१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोभिसिल्डको विकल्पमा अस्ट्राजेनिका

कोरोनाविरुद्धको खोप कोभिसिल्डको विकल्पमा अस्ट्राजेनिका प्रयोग गर्न सिफारिस गरिएको छ। कोभिड–१९ विरुद्धको खोप सल्लाहकार समितिको बुधबार बसेको बैठकले कोभिसिल्डको पहिलो डोज लिइसके पनि दोस्रो लिन बाँकी समूहलाई अस्ट्राजेनिका प्रयोग गर्न सकिने निर्णय गरेको छ।

पैसा भुक्तानी गरिसकेकोअवस्थामा पनि भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले नेपाललाई कोभिसिल्ड खोप नदिने भएपछि १५ लाख ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिने अभियान अन्योलमा परेको छ। कोभ्याक्सले पनि नेपाललाई २० प्रतिशत अनुदान खोपअन्तर्गत कोभिसिल्डकै खोप दिने प्रक्रिया अघि बढाएको थियो। तर खोप अन्यत्र दिने सेरमको योजना स्थगित भएपछि नेपाललाई अप्ठेरो परेको हो। 

भारतको अदालतले देशका नागरिकलाई खोप नपुगी अन्य देशका लागि निर्यात गर्न नपाइने भनी डेढ महिनाअघि आदेश जारी गरेको थियो। लगत्तै सेरमले विज्ञप्ति नै जारी गरेर यो वर्ष (सन् २०२१) को अन्तिमसम्म देशबाहिर खोप दिन नसकिने घोषणा गरेको थियो।  

सेरमको खोप रोकिएपछि कोभ्याक्सले एक साताअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिसिल्डको खोप दिन नसकेको भनी पत्राचार गरेको थियो। पत्र पाएलगत्तै कोभिड–१९ विरुद्धको खोप सल्लाहकार समितिको बैठक बसेको थियो। कोभ्याक्सलाई बैठकको निर्णय आगामी जुन पहिलो सातासम्म पठाइसकिने जानकारी समितिले दिएको छ। सरकारले २० लाख डोज कोभिसिल्ड खोपबापतको रकम भुक्तानी गरिसकेको भए पनि सेरमले १० लाख मात्र दिएको छ। १० लाख डोज आउन बाँकी हुँदै त्यसमा रोक लागेको हो। नेपालले सेरमबाट ५० लाख डोज खोप खरिदको योजना बनाएको थियो।

सेरमले खोप नदिने भएपछि पहिलो डोज लगाएका १५ लाख नागरिकका लागि र अन्य समूहका लागि विकल्पका रूपमा नेपालले अन्य देशहरूसँग खोप खरिदको पहल गर्दै आएको छ। ‘कोभिडसिल्ड’ अस्ट्राजेनिकाकै नमुनाअन्तर्गत बनेको हुनाले कोरिया, रुस, बेलायत र अमेरिकामा उत्पादित खोपका लागि बाटो खुला गरिएको सल्लाहकार समिति संयोजक डा. श्यामराज उपे्रतीले बताए। ‘हामीले १४ लाख अस्ट्राजेनिकाकै खोप चाहिन्छ भनेका छौं, बाँकी जुन कम्पनीको भए पनि हुन्छ,’ उनले भने। कोभ्याक्सले नेपालमा १ करोड ३ लाख जनसंख्याका लागि खोप उपलब्ध गराउनुपर्ने भए पनि हालसम्म ३ लाख ४८ हजारलाई पुग्ने मात्र दिएको छ।

संक्रमणले रोकिएकालाई भेरोसिल दोस्रो डोज असारमा  

गत चैतमा चीन सरकारले अनुदानस्वरूप दिएको ८ लाख ‘भेरोसेल’ खोपमध्ये पहिलो डोज लिई दोस्रो डोज लिन नपाएकाहरूले असारसम्म कुर्नुपर्ने भएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले चीनबाट फेरि आउनसपर्ने भएकाले असारसम्म कुर्नुपर्ने स्थिति रहेको जानकारी दिएको हो। काठमाडौं उपत्यकामा जेठ पहिलो सातादेखि भेरोसेलको दोस्रो डोज खोप दिन थालिएको हो। महाशाखाका प्रमुख डा. ताराप्रसाद पोखरेलले उपत्यकाबाहिरका लागि सबै जिल्लामा खोप पठाइसकेको जानकारी दिए। ‘राजधानीका लागि चीनबाट आउने नै खोप कुर्नुपर्छ,’ उनले भने।

भेरोसेलको पहिलो डोज खोप लिएपछि कोरोना संक्रमण भएकाहरूलाई दोस्रो डोज खोप दिइएको छैन। डा. पोखरेलका अनुसार पहिलो डोज लिएर कोरोना संक्रमित भएका व्यक्तिले संक्रमण भएको एक महिनापछि मात्र दोस्रो डोज खोप लिन मिल्छ। सिकिस्त बिरामी भई निको भएका संक्रमितले त दुई महिनापछि मात्र खोप लिन मिल्ने उनको भनाइ। संक्रमित भइसकेकाहरूका हकमा तीन महिनासम्म शरीरमा बनेको कोरोनाविरुद्धको एन्टीबडीले समेत संक्रमणविरुद्ध काम गर्ने चिकित्सकको भनाइ छ।  

गर्भवती तथा प्रसूति सेवा दिनू

परिवार कल्याण महाशाखाले कोभिड–१९ का कारण अत्यावश्यक सेवाभित्र पर्ने प्रसूति, नवजात शिशुको उपचार सेवा अस्पतालहरूलाई निरन्तर दिन अनुरोध गरेको छ। यी सेवा बन्द भए जीवन–मरणको स्थिति सिर्जना हुने भएकाले कोभिड–१९ महामारीकै बीचमा यो सेवा प्रवाह गर्न महाशाखाले अनुरोध गरेको हो।

महाशाखाका प्रमुख डा. पोखरेलद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘माथि उल्लिखित सेवा आवश्यक पर्ने सेवाग्राहीले आफ्नो पहिचान खुल्ने गरी परिचय पत्र लिएर नजिकका स्वास्थ्य संस्थाबाट सेवा लिन अनुरोध गर्छांै।’ कोभिड–१९ रोकथामका मापदण्ड पालना गरेर यो सेवा लिनदिन पनि महाशाखाले अनुरोध गरेको छ। गत वर्ष कोभिड महामारीबीच सेवा अभावमा धेरै गर्भवतीको मृत्युसमेत भएकाले सेवा सञ्चालन गर्न अनुरोध गरेको हो।

प्रकाशित: १४ जेष्ठ २०७८ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App