाको उपचार भइरहेको छ। तीनजनामा दाङका ४८ वर्षीय, नेपालगन्जका ४४ वर्षीय र ललिपतुरका ६५ वर्षीय पुरुष छन्। कालो ढुसी देखिएका एकजनाको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौं उपत्यकामा ६ जना र बाहिरका ६ गरी हाल १२ जनामा कालो ढुसीको संक्रमण भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। चिकित्सकका अनुसार अहिले कालो ढुसी संक्रमण नेपालको अन्य भागको तुलनामा तराईमा बढी देखिएको छ। तराईका कतिपय समुदायमा अहिले पनि सफाइको कमी भएकाले संक्रमण बढी फैलिएको हुन सक्ने चिकित्सक बताउँछन्।

चिकित्सकका अनुसार कालो ढुसी संक्रमण भए विभिन्न लक्षण देखिन्छन्। ढुसी नाकमा पुग्नेबित्तिकै पहिचान गर्न सकेमा शरीरको अन्य भागमा फैलिनबाट रोक्न सकिन्छ र त्यसले बढी असर गर्न पाउँदैन। कालो ढुसीको संक्रमण नाकमा भएमा नाक बन्द हुने, टाउको दुख्ने, नाकबाट रगत बग्नेजस्ता लक्षण देखिन्छन्। 

कालो ढुसी आँखामा पुगेमा आँखा रातो हुने, आँखाभित्रको भाग बाहिर आउने, एउटा चिजलाई दुईवटा देखिने, आँखावरिपरिको भाग सुन्निने र छालामा पाप्रा आउने लक्षण देखिन्छन्। कालो ढुसी आँखाबाट मस्तिष्कमा पुगेमा रिंगटा लाग्ने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन्। मुखमा संक्रमण भए कालो घाउ हुने, दाँतवरिपरि घाउ हुने जस्ता लक्षण देखिन्छन्।

नाकमा लक्षण देखिनेबित्तिकै उपचार गराए कालो ढुसी आँखा, मुख, मस्तिष्कलगायत भागमा फैलिन नपाउने डा. लिम्बु बताउँछन्। अहिले नेपालमा यो रोगविरुद्ध चलाइने औषधि मिर्गौलालाई असर पुर्‍याउने खालको भएको र राम्रो औषधि नआइसकेको वीर अस्पतालका डा. पन्थ बताउँछन्। उनले भने, ‘भारतमा यसको राम्रो औषधि पाइन्छ तर महँगो (दैनिक ६० हजार रुपैयाँसम्म पर्न आउँछ) भएकाले सबै बिरामीको पहुँचमा छैन।’

प्रकाशित: २० जेष्ठ २०७८ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App