१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

राउटे समुदायमा देखिएन कोरोना संक्रमण

राउटे समुदायको कोरोना परीक्षण गरिदैं। तस्बिर: नगेन्द्र/नागरिक

कोरोना महामारीका कारण सिंगो मानव समुदाय आक्रान्त बनिरहेका बेला जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायमा भने यसको संक्रमण देखिएको छैन्। हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–७ मा बस्दै आएका राउटे समुदायको दुई दिनअघि कोरोना परीक्षण गरिएको थियो।  

‘महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट हालसम्म राउटे समुदाय सुरक्षित रहेको पाइयो,’ गुराँस गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक निराजन विष्टले भने, ‘१ सय ४५ राउटे समुदायका नागरिक मध्ये ११ जनाको एन्टीजेन परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको छ।’

एक साताअघि उच्च ज्वरोका कारण राउटे समुदायका युवा शिवराज शाहीको मृत्यु भएको थियो। उनको मृत्युपछि राउटे समुदायमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको थियो। ‘राउटे समुदायका युवाको उच्च ज्वरोका कारण मृत्यु भएको भएको खबर पाएपछि समुदायका ११ जनाको कोरोना परीक्षण गरेका थियौं,’ उनले भने, ‘सबैको नेगेटिभ रिपोर्ट आएकाले अहिलेसम्म बस्तीमा कोरोना प्रवेश गरेको छैन् भन्नेमा ढुक्क भयौं।’

यो समुदाय अस्पतालसम्म पुगेर औषधि उपचार गर्दैनन्। बिरामी हुँदा जंगली जडिबुटीको प्रयोग गर्छन्। पछिल्लो समय स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण यो समुदायको बस्तीमा कोही प्रवेश गरेका छैनन्। काठका भाँडावर्तन बनाएर गुजारा चलाउने राउटे समुदाय निषेधाज्ञाका कारण बस्तीबाहिर जान पाएको छैनन्। राउटे समुदायसँग काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) का संस्थापक अध्यक्ष हिरासिंह थापाले भने, ‘त्यसैले पनि यो समुदायसम्म कोरोना संक्रमण नपुगेको हुनसक्छ ।’

गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले दैनिक जंगल चहार्ने, जंगली जडिबुटीको सेवन गर्ने, बजारिया वस्तुहरु सेवन नगर्नेलगायतका कारणले पनि राउटे समुदायमा कोरोना संक्रमण नदेखिएको हुनसक्छ। मेयर पुनले भने, ‘नगरपालिका क्षेत्रभित्र रहँदासम्म हामी नियमित उनीहरुको स्वास्थ्य चेकजाँच गर्नुका साथै कोरोना परीक्षण पनि गर्नेछौं।’

खाद्यान्न वितरण

 निषेधाज्ञाका कारण परम्परागत काठका भाँडावर्तन विक्री गर्न नपाएर समस्यामा रहेका राउटे समुदायलाई सामाजिक सेवा केन्द्र (सोसेक) ले खाद्यान्न वितरण गरेको छ। राउटे समुदायका ४५ घरधूरीलाई एक–एक बोरा चामल, नुन, तेल, खुर्सानी र दाल वितरण गरिएको हो। राउटे मुखिया सूर्यनारायण शाहीले निषेधाज्ञाका कारण आफुहरुको बस्तीमा खाद्यान्न अभाव रहेको बताए।

‘पहिले–पहिले खाद्यान्न ल्याएर धेरै मानिसहरु आउँथे, कोरोनाले बस्तीमा कोही आउँदैनन्,’ उनले भने, ‘बस्तीमा खाद्यान्नको ठूलो संकट छ।’ उनले समयमै भत्ता नपाउँदा पनि आफुहरु समस्यामा रहेको बताए। ‘जंगल जान पाइन्न, काठका भाँडावर्तन बनाउन पनि पाएका छैनौं,’ उनले भने, ‘त्यसमाथि सरकारले समयमै भत्ता नदिँदा थप समस्या भइरहेको छ।’ सोसेकले दिएको खाद्यान्नले एक सातासम्म खान पुग्छ। त्यसपछि के गर्ने भन्ने पिरलो राउटे समुदायलाई छ।

प्रकाशित: १७ जेष्ठ २०७८ ०४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App