१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रियो, बिरामीको उपचारमा समस्या

कोरोना संक्रमण दर उच्च भएर अस्पतालहरुमा संक्रमितहरुको चाप बढीरहेकै बेला धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट बिग्रिएको छ।  

प्लान्ट बिग्रिएर अक्सिजन आपूर्ति हुन नसकेपछि तीन दिनदेखि कोभिड अस्पतलामा भर्ना भएका विरामीहरुलाई सिलिण्डरमार्फत प्रतिष्ठानले अक्सिजन दिइरहेको छ भने नयाँ संक्रमित भर्ना गर्नलाई पनि अनाकानी गर्न थालेको छ। प्रतिष्ठानको अक्सिजन प्लान्टमा बिहीबारदेखि समस्या आएको हो। प्राविधिकहरुले मर्मत प्रयास गरिरहे पनि शनिबार साँझसम्म सफलता मिलेको छैन। प्लान्टबाट क्षमता अनुसार अक्सिजन आपुर्ति नहुँदा कोभिड अस्पतालमा नयाँ विरामी भर्ना लिन नमानेको भन्दै सामाजिक सञ्जालमा प्रतिष्ठानको चर्को आलोचना भइरहेको छ।

धरानका राजनीतिक दल, नागरिक समाजका अगुवाहरुले समयमा नै प्लान्ट मर्मत गर्न ध्यान नदिएको भन्दै पदाधिकारीहरुको आलोचना गरिरहेका छन्। प्रतिष्ठानकै पूर्वकर्मचारी एवं कांग्रेसका सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङले यो बेला अक्सिजन अभाव हुनु र स्वास्थ्य सेवा खस्किदै जानुले उच्च पदाधिकारीहरुको उदासिनता, लापरबाहीपन र गैरजिम्मेवारीपन देखिएको बताए। पदाधिकारीहरु संस्थाको दिगो विकास र गुणस्तरीय सेवामा भन्दा पनि आफ्नो आर्थिकस्तर वृद्धि गर्न मात्र आएको भन्ने देखिएको उनको आरोप छ।  

प्रतिष्ठानको अक्सिजन प्लान्टले प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन गर्ने गरेको थियो। एक सेट प्लान्टको जिओलाइट बिग्रिएपछि उत्पादन ह्वात्तै घटेको छ। करिब ५,६ महिनादेखि चौबिसै घण्टा प्लान्ट सञ्चालनमा आएकोले समस्या भएको हुनसक्ने प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेल बताउँछन्। 

पुर्णक्षमतामा प्लान्ट नचलेपछि कोभिड अस्पतलामा कोभिड अस्पतालमा राखिएको ब्यकअप सिलिण्डरको मनिफोल्डमार्फत अक्सिजन आपूर्ति भइरहेको उनले बताए। उनले अक्सिजन अभावकै कारण संक्रमितलाई भर्ना लिन बन्द नगरिएको पनि दाबी गरे। ‘प्लान्टमा बिहीबारदेखि समस्या देखियो, प्राविधिकहरु मर्मतमा लागिराखेको छ,' बन्न केही समय लाग्ने देखिएको छ,’सहप्रवक्ता डा.पोखरेलले भने,‘विरामी भर्ना गर्न बन्द गरेका छैनौं, पुर्ण क्षमतामा प्लान्ट नचलेसम्म सिलिण्डरको उपलब्धता अनुसार कति थेग्न सक्छ, त्यति विरामीलाई उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था चै छ।’

गत वर्ष पनि कोभिडको पहिलो लहरमा प्रतिष्ठानमा अक्सिजन अभावले धेरै संक्रमितहरुको ज्यान गएपछि चर्को आलोचना भएको थियो। चौतर्फी दबाबको कारण प्रतिष्ठानले अक्सिजन प्लान्टबाट कोभिड अस्पतालसम्म पाइपलाइन बिछ्याएर सिधै बेडसम्म अक्सिजन आपूर्तिको व्यवस्था गरेको छ। यस्तै, ब्याकअपको रुपमा अक्सिजन सिलिण्डरहरु जोडेर मनिफोल्ड सिस्टमको पनि व्यवस्थापन गरेको छ। मनिफोल्डमा पनि प्लान्टबाट जस्तै थुप्रै सिलिण्डरहरुलाई जोडेर अक्सिजनलाई पाइपमार्फत बेडसम्म पुर्‍याउने गरिन्छ। ‘प्लान्टबाट जति आउने हो, अहिले मनिफोल्डबाट सप्लाई भइरहेको छ, र प्लान्ट पनि मर्मत जारी छ,’ डा.पोखरेलले भने,‘प्लान्ट पनि पुर्णरुपमा बन्द होइन, तर अक्सिजनको खपत अत्यधिक भएकोले पहिलाजस्तो सहज पनि छैन।’

अक्सिजन उत्पादन हुने उद्योगहरुमा पनि सिलिण्डर भर्ने चाप बढेकोले पनि सहजता नभएको प्रतिष्ठानको भनाइ छ। प्रतिष्ठानमा हाल ठूलो सिलिण्डर ११५ वटा रहेको छ भने शुक्रबार मात्र धरान उपमहानगरपालिकाले थप १५ वटा सिलिण्डर दिएको छ। ‘सिलिण्डर उपलब्ध गराउनको लागि सरकार, मन्त्रालय र स्थानीय तहहरुसँग पहल गरिरहेका छौं,’ सहप्रवक्ता डा.पोखरेलले भने।

प्रकाशित: ८ जेष्ठ २०७८ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App