६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

कर्णाली अस्पताललाई युगान्डाका नेपालीको अक्सिजन सिलिण्डर

युगान्डामा बस्ने नेपालीले कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई अक्सिजन सिलिण्डर पठाएका छन्।

उनीहरुले तीन लाख रुपैयाँ बराबरको १० वटा अक्सिजन सिलिण्डर पठाएका हुन्। कोरोना महामारीका कारण नेपालका ठूला अस्पतालमा समेत अक्सिजन अभावले संक्रमितको मृत्यु हुने गरेपछि युगान्डामा रहेका नेपालीले पनि कर्णाली अस्पताललाई अक्सिजन सिलिण्डर पठाएका हुन्।

अफ्रिकामा रहेका हिक्मतबहादुर थापाको पहलमा गैर आवासिय नेपाली संघ युगान्डाले अक्सिजन सिलिण्डर पठाएको हो। गैर आवासीय नेपाली संघ युगान्डाका अध्यक्ष सुधिर रुपालियाले पहिलो चरणमा १० वटा सिलिण्डर पठाएको बताए। उनले भने, ‘कर्णालीमा रहेका संक्रमितको अवस्थालाई मध्यनजर गर्दै अर्को चरणमा थप १० वटा सिलिण्डर पठाउने तयारी गर्दैैछौँ।’

अध्यक्ष रुपालिया युगान्डाका लागि नेपाल सरकारको मानार्थ बाणिज्य दूतसमेत हुन्। युगान्डामा रहेका नेपालीले पठाएको अक्सिजन सिलिण्डर नेपाली सेना श्री नं. २४ अड्डा बाहिनीका बाहिनीपति यामबहादुर सापकोटाले कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिान शिक्षण अस्पताल जुम्लाका अस्पतालका निर्देशक डा.राजिव शाहलाई हस्तान्तरण गरे।  

बाहिनपति सापकोटाले गैरआवासीय नेपाली संघ युगान्डाले कर्णालीका बिरामीका लागि पठाएको अक्सिजन सिलिन्डर अस्पताललाई हस्तान्तरण गरेको बताए। उनले भने, ‘विदेशमा रहेका नेपालीले आफ्नो कमाइबाट  पठाएको यो सिलिण्डरले कर्णालीका बिरामीलाई राहत मिल्नेछ। अक्सिजनको अभाव झेलिरहेको बेला विदेशमा रहेका नेपालीको उपहारस्वरुप अक्सिनन आउनु निकै राम्रो बिषय हो।’

गैरआवासीय नेपाली युगान्डाले अक्सिजन सिलिण्डर पठाउँदा कर्णालीका बिरामीलाई निकै राहत मिलेको अस्पताल निर्देशक डा. राजिव शाहले बताए। उनले अब कर्णाली अस्पतालमा २१० अक्सिजन सिलिण्डर भएको बताए। जुम्ला आइपुग्दा सम्म प्रतिसिलिण्डर ३० हजार रुपैयाँ पर्छ।

प्रकाशित: १९ जेष्ठ २०७८ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App