८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

वर्ल्डभिजनबाट २५ लाख बढीको कोभिड स्वास्थ्य सामग्री प्रदान

वर्ल्डभिजनद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै। तस्बिरः महेश्वर

विश्वव्यापी कोभिड भेरियन्ट महामारीको उपचार तथा रोकथामका लागि वर्ल्डभिजन इन्टरनेशनलले २५ लाख बढीको अक्सिजन सिलिण्डरसहित बिभिन्न स्वास्थ्य सामग्री बुधबार डिसिसिएमसी उदयपुरलाई सहयोग गरेको छ। महामारीबाट बँच्न र बचाउने उद्देश्यले आवश्यक स्वास्थ्य सामंग्री वर्ल्डभिजनले प्रदान गरेको जनाएको छ।  

जिल्लामा दिनहुँजस्तो संक्रमितको ग्राफ उकालो लाग्नुका साथै मृत्युदर पनि दिनदिनै बढ्न थालेपछि तत्काल उपचार अभाव हुन नदिन स्वास्थ्य सामग्री सहयोग गरेको वर्ल्डभिजनले जनाएको छ। वर्ल्डभिजनका स्थानीय साझेदार संस्थाहरु जाल्पा एकीकृत विकास समाज (जिड्स) उदयपुर र मानवअधिकार र वातावरण विकास केन्द्र (हुरेन्डेक)को समन्वयमा बुधबार जिल्ला कोभिड शंकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई सामग्री दिइएको हो।  

सुरक्षा सतर्कता र सामाजिक दूरी कायम गर्दै प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय प्रमुख खड्ग परियार र जाल्पाका अध्यक्ष पुष्पराज पोखरेलले डिसिसिएमसी अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईलाई ती सामग्री हस्तान्तरण गरे। वर्ल्डभिजनले दिएका सामग्रीहरुमा अक्सिजन भरेका ७० थान सिलिन्डर, १ थान अक्सिजन कन्सन्ट्रेटर, ७० थान अक्सिमिटर (अक्सिजन मापक यन्त्र), ७० थान थर्मल गन (ज्वरो मापक यन्त्र) रहेका छन्। त्यस्तै ७० थान पिपिइ सेट (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट), ७२ थान केएन ९५ मास्क, १२ प्याकेट सर्जिकल मास्क, १० लिटर सेनिटाईजर र १२ थान सोप लिक्विड पनि हस्तान्रण गरिएको छ।

जाल्पाका वल्र्डजिभन कार्यक्रम संयोजक अजयकुमार साहका अनुसार हस्तान्तरण गरिएका सामग्रीको मूल्य २५ लाख ११ हजार ७ सय ९२ रुपैयाँ रहेको छ। जिल्लाभरी कोभिड संक्रमितको उपचार तथा सुरक्षाका लागि आवश्यक्ता अनुसार ती सामग्री वितरण गर्न डिसिसिएमसीलाई आग्रह गरिएको छ। साहका अनुसार ४६ लिटर क्षमताका ७० थान अक्सिजन ग्यास भर्न २४ हजार ५ सय खर्च भएको छ। प्रतिगोटा २५ हजार ६ सय रुपैयाँ मूल्यका ७० सिलिण्डरको कुल मूल्य १७ लाख ९२ हजार रहेको संयोजक साहले बताए।  

२ हजार ६ सय प्रतिगोटा मूल्यका पल्स अक्सिमिटर बजार मूल्य अनुसार १ लाख ८२ हजार रुपैयाँमा खरिद गरेर दिइएको हो। त्यस्तै प्रतिगोटा ९ सय ६० रुपैयाँ ५० पैसा मूल्य पर्ने ७० थान थर्मल टेम्प्रेचर गन (ज्वरो मापक यन्त्र)को मूल्य ६७ हजार २ सय ३५ रुपैयाँ परेको छ। २ लाख ८ हजार ३ सय ४९ रुपैयाँ मूल्यका ७० थान पिपिइ सेट, २ लाख १० हजार मूल्यको १ थान अक्सिजन कन्सन्ट्रेटर र १९ हजार ५ सय २६ रुपैयाँको ७२ थान एन ९५ मास्क पनि केन्द्रलाई सहयोग गरिएको छ। त्यसैगरी १२ प्याकेट सर्जिकल मास्क, १० लिटर सेनिटाईजर, १२ थान सोप लिक्वीड पनि वर्ल्डभिजनले सहयोग गरेको साहले बताएका छन्।  

उदयपुरमा हाल ७ सय ७९ सक्रिय संक्रमित रहेका छन्।  जसमध्ये महिला ३ सय ४८  पुरुष ४ सय ३१ रहेका छन्। अघिल्लो दिनसम्म २ सय ९९ महिलासहित ६ सय ४१ जना संक्रमित रहेकोमा बुधबार मात्र ४८ महिलासाहित १ सय ३८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। जिल्लामा हालसम्म ६३ महिलासहित १ सय ५४ जना संक्रमित निको भईसकेका छन् भने १० महिलासहित २९ जनाको कोभिडले ज्यान लिईसकेको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताएका छन्।  

बुधबारसम्म त्रियुगामा १ सय ७० महिलासहित ३ सय ७७ सक्रिय संक्रमित छन् भने २३ महिलासहित ५८ निको भईसकेका छन् भने कटारीमा ४२ महिलासहित १ सय १ संक्रमित हुँदा ४ महिलासहित ८ जना निको भएका छन्। चौदण्डीगढीमा ४२ महिलासहित ८६ संक्रमित उपचाररत हुँदा १४ महिलासहित ३९ जना निको भएका छन् भने बेलकामा ३७ महिलासहित ६७ सक्रीय संक्रमित हुँदा १५ महिलासहित ३३ जना निको भएका छन्।  

गाउँपालिकातर्फ सबभन्दा बढी रौतामाईमा १८ महिलासहित ६२ संक्रमितको उपचार भईरहदा १ महिलासहित ६ जना निको भएका छन् भने लिमचुङबुङमा २६ महिलासहित ५१ को उपचार भईरहदा ४ महिलासहित ८ जना निको भएका छन्। उदयपुरगढीमा १२ महिलासहित ३४ को उपचार भईरहँदा १ पुरुष र ताप्लीमा देखिएकी एक मात्र महिला संक्रमित निको भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: १४ जेष्ठ २०७८ १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App